छापा खबर


पौडेल पक्षलाई देउवाको चेतावनी : निहुँ खोज्न थाले छाड्दिनँ

पौडेल पक्षलाई देउवाको चेतावनी : निहुँ खोज्न थाले छाड्दिनँ

नेपालखबर
पुस २६, २०७६ शनिबार १:४८,

कांग्रेस सभापति शेरबहादुर देउवाले आफू पार्टीलाई एक बनाउन तयार रहेको तर अरूले निहुँ खोज्न थाले ‘नछाड्‌ने’ बताएका छन्।

उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरलाई लक्षित गर्दै निहुँ खोज्दै गए महाधिवेशनसमेत तोकिएको समयमा नगर्ने चेतावनी दिएका छन्।

पार्टीमा चर्केको विवाद निरूपणका लागि आग्रह गर्न प्रजातान्त्रिक विचार समाजका पदाधिकारी शुक्रबार देउवाकहाँ पुगेका थिए। त्यस क्रममा पौडेलले विधानविपरीत जिल्ला सभापतिहरूको भेला बोलाएको भन्दै देउवाले असन्तुष्टि जनाएका थिए।

‘हारेको सभापति (पौडेल)ले बोलाएको भेला वैध छ ?’ उनले भने, ‘म एकोहोरो खालको मान्छे हो। यो नेचर कसैले भनेर परिवर्तन हुन्छ र?’ यो खबर आजको कान्तिपुरमा कुलचन्द्र न्यौपानेले लेखेका छन्।

सभापति देउवाले सबैलाई समेटेर लैजान खोज्दाखोज्दै काम गर्न नदिइएको गुनासोसमेत गरेका छन्। पुस ११ को केन्द्रीय कार्यसमिति बैठकले पौडेल र कृष्णप्रसाद सिटौला पक्षको बहिष्कारका बीच महाधिवेशनको कार्यतालिका, कार्यविधि, केन्द्रीय कार्यसमिति र तरुण दलको म्याद थप, विभागको संख्या थप र विधानका केही दफा निलम्बन गर्ने निर्णय गरेपछि आन्तरिक तिक्तता चुलिएको छ।

कांग्रेसको महाधिवेशन ०७७ फागुन ७–१० गते हुने गरी तालिका ल्याइएको छ। देउवाले समाजसँग विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक पार्टीसँगको एकीकरणका कारण कार्यकाल अझै लम्ब्याउन सकिने स्थिति रहेको पनि बताए। ‘तर, म त्यसो गर्दिनँ,’ उनले भने ।

देउवाले पुस ११ गते सहमतिकै आधारमा निर्णय भएको दाबी गरे।

‘धेरै विषयमा सहमति भएको थियो। बैठकमा आएर सहमति नभएका विषयमा परक मत लेखेको भए हुन्थ्यो तर बैठकमा नआएपछि मलाई दुःख लागेको छ,’ उनले समाजको टोलीसँग दुःखेसो पोखेका थिए। समाजका अध्यक्ष केदारनरसिंह केसीको नेतृत्वमा गएको टोलीले सरकारका निरंकुश कदमविरुद्ध सडक संघर्ष गर्न सुझाउँदा देउवाले ‘सडकमा गए पनि साथीहरूले विरोध गर्छन्, तपाईंहरूले पनि साथ दिने होइन, मेरो विरोध गर्ने त हो’ भन्ने जवाफ दिएका थिए।

लोकतान्त्रिक संस्था र उपलब्धिलाई कमजोर बनाउने काम भइरहेको भन्दै समाजले कांग्रेसभित्रको झगडाबाट सरकारलाई थप बल पुग्ने हुनाले पार्टीको बृहत् एकताका लागि तत्काल पहल गर्न देउवालाई आग्रह गरेको थियो।

‘निर्वाचन परिणामले प्राविधिक रूपमा प्रतिपक्षमा रहे पनि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने र संविधान कार्यान्वयन गर्ने राजनीतिक रूपमा कांग्रेसकै मूल जिम्मेवारी हो,’ देउवालाई सम्बोधन गर्दै दिइएको पत्रमा समाजले भनेको छ, ‘विडम्बना कांग्रेस आफैंभित्र अलमलिएको छ । लोकतन्त्रको रक्षाकबच भएर उभिनुपर्ने बेला कांग्रेस घरभित्रकै खिचातानीमा अल्झिएको छ।’

समाजका अध्यक्ष केसीले प्रजातान्त्रिक संघसंस्थाका पूर्वअध्यक्षहरूको छलफलबाट प्राप्त सुझावलाई समेटेर सभापति देउवाको ध्यानाकर्षण गराइएको बताए। ‘कांग्रेस माया गर्ने आम पंक्तिमा छाएको निराशा बदल्न पार्टी नेतृत्वले अविलम्ब अग्रसरता लिन सकोस् भनेर हामीले सभापतिलाई भेटेका हौं,’ उनले भने, ‘उहाँसँग हाम्रो ठाडठाडै कुराकानी भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad