छापा खबर


प्रहरीमा अबको आईजीपी को?

प्रहरीमा अबको आईजीपी को?

नेपालखबर
माघ २७, २०७६ सोमबार ०:०,

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण मंगलबार अनिवार्य अवकाश पाउँदै छन्।

तर त्यसको एक दिनअघिसम्म पनि अबको आईजीपी को हुने भन्ने निर्णय सरकारले गर्न सकेको छैन।

खनाल २०७४ फागुन २८ मा नेपाल प्रहरीको २६ औं महानिरीक्षक बनेका थिए। सामान्य अवस्था र स्वाभाविक नेतृत्व चयन प्रणालीको विकास भइसकेको अवस्थामा वरिष्ठ एआईजी आईजीपीका हकदार हुन्थे।

त्यहीअनुसार एक महिनाअघि नै बहालवाला आईजीपी बिदामा बसेर भावी नेतृत्वमा जिम्मेवारी हस्तान्तरण गर्ने चलन थियो।

आफ्नो कार्यकाल बढाउन खनाल र उनका ब्याजी लबिइङमा लागेका थिए तर त्यो सम्भव भएन। उनी बिदामा पनि बसेका छैनन्।

आजको कान्तिपुर दैनिकका अनुसार खनालसँगै १८ डीआईजी र तीन एआईजीले अवकाश पाउँदै छन्।

त्यसैले खनालपछि नेतृत्वको दाबेदारमा वरिष्ठ तीन डीआईजी छन्– प्रदेश १ का ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशका तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका सूर्यप्रसाद उपाध्याय।

उनीहरूको ३० वर्षे सेवा अवधि असार २४ मा सकिनेछ। तीनै जना वरीयताक्रममा क्रमशः १, २ र ३ नम्बरमा छन्। उनीहरू आईजीपी खनालका वैकल्पिक ब्याजी हुन्।

उनीहरूपछिको वरिष्ठतामा २०४९ सालमा सेवा प्रवेश गरेका डीआईजीहरू शैलेश थापा, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की र विश्वराज पोखरेल छन्।

थापा प्रहरी प्रवक्ता, पाल विशेष ब्युरो, शाही केन्द्रीय अनुसन्धान ब्युरो, कार्की प्रदेश २ प्रहरी प्रमुख र पोखरेल महानगरीय प्रहरी आयुक्त छन्। आईजीपी खनालका वैकल्पिकमध्येबाट नेतृत्व चयन भए ज्ञवाली १ नम्बरमा छन्।

एआईजी बन्नसमेत डीआईजीहरूको दौड सुरु भइसकेको छ। ज्ञवाली आईजीपी भएमा उनी पछि एआईजी बन्नेले आगामी आईजीपी बन्ने बाटो सहज हुनेछ।

तर ज्ञवालीसँगै सेवा प्रवेश गरेका लम्साल र उपाध्यायलाई एआईजी बनाएर २०४९ सालमा सेवा सुरु गरेकामध्येबाट एक जनालाई एआईजीमा बढुवा गरिए उनलाई आगामी आईजीपीको बाटो झनै सहज हुनेछ। एआईजीको दरबन्दी तीनवटा मात्रै छन् तर दाबेदार सात जना छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad