समाज


अवैध यौन सम्बन्धले लियो ज्यान

अवैध यौन सम्बन्धले लियो ज्यान

अन्जना पराजुली
माघ २६, २०७६ आइतबार १५:४८,

दुई छोरीकी एक आमाले अवैध यौन सम्बन्धका कारण ज्यान गुमाउनुपरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले यही माघ २४ गते विराटनगर–१२ मलङ्गवाको चक्रपथस्थित उखुबारीमा हत्या गरी बेवारिस अवस्थामा फेला पारेको थियो। महिलाको ज्यान जानुको कारण अवैध यौन सम्बन्ध रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले आज यहाँ पत्रकार सम्मेलन गरी सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियारको हत्याको आरोपमा सप्तरी जिल्ला मट्टिगढा घर भई मोरङको बूढीगङ्गा गाउँपालिका–३ पोठियामा डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई प्रकाउ गरी आज यहाँ सार्वजनिक गरेको छ।

क्वालिटी नूडल्स उद्योगमा स्टोर इन्चार्ज भई कार्यरत साहको विगत तीन वर्षदेखि परियारसँग अवैध यौन सम्बन्ध रहेको अनुसन्धानमा पत्ता लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले जानकारी दिए। मृतक परियारले आरोपित साहको डेरामा दैनिक जाने, खाना बनाइदिने, कपडा धोइदिने लगायतका घरेलु कार्य गर्ने गरेको र बेलाबेलामा घुम्न जाने गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

आरोपित साहले मृतक परियारलाई यही माघ २१ गते मोबाइल गर्दा नउठाएको, कोठामा ताल्चा लगाई सम्पर्कविहीन भएकाले खोज्ने क्रममा मोरङको बाँसबारीमा भेटी मोटरसाइलमा सँगै विराटनगर–१२ स्थित चक्रपथ हुँदै मलङ्गवाको पश्चिम उखुबारीमा आपसी विवादका क्रममा रिसको अवेगमा सलले घाँटी थिची बाँसलाई धारिलो हतियार बनाई हत्या गरेको स्वीकारेका छन्।

प्रहरीले माघ २४ गते बेवारिस अवस्थामा फेलाको परियारको मृत शरीरलाई पहिचानका लागि स्थानीय एफएम रेडियो, सामाजिक सञ्जालमा सार्वजनिक गरेको दुई घण्टाभित्र सम्पूर्ण विवरण प्राप्त भएको प्रमुख अधिकारीले जानकारी दिए।

परियारका श्रीमान् वसन्त परियार इलाममा कार्य गर्ने गरेको र श्रीमती हराएको सम्बन्धमा सोधिखोजी गर्दा साहको नामसहित जाहेरी इलाका प्रहरी कार्यालय मोरङको निमुवामा दिएकोमा अनुसन्धान कार्यमा सहज भएको प्रहरीले जनाएको छ। प्रहरीले मृतक परियारलाई घटनास्थलमा बोकेर लगेको साहले प्रयोग गर्ने मोटरसाइकल र मोबाइल दुई थान बरामद गरेको छ।

मृतक परियारका १६ र १२ वर्षीय दुई छोरी छन्। परियारको हत्यारा पत्ता लगाउन प्रहरीले प्रशिक्षित प्रहरी कुकुरसमेत प्रयोग गरेको थियो। प्रहरीले आरोपी साहलाई थप अनुसन्धानका लागि जिल्ला अदालत मोरङमा म्याद थप गरेको छ।

यसैगरी प्रहरीले मोरङको रङ्गेली–७ स्थित संसारी माईस्थान मन्दिरमा माताको शिरमा लगाउने चाँदीको मुकुट, छत्र, त्रिशूल, पित्तलको गणेश र छोटी माताको मूर्ति गरी रु ११ लाख ३५ हजार बराबरको सामान चोरी गर्ने चोरलाई पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ।


MD_Biratnagar-26b.jpg
रङ्गेली नगरपालिका–३ बस्ने भुवन पराजुलीले यही माघ २२ गते राति १०ः५४ बजे उक्त सामान चोरी गरेको सिसी क्यामरा रेकर्डमा देखिएको छ। आरोपित पराजुलीले गम्छाले मुख छोपी मन्दिरमा कोही नभएको बेला पर्खाल नाघी चोरी गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका क्रममा सिसी क्यामरा रेकर्डको आधारमा निजले प्रयोग गर्ने ज १२ प ५४६८ नं को मोटरसाइकलबाट निजलाई पक्राउ गरेको प्रहरी प्रमुख अधिकारीले बताए। निजको साथबाट चोरी भएको सम्पूर्ण सामग्री प्रहरीले बरामद गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad