खेल


पहिलो पटक विश्वकपमा पुगेको काबो भेर्देलाई युरोपियन च्याम्पियन स्पेनको चुनौती

पहिलो पटक विश्वकपमा पुगेको काबो भेर्देलाई युरोपियन च्याम्पियन स्पेनको चुनौती

नेपालखबर
असार १, २०८३ सोमबार २०:३६, काठमाडौँ

फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार राती युरोपियन च्याम्पियन स्पेन र विश्वकपमा पहिलो पटक सहभागी बनेको काबो भेर्दे आमनेसामने हुँदैछन्। समूह ‘एच’को यो खेल नेपाली समयअनुसार राती ९ः४५ बजे सुरु हुनेछ। 

प्रतियोगिताको उपाधि दाबेदार टोली मानिएको स्पेन विजयी सुरुआत गर्ने लक्ष्यमा हुनेछ भने काबो भेर्दे इतिहास रच्ने योजनामा मैदान उत्रिनेछ।

२०१० को विजेता स्पेनको पछिल्ला तीन विश्वकपमा प्रदर्शन राम्रो रहन सकेको छैन। २०१४ मा उपाधि रक्षा गर्ने अभियानमा रहेको टोली समूह चरण नै पार गर्न सकेको थिएन, भने २०१८ र २०२२ मा अन्तिम १६ बाटै बाहिरिन पुगेको थियो। 

प्रशिक्षक लुइस डे ला फुएन्टेको नेतृत्वमा रहेको स्पेन पछिल्ला वर्षहरूमा उत्कृष्ट लयमा देखिएको छ। २०२४ मार्चमा वेम्लीमा भएको मैत्रीपूर्ण खेलमा दक्षिण अमेरिकी टिम कोलोम्बियासँग १–० ले पराजित भएपछि ३१ खेलमा अपराजित छ। जसमा २६ जित र पाँच बराबरी खेलेको छ।

बल नियन्त्रणमा आधारित खेलशैली, सशक्त मिडफिल्ड र युवा प्रतिभाले भरिएको टोलीलाई यस विश्वकपको प्रमुख दाबेदारमध्ये एक मानिएको छ। टोलीले पहिलो खेलमै प्रभावशाली प्रदर्शन गर्दै समूह चरणमा दबदबा कायम गर्ने लक्ष्य राखेको छ।

स्पेनका मिडफिल्डद्वय पेड्री, रोड्री तथा आक्रमणतर्फ बार्सिलोनाका स्टार लामिन यामाल र एथ्लेटिको बिलबाओका निको विलियम्स प्रमुख हतियार रहनेछन्। तर यामल पूर्ण रूपमा फिट भइसके पनि पहिलो खेलमा मैदान उत्रिन्छन् वा विश्राम लिन्छन् भन्ने निश्चित छैन।

तुलनात्मक रुपमा कमजोर मानिएको टोलीविरुद्ध फुन्टेले उनलाई मैदानमा उतारेर जोखिम नलिन सक्छन्। मुख्य फर्वार्डको जिम्मेवारी पनि बार्सिलोनाकै फेरान टोरेस वा मिकेल ओयर्जावालले सम्हालेछन्। 

अफ्रिकी राष्ट्र काबो भेर्देको यो पहिलो विश्वकप हो। अफ्रिकी छनोट चरणमा पावरहाउस क्यामरुनलाई पछि पार्दै सिधै विश्वकपमा स्थान बनाएको काबो भेर्देलाई कमजोर टोली मान्न सकिँदैन। क्यामरुन र एंगोला सहितको कठिन समूहबाट आफूलाई प्रमाणित गर्दै काबो भेर्देले विश्वकपमा स्थान बनाएको हो। टोलीले छनोटका १० मध्ये ८ खेलमा जित निकालेको थियो। 

फिफा वरियतामा स्पेन दोस्रो स्थानमा छ भने काबो भेर्दे ६७ औं स्थानमा छ। 

स्पेनजस्तो शक्तिशाली प्रतिद्वन्द्वीविरुद्ध अनुशासित र रक्षात्मक रणनीतिसहित काबो भेर्दे मैदानमा उत्रिने छ। रक्षापंत्तीलाई मजबुत पार्दै काउन्टर एट्याकमा मौका बनाउने रणनीति काबो भेर्देले अपनाउने छ। गोल गर्नेभन्दा पनि कम गोल खानेतर्फ टोलीले बढी ऊर्जा खर्च गर्नेछ। 
पूर्व विश्व च्याप्पियनसँग पूर्ण तीन अंक खोस्ने भन्दा पनि बराबरी गरेर अंक बटुल्नु नै काबो भेर्देको लागि ठूलो उपलब्धि हुनेछ। काबो भेर्देका लागि डाइलोन लिभ्रामेन्टो र रायन मेन्डेसले आक्रमणको जिम्मेवारी सम्हाल्ने सम्भावना छ।

समूह एच अन्तर्गत साउदी र उरुग्वे बिहान ३ः४५ बजे भिड्ने छन्। अर्को समूह जी का बेल्जियम र इजिप्ट १२ः४५ बजे तथा सोही समूहका इरान र न्यु जिल्यान्ड बिहान ६ः४५ बजे भिड्नेछन्। 

अब यसपछिका चार समूहको पहिलो चरणकै खेल बाँकी छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad