एउटा मुद्दामा पहिल्यै दोषी ठहर भइसकेका सेफ सन्तोष साहमाथि फेरि अर्को मुद्दामा अनुसन्धान अगाडि बढेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले साहमाथि ठगीको कसुरमा अनुसन्धान अगाडि बढाएको एसपी पवनकुमार भट्टराईले बताए।
काठमाडौँको गैरीधारामा रेस्टुरेन्ट किन्दा उनले सकुन्तला अधिकारी थापालाई रकम नभएको बैंक खाताको चेक दिएको आरोप छ। सोही आरोपमा थापाले २५ लाख रुपैयाँको चेक अनादर मुद्दा दायर गरेकी थिइन्।
जुन मुद्दामा अदालतले साहलाई दोषी ठहर गर्दै २५ लाख रुपैयाँ बिगो भराउने फैसला गत वर्ष जेठमै गरेको थियो। उनलाई जिल्ला अदालत काठमाडौँले एक महिना कैद र एक लाख २५ हजार रुपैयाँ जरिबाना पनि सुनाएको थियो।
तर अदालतले दोषी ठहर गरेर कैद र जरिबाना तोक्दा पनि साह भने उपस्थित थिएनन्। उनी त्यसलाई बेवास्ता गर्दै बसेको पीडितको गुनासो छ। पीडितले अहिले पुन: ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्।
उक्त मुद्दामा जिल्ला अदालत काठमाडौँले पक्राउ अनुमति दिएपछि उनलाई गत शनिबार जनकपुरबाट पक्राउ गरिएको थियो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसरमा बुझाएको थियो।
सिरहाको कर्जन्हा नगरपालिका-११ घर भएका ४१ वर्षीय सन्तोषकुमार साहसँगै ५८ वर्षीय नारायण साह सुडीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
सुडी पनि सिरहाकै रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले जानकारी दिए।
यो पनि
सेफ सन्तोष साह पक्राउ
Shares

प्रतिक्रिया