सुर्खेतको भेरीगंगा नगरपालिका–१३ स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समितिका तीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोक बहादुर महतारा, सचिव मान कुमारी पौड्याल र कोषाध्यक्ष दल बहादुर बुढाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
साजगोठेरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरूले आव २०७८र०७९ मा रूख कटान गरी बेचबिखनबाट प्राप्त भएको रकम हिनामिना गरेको अख्तियारको ठहर छ।
वन उपभोक्ता समूहका पदाधिकारीहरूले आव २०७७/७८ र २०७८/७९ मा विभिन्न शिर्षकमा वनको रकम दुरुपयोग गरेको अनुसन्धानमा खुलेको छ।
अख्तियारले तीनैजना पदाधिकारीविरुद्ध बिगो रू ७ लाख १५ हजार ९१६ रुपैयाँ ५ पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित)को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी बिगोसमेत सोही ऐनको दफा १७ बमोजिम असूल उपर हुन मागदाबी लिई आरोपपत्र दायर गरेको हो।
Shares

प्रतिक्रिया