छापा खबर


गोलघरमा चेस र बाघचाल खेलेर दिन बिताउँछन् शोभराज र गोरे

गोलघरमा चेस र बाघचाल खेलेर दिन बिताउँछन् शोभराज र गोरे

नेपालखबर
फागुन ४, २०७६ आइतबार १:४९,

नाटकीय शैलीमा विभिन्न देश पुगेर हत्या गर्ने विश्वकुख्यात अपराधी चार्ल्स शोभराज र प्रहरीलाई नै हात लिएर विमानस्थलबाटै ३८ क्विन्टल सुन तस्करी गर्ने अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ ।

सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरमा रहेका उनीहरूको जेलभित्रै दोस्ती झाँगिएको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

शोभराज र गोरेको जेल दैनिकी चेस र बाघचाल प्रतिस्पर्धामा बित्ने गरेको छ । उनीहरू दैनिक चेस र बाघचाल प्रतिस्पर्धामा रमाउने गरेको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए ।

उनका अनुसार गोलघरमा रहेका सात कैदीबन्दीमध्ये शोभराज र गोरेको सम्बन्ध विशेष छ । दुवैजना किताब पनि साटफेर गरेर पढ्छन् ।

उनीहरू कुख्यात भएकाले जेल प्रशासनले विशेष निगरानीमा राखेको छ। भाग्न सक्ने र जेलभित्रैबाट अपराध गर्न सक्ने व्यक्तिलाई गोलघरमा राखिन्छ।

उनीहरूले गोलघरभित्रै कैदीबन्दीलाई मात्र केही घन्टा भेट्न पाउँछन् । शोभराज ०६० यता गोलघरमा छन् । एकपटक उनीसँग मोबाइललगायत विद्युतीय सामान भेटाएपछि जेल प्रशासनले थप कडाइ गरेको छ।

गुन्डा नाइके अभिषेक गिरी, बाल यौन दुराचारमा पक्राउ परेका साउदी अरेबियन नागरिक र न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न एक कैदी पनि गोलघरमै छन् ।

मुटुमा समस्या देखिएपछि शोभराजलाई गंगालाल अस्पताल भर्ना हुन केन्द्रीय कारागारस्थित अस्पतालले रेफर गरेको थियो । तर, आफ्नो सुरक्षामा विशेष फोर्स खटाउनुपर्ने माग गर्दै उनी गंगालाल जान मानेका छैनन् । तर, केन्द्रीय कारागारले विशेष फोर्स खटाउन मानेको छैन ।

‘शोभराजले आफूलाई विशेष सुरक्षा फोर्स खटाएको भनेर पत्र आएपछि मात्र गंगालाल जाने बताएका छन्,’ जेलर बाँस्कोटा भन्छन्, ‘हामी राम्रो सुरक्षा व्यवस्था गर्छौँ भन्दा उनले मानेका छैनन्।’

वेला–वेलामा उनी विभिन्न बहाना बनाएर जेल प्रशासनलाई दुःख दिने गर्छन् । प्रजातन्त्र दिवसको अवसरमा आफ्नो बाँकी कैद मिनाहा गरेर छाड्नुपर्ने उनको माग थियो ।

तर, प्रशासनले नमानेपछि उनले यस्तो विवाद गर्न खोजेको जेल प्रशासनका एक कर्मचारी बताउँछन् । तीन वर्षअघि गंगालाल अस्पतालमै उनको मुटुको भल्भ फेरिएको थियो ।

नेपालको कानुनअनुसार ६५ वर्षभन्दा बढी उमेरका कैदीले ६५ प्रतिशतसम्म कैद छुट पाउने प्रावधान छ । तर, विदेशीको हकमा यो सुविधा छैन । आफूलाई पनि सो सुविधा दिएर छाड्नुपर्ने भन्दै पटक–पटक उनले कारागारमा निवेदन दिइसकेका छन् ।

उनकी वकिल शकुन्तला थापाले समेत छुटाउने प्रयास गर्दै आएकी छिन् । ०६५ को दसैँमा शोभराजले शकुन्तलाकी छोरी निहिता विश्वाससँग जेलभित्रै विवाह गरेकी थिइन् । तर, केही वर्षयता निहिता शोभराजलाई भेट्न गएकी छैनन् । शकुन्तला भने आइरहने जेलका एक अधिकारीले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad