कांग्रेस सभापति शेरबहादुर देउवाले नियमित कार्यकाल सकिनु दुई दिनअघि शनिबार एकपक्षीय रुपमा विभाग गठन गरेपछि आन्तरिक विवाद चर्किएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असहमतिका बीच देउवाले विभाग गठन गरेका खबर आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन्।
विधान विपरित विभाग गठन गरेर महाधिवेशन प्रभावित पार्न खाजेको आरोप संस्थापन इतरका नेताहरुले लगाएका छन्।
देउवाले पाँचजनालाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेकामा समेत पौडेल पक्षको आपत्ति छ।
देउवाले पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई संगठन विभाग, रमेश रिजाललाई संघीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग संयोजकको जिम्मेवारी दिएका छन्।
त्यस्तै, आनन्दप्रसाद ढुंगानालाई वित्तिय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरासियालाई तराई मधेस समन्वय विभाग, महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभाग र शंकर भण्डारीलाई तरुण विभागको जिम्मेवारी दिएका छन्।
सीता गुरुङलाई आदिवासी जनजाति विभाग, गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभाग र प्रवक्ता विश्वप्रकाश शर्मालाई सूचना, सञ्चार तथा प्रसार विभाग र शिवप्रसाद हुमागाईंलाई श्रमिक तथा ट्रेड युनियन विभागको संयोजकको जिम्मेवारी दिएका छन्।
यीमध्ये हुमागाईं पार्टीभित्रको सिटौला समूहका हुन्। बाँकी सबै संस्थापन पक्षका हुन्। जनसम्पर्क समन्वय समिति विभागको जिम्मेवारी पाएका भट्टराई केही समयअघि मात्रै पौडेल समूह छोडेर संस्थापनतिर आएका थिए।

प्रतिक्रिया