छापा खबर


कोरोना संक्रमणको त्रास : विमानस्थलमा अब सबैको स्वास्थ्य जाँच

कोरोना संक्रमणको त्रास : विमानस्थलमा अब सबैको स्वास्थ्य जाँच

नेपालखबर
फागुन १९, २०७६ सोमबार १:५४,

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई ध्यानमा राख्दै आइतबारदेखि त्रिभुवन विमानस्थल भएर आवतजावत गर्ने सबैको स्वास्थ्य जाँच सुरु गरिएको छ।

विदेशबाट आउने पर्यटक, नेपाली तथा तेस्रो मुलुक जाने ट्रान्जिटका यात्रु सबैले स्वास्थ्य जाँचको डेस्क अनिवार्य पार गर्नुपर्ने व्यवस्था गरिएको खबर आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन्।

त्यस्तै जहाज काठमाडौं अवतरणका क्रममा अनबोर्डमा रहेका यात्रु तथा आगमन र प्रस्थान कक्षमा अंग्रेजी, चिनियाँ र नेपाली भाषामा जानकारीमूलक सूचना प्रवाह सुरु गरिएको छ।

आइतबारबाटै विमानस्थलमा यात्रुहरूको शरीरको तापक्रम जाँच्ने ‘थर्मल स्क्यानर’ बाहेक ‘लिक्विड स्यानीटाइजर एजेन्ट स्प्रे’ पनि प्रयोगमा ल्याइएको छ।

कोभिड–१९ को बढ्दो जोखिमलाई गम्भीरताका साथ लिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवर्द्धनका कार्यक्रम हाललाई स्थगन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै यात्रुलाई कडाइका साथ निगरानी गर्ने निर्णय गरेको हो।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोभिड–१९ को संक्रमण रोकथामका उपाय अपनाउन मातहतका निकायका प्रमुखहरूसँग आइतबार दिउँसो बैठक गरे।

त्यसमा विमानस्थलमा यात्रुलाई कडाइका साथ निगरानी बढाउने लगायतका नौवटा निर्णय गरिएको छ । सबै यात्रुको स्वास्थ्य जाँचको प्रबन्ध गर्न मन्त्री भट्टराईले विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीलाई निर्देशन दिए।

बैठकले आइतबारै विमानस्थलका निर्देशक देवचन्द्रलाल कर्णको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्दै विमानस्थलभित्र थप स्थान पहिचान गर्न निर्देशन दिएको थियो । कार्यदलले टर्मिनल भवनभित्र थप स्थान पहिचान गरी स्वास्थ्य जाँचलाई चाहिने थप उपकरणका लागि पहल गर्नुपर्नेछ।

बैठकलगत्तै विमानस्थलले सबै मुलुकबाट आउने यात्रुलाई जाँच अनिवार्य गरेको हो । ‘यसअघि चीनबाट मात्रै आउने यात्रुहरूको स्वास्थ्य जाँच हुन्थ्यो,’ उनले भने, ‘आइतबारदेखि सबै विदेशी एयरलाइन्सबाट आउने यात्रुहरूलाई दुइटा लाइनमा पंक्तिबद्ध गरेर जाँच थालेकाछौं।’

हाल काठमाडौंमा स्वदेशी तथा विदेशी गरी २९ वटा एयरलाइन्सले दैनिक कम्तीमा ८० देखि सयवटा हाराहारी अन्तर्राष्ट्रिय उडान गर्छन् । चीनबाट उडान गर्ने पाँचवटा एयरलाइन्सले एक महिनाअघि सातामा ४३ वटा उडान गर्थे अहिले घटाएर १३ वटा मात्रै गरिरहेका छन्।

नेपालको हिमालय एयरलाइन्सले चीनका पाँचवटा सहरमा गर्दै आएको उडान तत्कालका लागि बन्द गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad