छापा खबर


‘मास्टर की’ गायव भएपछि पेट्रोलमा मट्टीतेल मिसाउने क्रम बढ्यो

‘मास्टर की’ गायव भएपछि पेट्रोलमा मट्टीतेल मिसाउने क्रम बढ्यो

नेपालखबर
फागुन २९, २०७६ बिहिबार २:१५,

इन्डियन आयल कर्पोरेसन (आइओसी) को बरौनी रिफाइनरीबाट आयल निगमको थानकोट डिपोमा डिजेल बोकेर आएका चार ट्यांकरमा मट्टीतेल मिसावट भएको भेटिएको छ।

मट्टीतेल मिसाइएका डिजेलका थप २० ट्यांकर बाटोमै रोकेर राखिएको खबर आजको नयाँ पत्रिका दैनिकमा अजित अधिकारीले लेखेका छन्।

थानकोट डिपोमा तेल ओसार्ने करिब दुई सय ट्यांकरको ताल्चा खोल्ने साझा साँचो (मास्टर की) हराएपछि यति धेरै ट्यांकरमा मिसावटको घटना भेटिएको हो।

अहिले तेल मिसावट भएका सबै ट्यांकर हराएको एउटै साँचोले खोल्न मिल्छ । ट्यांकरचालकले साँचो दुरुपयोग गरी डिजेल लोड भएको ट्यांकरमा मट्टीतेल मिसाएर आर्थिक लाभ लिन खोजेको प्रारम्भिक अनुमान गरिएको छ।

एक व्यवसायीका अनुसार बरौनी रिफाइनरीबाट २५ फागुनमा डिजेल बोकेर आएका ट्यांकरमा मट्टीतेल मिसावट भएको भेटिएको हो।

‘थानकोट डिपोमा तेल बोकेर आएका ट्यांकरको सुरुमा गुणस्तर परीक्षण हुने गरेको छ । डिपोपरिसरमै रहेको प्रयोगशालाका सामग्री प्रयोग गरेर हेर्दा ना.५ख १३१०, ना.४ख २१७९ र ना.७ख ०८३९ नम्बरका ट्यांकरले बोकेर ल्याएको डिजेलमा मट्टीतेल मिसावट भएको भेटियो,’ स्रोतले भन्यो ।

डिजेल बोकेका तीनवटै ट्यांकर २० किलोलिटर क्षमता हुन् । त्यस्तै, २७ फागुनमा ना.७ख २४७० नम्बरको डिजेल बोकेको ट्यांकर परीक्षण गर्दा पनि मट्टीतेल मिसावट भएको भेटिएको हो । २० किलोलिटर क्षमताको यो ट्यांकर ग्रेट हिमालय ढुवानी सेवाको नाममा दर्ता छ । यो कम्पनी पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालको हो।

चार ट्यांकरमा रहेको ८० हजार लिटर डिजेलमा मट्टीतेल मिसिएको प्रारम्भिक परीक्षणमा फेला परेपछि थानकोट डिपोले थप परीक्षणका लागि सिनामंगलस्थित निगमकै केन्द्रीय प्रयोगशालामा तेल पठाएको छ।

केन्द्रीय प्रयोगशालाको रिपोर्ट आउन बाँकी छ । अहिले थानकोट डिपोमा तेल ओसार्ने ट्यांकरमा ताल्चासँगै अर्को सिल पनि लगाउने गरिएको छ।

स्रोतका अनुसार भारतमा कोटा र प्रचलित दर गरेर दुई प्रकारका मट्टीतेल उपलब्ध छन् । डिजेलभन्दा दुवै प्रकारको मट्टीतेल धेरै सस्तो पर्छ। आइओसीले कोटाको मट्टीतेल मूल्य १३.६० देखि ३८.५८ भारुसम्म निर्धारण गरेको छ । मुनाफा जोडिएको मट्टीतेलको मूल्य दिल्लीमा ५८.८१ भारु छ । तर, डिजेलको मूल्य भने दिल्लीमा ६३.०१ भारु निर्धारण गरिएको छ । कोटामा पाइने मट्टीतेलभन्दा डिजेलको मूल्य कम्तीमा दोब्बर छ।

पेट्रोलियम गुणस्तरसम्बन्धी विज्ञहरूका अनुसार डिजेलमा मट्टीतेल सजिलै मिसिन्छ । तर, मट्टीतेलको चिप्लोपना कम हुन्छ । जसकारण मट्टीतेल मिसिएको डिजेल सवारीसाधन तथा औद्योगिक मेसिनरीमा प्रयोग गर्दा इन्जिनमा चाँडो समस्या हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad