छापा खबर


यात्रु ओसारे अब टुटल-पठाओमाथि कारबाही हुने

यात्रु ओसारे अब टुटल-पठाओमाथि कारबाही हुने

नेपालखबर
फागुन २९, २०७६ बिहिबार २:२८,

मोबाइल एपमार्फत भाडामा यात्रु बोक्दै आएका राइड सेयरिङ टुटल र पठाओले अब यात्रु ओसारपसार गरे कारबाहीमा पर्ने देखिएको छ।

सरकारले पुनः तेस्रोपटक राइड सेयरिङलाई लक्षित गरेर सार्वजनिक सूचना जारी गर्दै प्रतिबन्ध लगाएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले मंगलबार सूचना जारी गर्दै टुटल र पठाओको नाम उल्लेख नगरी तिनीहरूले दिँदै आएको राइड सेयरिङ सेवामाथि रोक लगाएको खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।

सूचनामा विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारीसाधनलाई विभिन्न माध्यमबाट आफूखुसी भाडा तोकी सार्वजनिक सवारीका रूपमा प्रयोग गर्दा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १२ को उपदफा १ मा भएको कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्न पाइनेछैन भन्ने व्यवस्था विपरीत भएको जनाएको छ।

विभागले त्यसो गरेको पाइएमा सोही ऐनबमोजिम कारबाही गरिने र सो सम्बन्धमा विभाग मातहत निकाय तथा अन्य सम्बन्धित निकायबाट कडाइका साथ अनुगमन गरिने जनाएको छ।

टुटलले मोटरसाइकल तथा पठाओले मोटरसाइकल र उपत्यकामा चल्ने सामान्य ट्याक्सीलाई पनि आफूसँग आबद्ध गराएर मोबाइल एपमार्फत सञ्चालन गर्दै आएको छ।

राइड सेयरिङ टुटल र पठाओमाथि यसअघि नै दुई पटक प्रतिबन्ध लगाएर पुनः फुकुवा गरिएको थियो।

तत्कालीन यातायातमन्त्री रघुवीर महासेठको पालामा टुटल र पठाओ बन्द गर्ने प्रयास भएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द गर्न चाहेनन् । चौतर्फी विरोधपछि प्रधानमन्त्रीले नियमन गरेर व्यवस्थित रूपमा सञ्चालन गर्ने पक्ष लिएपछि टुटल र पठाओ पुनः निर्बाध रूपमा सञ्चालनमा आएको थियो।

यातायात सेवा सञ्चालन गर्न यातायात व्यवस्था विभागमा दर्ता हुनुपर्ने प्रावधान छ । टुटल र पठाओ यातायात व्यवस्था विभागमा दर्ता छैनन् भने कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएर सञ्चालन हुँदै आएका छन्।

टुटल र पठाओमा करिब ५० हजार राइडर आबद्ध छन्। टुटल र पठाओ बन्द गर्ने निर्णयसँगै सर्वसाधरणले सरकारको विरोध गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad