चितवनमा पछिल्लो समय अस्पताल जानेको संख्या निकै कम छ। सर्बसाधारणमा डाक्टरले बिरामी छुदैंनन्, अस्पतालले भर्ना लिदैनन् र गेटबाटै फकाउँछन् भन्ने हल्लाका कारण बिरामी अस्पताल नजाने गरेको पाइएको छ।
सामान्य ज्वरो, रुघाखोकी लागेमा सिधै कोरोना अस्पताल लगेर आईसोलेसनमा १४ दिन राख्ने गरेको भ्रमले समेत बिरामी अस्पताल नजाने गरेका खबर आजको राजधानी दैनिकमा चितवनबाट राधेश्याम खतिवडाले लेखेका छन्।
जिल्लाका ठुला अस्पतालह प्राय खालि छन्। कोरोनाको हल्ला नहुँदासम्म जिल्लाका अस्पतालमा विरामीको चाप हुनेगरेको थियो । लकडाउन सुरु भएपछि नयाँ विरामी अस्पताल जाने क्रम घटेको र अस्पतालमा भएका विरामी पनि डिस्चार्ज मागेर सबै घर गएका छन्।
केही अति संवेदनशिल विरामी वाहेक अहिले कुनैपनि अस्पतालमा नयाँ विरामी देखिदैनन।
जिल्लामा केन्द्रिय स्तरको भरतपुर अस्पताल, २ नीजि मेडिकल कलेज, २० नीजि अस्पताल, ३ सरकारी अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ३६ स्वास्थ्य चौकी, २५ वटा ग्रामिण शहरी स्वास्थ्य केन्द्र र ५ वटा सामुदायीक ईकाई रहेका छन्।
श्रोतसाधनको अभावले यो समयमा जोखिम मोलेर उपचारको काम गर्न नसकिने बताउदै केही निजी मेडिकलले अहिले काम गरिरहेका छैनन्।
जिल्लाका अस्पतालमा एकैपटक एक्कासी विरामी कम हुनुलाई चिकित्सकहरुले थप जोखिमको अवस्था मानेका छन्। कोरोना संक्रमणको डरले बिरामी भएकाहरु सकेसम्म अस्पताल जान चाहदैनन् । तर डरकै कारणले रोग पालेर बसिरहँदा दिर्घकालिन समस्या पर्न सक्ने भन्दै समयमा सजग हुन चिकित्सकको सुझाब छ।
भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले रोग लुकाएर घरमै वस्नु थप जोखिम हुने बताउदै कोरोनाको डर हृदयघात भन्दा चर्को जस्तो देखिएको बताए।
घरमै बसेर परामर्शमा औषधि खाएर हुने बाहेक जटिल हुन सक्ने खालका बिरामीहरुलाई अस्पताल आउन आग्रह गर्दै उनले उच्च जोखिमका रोग पालेर नबस्न र अस्पताल आउनै पर्ने बिरामीले डर नमानी आउनुपर्ने बताएका छन्।
भरतपुर अस्पतालमा गत बर्ष यो समयमा प्रतिदिन एक हजार भन्दा बढी विरामी आएको तथ्याँक भएपनि अहिले प्रतिदिन एक सयको हाराहारीमा मात्र विरामी आउने गरेको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले बताए।

प्रतिक्रिया