समाज


लकडाउनपछि पशुपतिमा शवको संख्या किन घट्यो? यस्ताे छ अनुमान

लकडाउनपछि पशुपतिमा शवको संख्या किन घट्यो? यस्ताे छ अनुमान

पूर्णप्रसाद मिश्र
चैत २४, २०७६ सोमबार २:८,

लकडाउन सुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

११ चैत अघिसम्म पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० वटासम्म शव आउने गरेका थिए। हाल दैनिक १० देखि १२ वटासम्म मात्रै शव आउने गरेको कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए।

लकडाउनका कारण अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द छन्। धेरै मानिस राजधानी छोडेर गाउँ गएका, विदेशबाट शव आउन बन्द भएको र सडक दुर्घटनासमेत घटेकाले शव कम आएको हुनसक्ने कोषले अनुमान गरेको छ।

देश विदेशबाट हुने उडान हाल बन्द छ। विदेशमा ज्यान गुमाउने नेपालीको शव आउने क्रम पनि रोकिएको छ।

यातायात सहज नभएपछि उपत्यकाको काँठ क्षेत्रबाट पनि पशुपतिमा शव आउन रोकिएको छ। यातायात सहज भएका बेला काँठ क्षेत्रका मानिसले पनि पशुपतिमा शव जलाउन ल्याउँथे।

यातायात नभएपछि मलामी आवतजावत गर्न समस्या हुने भएकाले काँठ क्षेत्रमै रहेका घाटमा शवदाह हुन थालेको हो। पशुपतिमा शव लैजाँदा ब्रह्मनालमा पशुपतिनाथलाई स्नान गरेको जलले स्नान गराउन पाइने भएकाले पनि मृतकका आफन्तले आर्यघाट लैजान्छन्।

पशुपतिमा जलाइने शवका लागि सरकारले दाउरामा सहुलियत दिने गरेको छ। यो सुविधा अन्यत्रका घाट सेवामा नभएकाले पनि पशुपतिमा शव बढी आउँथे।

अन्यत्र शवदाह गर्दा मृतकका आफन्तले नै दाउराको व्यवस्था गर्नुपर्छ। पशुपतिमा शव जलाइदिने कर्मचारी र ब्राह्मणको व्यवस्था पनि अन्यत्रभन्दा सहज छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकाल बन्दाबन्दी शुरु भएपछि उपत्यकामा दुर्घटनाबाट मर्नेको क्रम रोकिएको बताए। त्यसअघि दैनिक एक जना मानिस उपत्यकामा दुर्घटनामा परी मर्ने गरेको तथ्याङ्क महाशाखासँग छ।

बन्दाबन्दी शुरु भएसँगै पशुपतिको घाट सेवामा कार्यरत कर्मचारीले सुरक्षा सामग्री नभएकाले शवदाह नगर्ने भन्दै विरोध जनाएका थिए। यसपछि मृतकका आफन्तले नै शवदाह गरेका थिए। बन्दाबन्दीका अवसरमा बेखर्चीले शवदाह गर्न चाहेमा निःशुल्क सेवा दिने घोषणा यसअघि नै कोषले गरिसकेको छ।

पशुपतिमा दाउराबाट र विद्युतीय दुवै विधिबाट शवदाहको सेवा उपलब्ध छ। विद्युतीय शवदाहतिर पनि बन्दाबन्दी अघिभन्दा शव घटेको कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिए।

विद्युतीय शवदाह गृहमा शवदाह गर्दा कोषले चार हजार शुल्क लिने गरेको छ। भष्मेश्वर घाटमा दाउराबाहेक शवदाह गरेको १५ सय शुल्क लाग्छ। यसैगरी आर्यघाटमा एक हजार ९०० शुल्क लाग्छ। दाउरा भने आवश्यकताअनुसार लाग्ने गर्छ। दाउरा किलोको नौमा बिक्री गरिरहेको कोषका निर्देशक राजु रेग्मीले बताए।

पशुपतिमा निःशुल्क भोजन जारी
मजदूर, श्रमिक, विपन्न वर्ग एवं पशुपति क्षेत्र वरपर भक्तजनको आशमा जीवनयापन गरिरहेकालाई शुरु गरिएको निःशुल्क भोजन जारी छ।

चैत १६ गतेदेखि पशुपतिस्थित सुमार्गी भवनमा शुरु गरिएको निःशुल्क भोजनमा दैनिक ५०० लाई खाना खुवाउने गरिएको कार्यकारी निर्देशक खतिवडाले बताए।

पशुपतिनाथ सबै अनाथका नाथ भएकाले बन्दाबन्दी जारी रहेसम्म विपन्न सबैलाई भोजन गराइने कोषले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad