छापा खबर


ओलीलाई जोगाउन ईश्वर पोखरेल र सुवास नेम्वाङ सक्रिय, प्रदेश ५ का मुख्यमन्त्री पनि काठमाडौंमा

ओलीलाई जोगाउन ईश्वर पोखरेल र सुवास नेम्वाङ सक्रिय, प्रदेश ५ का मुख्यमन्त्री पनि काठमाडौंमा

नेपालखबर
बैशाख १४, २०७७ आइतबार ४:४,

पार्टीभित्रै चर्को दबाबमा परेपछि प्रधानमन्त्री ओलीले पनि प्रतिरक्षात्मक रणनीति बनाइरहेका छन्।

ओलीका लागि रणनीति बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेता सुवास नेम्वाङ जुटेका छन्। त्यस्तै, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि काठमाडौं आएर भेटघाटमा सक्रिय छन्।

मुख्यमन्त्री पोखरेलले शुक्रबार र उपप्रधानमन्त्री पोखरेल शनिबार बिहान नेता नेपालकै निवासमै पुगेर भेटेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

उनीहरूले समझदारीका लागि प्रधानमन्त्रीले दुवै अध्यादेश फिर्ता गरेकाले पार्टी नेताहरूले पनि सकारात्मक प्रतिक्रिया दिनुपर्ने बताएका थिए । तर, नेपालले पार्टीलाई बेवास्ता र नेताहरूलाई अवहेलना गर्ने ओलीको शैली नै समस्या भएको भनाइ राखेका थिए । नेता नेपाल पनि संस्थागत निर्णय गर्न स्थायी समिति बैठक बोलाउनुपर्ने पक्षमा छन्।

ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद तुरुन्त छोड्नुपर्ने असन्तुष्टहरूको माग आएको भन्दै ओलीनिकट एक नेताले भने, ‘त्यो हास्यास्पद माग हो, कोही–कोही लागिरहेकै छन्, जे भने पनि त्यस्ताको केही औषधि हुँदैन।’

ती नेताले प्रचण्ड–नेपालको रणनीतिप्रति टिप्पणी गर्दै भने, ‘प्रधानमन्त्रीले पटक–पटक म एउटै कक्षा दोहो¥याएर पढ्दिनँ, पार्टी र सरकारमा दुवैतिर दोहोर्याउँदिनँ भन्दै आउनुभएकै छ, प्रचण्डले पनि पाँच वर्ष पूर्ण कार्यकालका लागि सहमति जनाउनुभएकै हो, दुई अध्यक्ष मिलेर जाँदा नै एकता महाधिवेशन हुने हो, यति भन्दाभन्दै पनि किन त्यस्तो तयारीमा लाग्नुभएको होला? हामी पनि आश्चर्यमा छौँ।’

तर, अहिले विकास भइरहेको घटनाक्रमजस्तै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालको गठबन्धन कायम रहे प्रधानमन्त्री ओली पार्टी र संसदीय दल दुवैतिर अल्पमतमा पर्ने अवस्था छ।

बिहीबारको भैंसेपाटी बैठकपछि नौ सदस्यीय सचिवालयमा ६ नेता ओलीप्रति असन्तुष्ट छन् भन्ने प्रस्ट भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को भूमिका स्पष्ट भएको छैन । तर, उनले प्रचण्डलाई साथ दिए प्रधानमन्त्री ओलीको पक्षमा उपप्रधानमन्त्री ईश्वर पोखरेल मात्रै हुनेछन्।

स्थायी समितिका २० सदस्यले बैठक माग गरेका छन् । ६ मन्त्री र ६ सचिवालय नेतासहित ३२ नेता ओलीको विपक्षमा र १२ जना मात्र ओलीको पक्षमा हुनेछन्। चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा असन्तुष्ट समूहमा तीन सय १० केन्द्रीय सदस्य हुनेछन्।

यसरी केन्द्रीय कमिटीमा ओलीको विपक्षमा दुईतिहाइ सदस्य हुनेछन् । त्यस्तै, एक सय ७४ सदस्यीय संसदीय दलमा पूर्वमाओवादी समूहका ५३ र नेपालनिकट करिब ४५ सांसद एकातिर उभिँदा यो गठबन्धनमा झन्डै सय सांसद पुग्ने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad