छापा खबर


कोरोना मार्ने नाममा काठमाडौँमा यसरी छर्किइयो मान्छेमाथि विषादी

कोरोना मार्ने नाममा काठमाडौँमा यसरी छर्किइयो मान्छेमाथि विषादी

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ३:४२,

कोरोना भाइरस निःसंक्रमण गर्ने नाममा एक सफाइ कम्पनीले मान्छेलाई छर्किन नमिल्ने विषादी छर्केको पाइएको छ।

काठमाडौं स्युचाटारस्थित अनमोल फ्यासिलिटी क्लिनर्सले राजधानीका विभिन्न स्थानमा रहेका चोक, सवारीसाधन, मालबाहक गाडीसहित सयौं मानिसलाई त्यस्तो विषादी घोल छर्केको खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।

कोरोना भाइरस संक्रमण फैलिएसँगै कम्पनीले तीन सातायता राजधानीका कलंकी, बालाजु, कालीमाटी, न्युरोड, बल्खु, त्रिुपरेश्वर, माइतीघरलगायत स्थानमा नियमितजसो यस्तो विषादी छर्केको थियो।

कम्पनीले निःसंक्रमणसम्बन्धी जानकारी आफ्नो फेसबुक पेजमार्फत राख्दै हातमात्र धोएर कोरोना भाइरस नमर्ने भएकाले सवारीसाधन तथा सतहमा समेत निःसंक्रमण गर्न स्यानिटाइजर छर्किने अभियान चलाएको जनाएको छ।

पेजमा पोस्ट भएका तस्बिरहरू हेर्दा त्यो रसायन छर्किने काम सवारीसाधनमा मात्र सीमित गरिएको छैन। चोकमा पुगेका मानिस तथा राजधानीबाट घर हिँडेका यात्रुलाई समेत छर्किरहेको भिडियो र तस्बिर छन्।

लामो समयदेखि विभिन्न सफाइ सेवा उपलब्ध गराउँदै आएको सो कम्पनीले कोभिड–१९ संक्रमण त्रासका बेला सामाजिक उत्तरदायित्व स्वरूप मानिसको बढी आवातजावात हुने स्थान र सवारीसाधनको निःसंक्रमण गर्ने अभियान चलाएको जनाएको छ।

‘हामीले सामाजिक सेवास्वरूप यो काम गरेका हौं, हामीले प्रयोग गरेको विषादी कोभिड–१९ भाइरस मार्ने रसायन हो,’ अनमोल फ्यासिलिटी सञ्चालक जितेन्द्र देउलाका भाइ राजन देउलाले भने।

सोही कम्पनीका कर्मचारी अर्जुन देउलाका अनुसार कम्पनीले भक्तपुर चाँगुनायारणस्थित एमडिएच फार्माक्युलिट्सबाट उत्पादित ‘भिकोन’ नामक रसायन प्रयोग गरेको छ। उनले मानिसमा रहेको पसिनामा हुने भाइरस हटाउने क्रममा सो विषादी छर्केको बताए।

घटनाका बारेमा जानकारी पाएपछि सोमबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि निःसंक्रमणका रसायन मानिसको शरीरमा छर्किन नहुने भएकोले यस्तो गतिविधि रोक्न अनुरोध गरेको छ।

कोरोना भाइरस मार्ने रसायन शरीरबाहिर छर्केर भित्रको भाइरस नमर्ने मन्त्रालयका अधिकारीहरूको भनाइ छ।

‘रसायन छर्केर मानिसभित्रको कोरोना भाइरस मर्दैन, बरु माक्सको प्रयोग, एक मानिसदेखि अर्को मानिसबीच एक मिटर टाढा बसेमा र लकडाउनको पूर्ण पालना गरेमा कोरोना भाइरस सर्दैन,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भने।

सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाले कोभिड–१९ नियन्त्रण गर्न यस्तो निःसंक्रमण रसायन मानिसमा छर्किने निर्देशन नरहेको र मानिसको शरीरभित्रको भाइरस नमर्ने बताए।

विश्व स्वास्थ्य संगठन नेपालका डाक्टर राजन विक्रम रायमाझीका अनुसार कुनै पनि निःसंक्रमणका रसायनहरू छर्केर मानिसको आँखा, नाक तथा कानमा परेमा विभिन्न रोग लाग्नसक्छ। तत्कालै रूपमा आँखामा परेमा आँखामा समस्या आउने र नाक तथा मुखमा परेमा श्वास–प्रश्वासका अन्य रोग समेत लाग्न सक्न सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad