रोल्पाको सुनछहरी गाउँपालिका-२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ। बस्तीमा घर छन्। तर, मानिस छैनन्।
‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ।’
२२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ। याे खबर अाजकाे अन्नपूर्ण पाेस्टमा खेमबहादुर बुढाले लेखेका छन्।
बस्तीमुनि चालवाङ खोला सुसाइरहेको छ। गाउँलेका अनुसार ठाडो खोलामा आउने भेलले बर्सेनि बस्तीको तल्लो भूभाग कटान गर्दै आएको छ। २०४५ सालयता बस्तीको पुछारमा पहिरो जान थालेको सुनछहरी गाउँपालिका-२ का वडाध्यक्ष टेमन घर्तीमगर बताउँछन्।
पहिरोपीडित थमन बुढाका अनुसार पटकपटक वर्षातमा गरी चालवाङका १० वटा घर पुरिएका छन्। बर्खामा बस्ती छाड्नाले मानवीय क्षति भएको छैन।
गाउँमा पहिरो जान थाल्दा देशमा पञ्चायती व्यवस्था थियो। बहुदल आयो। गणतन्त्रसमेत आयो। तर, चालवाङवासीको दुःख हटेको छैन। बस्ती पहिरोको जोखिममा परेपछि गाउँले घरबारी माया मारेर गोठतिर बसाइँ सर्छन्।
‘यस वर्ष पनि मकैबाली लगाएर गाउँले अग्ला डाँडाका गोठतिर उक्लिसकेका छन्’, स्थानीय स्वास्थ्यकर्मी दिया घर्तीमगर भन्छिन्।
पहिरो जानुअघि चालवाङमा ६२ घरपरिवार थिए। तीमध्ये ४० घरपरिवार विस्थापित भइसकेका छन्।

प्रतिक्रिया