असार महिना बिहेको मौसम। पहिले–पहिले भए यो महिना दिलमाया तुलाधरलाई केटा र केटी पक्षको कुरो मिलाउँदैमा एकछिन फुर्सद हुँदैनथ्यो तर अचेलको असार मात्र होइन, मङ्सिरमा पनि उनलाई फुर्सदै फुर्सद हुन्छ।
यो असारमा दिलमाया घरमै आरामसँग बत्ती कातेर बिताउँदै छन्।
उपत्यकाका रैथाने नेवार समुदायमा पनि पहिले–पहिले ‘लमी’कै भरमा बिहे गराउने चलन थियो। यलु जोशीले लेखेको यो खबर आजको गोरखापत्रमा छापिएको छ।
केटा वा केटीको बिहेमा ‘लमी’ले अभिभावकभन्दा ठूलो भूमिका निर्वाह गरेका हुन्थे तर अहिले शिक्षा र प्रविधिको विकाससँगै लमीको काम सबै केटाकेटी आफैँले गर्ने गरेको छ। फेसबुकबाट चिनजान हुन्छ। कलेजमा एकअर्कासँग प्रेम पर्छ।
त्यसैलै अहिले केटा वा केटी खोज्न लमी नचाहिने स्थिति हुँदै गएको छ। विगत ४० वर्षदेखि लमीको काम गर्दै आएका असन निवासी तुलाधर भन्छन्, “लमीको काम पुण्यको काम भनिन्छ तर यही कामबाट मैले मेरो घर चलाएकी थिएँ। अहिले भने विवाहका लागि हामी चाहिँदैन, जसको पनि प्रेमी, प्रेमिका छ भन्छन्। कुरो लिएर जान पनि लाज हुन्छ।”
“लमीहरूले दुवै पक्ष मिलाएर विवाह सम्पन्न गराइदिने काम गर्नुपथ्र्यो”, उनले थपे। त्यति बेलाका ‘लमी’को भूमिका केटा वा केटी जुटाइदिने मात्रै हुँदैनथ्यो। आफूले खोजिदिएको बेहुलीको बाटैमा निधन भयो भने पनि उसको काजकिरिया लमीले नै गर्नुपथ्र्याे।
त्यतिबेला नेवार समुदायमा प्रायः केटाको विवाह गराउन लमीकै बाटो अपनाउने चलन भएको बताउँदै तुलाधरले लमीले केटीको घरमा गएर विवाह छिनोफानो टुङ्ग्याउने, त्यसपछि बेहुलाका बुबा र लमी गएर बेहुली ल्याउँथ्यो। घरमा ल्याइसकेपछि मात्रै बेहुलाले बेहुलीलाई प्रत्यक्ष रूपमा हेर्न र कुराकानी गर्न पाउने चलन रहेको जानकारी दिए।
संस्कृतिविद् डा. सत्यमोहन जोशीका अनुसार विवाहका बेला लमीलाई नै केटी खोज्न र रोज्न पठाइन्थ्यो। लमीले केटालाई केटीका गुण र चरित्रबारे जानकारी गराउँछ। सोहीअनुसार केटाका आफन्तलाई बुझाउँछ । यतिकैमा केटी पक्षका मञ्जुर भए भने लमीले दुवै पक्षतिर विवाह गर्ने टुङ्गो लगाएर केटीको घरमा जान्छ।
यसरी जमानत बसेर विवाह गराउँदा त्यतिबेलाको समाजमा कुनै पनि किसिमका नराम्रो घट्ना नभएको उनले बताए।
उनले भने, “उपत्यकामा धेरै माथिल्लो तहका मानिने नेवार समुदायले पनि यसरी नै विवाह गरेको पाइन्छ। अहिले त लगभग सबै समुदायको विवाह परम्परा एउटै भएको छ। ”
जोशीले माइतबाट विवाह गरेर बेहुलाको घर ल्याउँदै गर्दा कुनै कारणले बेहुलीको मृत्यु भयो भने त्यतिबेलाको भागिदारसमेत लमी नै हुनुपर्ने परम्परा रहेको सुनाउँदै अहिले भने लोप भएको जानकारी दिए।

प्रतिक्रिया