छापा खबर


नेकपाभित्र न कम्युनिस्ट भाइचारा न हार्दिकता, यसरी चल्दै छ शक्ति संघर्ष

नेकपाभित्र न कम्युनिस्ट भाइचारा न हार्दिकता, यसरी चल्दै छ शक्ति संघर्ष

नेपालखबर
असार १२, २०७७ शुक्रबार २:५,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक शक्ति संघर्ष चुलिँदै गएका बेला स्थायी कमिटी बैठक सुरु भएको छ।

पार्टी एकीकरणको दुई वर्ष र सरकार सञ्चालनको अढाइ वर्षमा विकसित घटनाक्रमले नेताहरूबीचको शक्ति संघर्ष देखिनेगरी सतहमा आएको पुष्टि गरेको छ।

नेकपाभित्र न कम्युनिस्ट भाइचारा देखिन्छ न हार्दिकता। यो शक्ति संघर्ष आमनेसामने रहेका बेला कसले कसलाई ढालेर वर्चस्व कायम गर्ने हुन्, चौतर्फी जिज्ञासा बनेको छ।

बुधबार सुरु भई शुक्रबारसम्मका लागि तय भएको नेकपा सचिवालयको बैठक ओलीका निम्ति सहज नहुने देखिएको खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

यति बेला नेकपाभित्र सबैभन्दा प्रस्ट संघर्ष प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच देखिएको छ। दूधको झिंगाजस्तै गरी पार्टी वरिष्ठ नेता माधवकुमार नेपाललाई निकालेर ओली–दाहालले केही समय मिलिजुली सरकार र पार्टी चलाएका पनि हुन्।

तर ओलीको सर्वेसर्वा हुने मोहले अहिले दलभित्रको शक्ति सन्तुलन बिग्रिएको छ। यति बेला दाहालले वरिष्ठ नेता नेपाल र अन्य शीर्ष नेताको साथ लिएर ओलीलाई टक्कर दिइरहेका छन्।

ओलीको पार्टी सञ्चालन शैली, सरकार सञ्चालन प्रक्रिया र शीर्ष नेतालाई बेवास्ता गर्ने प्रवृत्तिलाई शक्ति संघर्षको कारण मानिएको छ। पार्टीभित्र माधव नेपाल समूहलाई बेवास्ता गर्दै दाहाल–ओली मिल्नु, दाहाललाई ‘साइज’मा ल्याउन उपाध्यक्ष वामदेव गौतमलगायत नेतालाई उपयोग गरिनुजस्ता कारणले पार्टीभित्र आन्तरिक कलह विस्फोटको अवस्थामा पुगेको छ।

ओलीको कार्यशैलीबाट पार्टीका शीर्ष नेताहरू दाहाल, नेपाल, झलनाथ खनाल, गौतम, नारायणकाजी श्रेष्ठसमेत असन्तुष्ट छन्। उनीहरूले बारम्बार ओलीलाई कार्यशैली सच्याउन आग्रह गरे पनि समन्वयकारी भूमिका नदेखिएको नेताहरूको गुनासो छ।

६ महिनापछि बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा पार्टीका पहिलो अध्यक्षका तर्फबाट ओलीले मन्तव्य राख्दै गर्दा अन्य नेता प्रतिवाद गर्ने तहसम्म पुग्नुलाई अर्थपूर्ण मानिएको छ। यसअघि ओलीका अगाडि धेरैले बोल्न पनि सक्दैनन् भनिन्थ्यो।

पार्टीभित्रैबाट आफूलाई असहयोग हुँदा बाहिरका शक्ति पनि चल्मलाएको ओली अभिव्यक्तिले नेकपाभित्र शक्ति सन्तुलन धर्मराएको स्पष्ट हुन्छ।

एकीकरणकै बेला नेपाल पक्षलाई पेल्न ओलीले दाहालसँग समन्वय गर्नु र नेपाललाई थाहै नदिई प्रधानमन्त्रीको कार्यकाल आधा–आधा बाँड्ने, प्रधानमन्त्री पूरा समय चलाउन दिएबापत कार्यकारी अधिकार दाहाललाई दिएर मिलाउने र ती निर्णय कार्यान्वयन नहुने अवस्था आएपछि दाहालले पार्टी एकीकरण गलत थियो कि भन्ने निष्कर्षमा पुग्नुले पार्टीभित्र ओली एकलौटी हाबी हुन खोजेको देखिन्छ।

यसले गर्दा अहिले वरिष्ठ नेता नेपालले पार्टीभित्र सबै नेताको भूमिका समान हुनुपर्ने धारणा राख्न थालेबाट स्थायी कमिटीको बैठक ओलीका लागि सहज हुने अवस्था नदेखिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad