भारतमा वर्षासँगै परेको चट्याङले लागेर बिहीबार एकैदिन १ सय ७ जनाको मृ्त्यु भएको छ। क्षतिको विवरण संकलन भइरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको त्यहाँका अधिकारीको भनाइ उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
याे पनि: भारतमा चट्याङले लागेर एकैदिन १०७ जनाको मृत्यु, मृतकको संख्या अझै बढ्न सक्ने
उसो त नेपालमै पनि चट्याङले बिहीबार सप्तरीमा एकैदिन चार जनाको ज्यान गएको छ। यसअघि पनि ठाउँ ठाउँमा दुई/चार जनाको मृत्यु भइ नै रहेको छ।
यसै सन्दर्भमा जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलसँग नेपालमा चट्याङको जोखिम कति छ र यसबाट बच्न कस्तो उपाय अपनाउनुपर्छ भन्ने विषयमा शुक्रबार बिहान नेपालखबरले संक्षिप्त कुराकानी गरेको छ।
माैसमिवद् शान्ति कँडेल, माैसम पूर्वानुमान महाशाखा
नेपालमा पनि चट्याङको जोखिम छ। हिजो (बिहीबार) मात्र सप्तरीमा चट्याङले लागेर चार जनाको मृत्यु भएको खबर आएको छ। भारतमा चट्याङले जुन ठूलो संख्यामा मानिसको मृत्यु भएको छ। त्यतिकै संख्यामा नेपालमा चट्याङले मानिसको मृत्यु त नहोला तर जोखिम छ। भारतमा चट्याङले त्यति धेरै मानिसको मृत्यु हुनाको कारण त्यहाँ जनसंख्या तथा क्षेत्र नै ठूलो छ, अन्य कारण पनि होलान्।
तर भारतमा हुने जोखिम नेपालमा पनि हुन्छ। खासगरी भारतसँग सीमा जोडिएका दक्षिणी जिल्लामा चट्याङको बढी जोखिम हुन सक्छ। किनकि भारतमा बनिरहेको चट्याङ पार्ने बादलको प्रभाव नेपालमा पनि पर्छ। साथै नेपालका अन्य स्थानमा पनि यो वर्षाको मौसममा मेघगर्जन/चट्याङको जोखिम रहन्छ नै।
मनसुनमा पनि चट्याङको जोखिम हुन्छ?
प्रिमनसुनमा जस्तो पानी पर्दैपिच्छे चट्याङ पर्ने त होइन। प्रिमनसुनका बेलामा चाहिँ वर्षा हुँदैपिच्छे हावाहुरी र चट्याङको पनि सम्भावना हुन्छ। तर मनसुन त्यस्तै चाहिँ हुँदैन। तर पनि चट्याङ नै पर्दैन भन्ने हुन्न। जस्तो : केही दिन पानी परेन र पुनः वर्षा हुँदा मेघगर्जन हुने र चट्याङ पर्ने हुन सक्छ। अहिले मनसुनका बेला वर्षाका कारण अन्य विपत्तिका जोखिम त छँदै छ, साथै चट्याङबाट बच्ने उपायमा पनि हामीले ध्यान दिनैपर्ने हुन्छ।
उसोभए चट्याङबाट बच्न के कुरामा ध्यान दिनुपर्छ त?
–सबैभन्दा उत्तम र सुरक्षित उपाय भनेको घरभित्र बस्नु हो, वर्षा भएका बेला सबै झ्याल/ढोका बन्द गरेर घरभित्रै बस्ने।
–अग्लो स्थानमा नजाने, किनभने चट्याङ माथि आकाशबाट तल झर्ने भएकाले अग्लो स्थानमा बस्दा त्यसले चाँडो भेट्ने सम्भावना हुन्छ। त्यसैले रूख, बिजुली खम्बाजस्ता अग्ला चिजको मुनि पनि नबस्ने।
–चट्याङ एउटा विद्युतीय प्रवाहजस्तै वस्तु भएकाले विद्युत् प्रवाह हुने कुरा नखेलाउने। जस्तै : पानी । हिजो सप्तरीमा एक जना नदीमा नुहाउन गएका बेला मृत्यु भएको खबर आएको छ। यसो भनेर बाल्टिनको पानी पनि चलाउनु हुँदैन भन्न खोजिएको होइन। तर विद्युत् प्रवाह हुने किसिमको पानीमा जानु भएन। जस्तो : बाथरुममा नुहाइरहनुभएको छ भने पानीको धाराबाट विद्युत् प्रवाह हुन सक्छ र त्यसले चट्याङ आकर्षित गर्न सक्छ।
–यस्तै विद्युत् प्रवाह हुने फलामजस्ता वस्तुबाट पनि बच्नुपर्छ। हामीले ओढेको छाताको टुप्पोमा फलाम हुन्छ, चट्याङ परेका बेला त्यस्ता वस्तुले पनि त्यो तान्ने जोखिम हुन्छ। यस्ता कुरामा पनि विचार पुर्याउनुपर्याे।
–घरबाहिर छौं भने खुला स्थानमा टुक्रुक्क बसेर दुवै घुँडामुनि टाउको छिराएर बस्ने गर्दा पनि सुरक्षित हुन सक्छौं।
-यस्तै हिँड्दा पनि खाली खुट्टा हाेइन, जुत्ता-चप्पल लगाउनु सुरक्षित हुन्छ। नांगो खुट्टामा विद्युत प्रवाह हुने डर हुन्छ।
-खेतमा काम गरिरहेका छौं भने गड्याङगुडुङ गर्न थाल्यो भने ‘केही हुँदैन’ भने बस्न हुँदैन। घर गइहाल्नुपर्छ।
–वास्तवमा चट्याङबाट कसरी जोगिने भन्ने सम्बन्धमा जनचेतना आवश्यक देखिन्छ।
याे पनि: घरभित्रै बस्दा पनि चट्याङबाट जाेगिन यसो गर्नुपर्छ (भिडियो सन्देशसहित)
Shares

प्रतिक्रिया