छापा खबर


काठमाडाैँमा गाडी त गुडे, तर रित्तै : व्यवसायी भन्छन्- तेल र खाना खर्च नै उठ्दैनन

काठमाडाैँमा गाडी त गुडे, तर रित्तै : व्यवसायी भन्छन्- तेल र खाना खर्च नै उठ्दैनन

नेपालखबर
साउन ८, २०७७ बिहिबार १:१४,

रत्नपार्क–लगनखेल रुटमा माइक्रो चलाउने विजय तामाङ बुधबार दिउँसो यात्रुको प्रतीक्षामा भेटिए। तीन-चार जना मात्रै बोकेर हिँड्ने गरेको चालक तामाङले सुनाए।

चार महिना लामो लकडाउन हटेको दिन तामाङजस्तै धेरै चालक सडकमा यात्रुको पर्खाइमा थिए। स्वयम्भू-सुन्धारा माइक्रो चलाउने विष्णुलाल श्रेष्ठले चार महिनापछि पहिलो पटक गाडी लिएर सडकमा निस्किएको बताए।

चार यात्रु लिएर आएका उनको गाडी फर्किने बेला खाली थियो। यात्रु भए नि धेरै हाल्न नपाइने भएकाले चिन्ता लागेको उनले सुनाए।

‘आज (बुधबार) देखि गाडी चलाउन थालेको हुँ’, उनले भने, ‘यात्रु छैनन्। एक सिट खाली गरेर राख्नुपर्छ। तेल खर्च उठाएर खाना खान पुर्‍याउन मुस्किल छ।’ यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा उपेन्द्र अर्यालले लेखेका छन्।

सरकारले सार्वजनिक यातायातका साधन चलाउन दिए पनि सीमित यात्रु मात्र बोक्न पाइने नियम लगाएको छ। एउटा सिट खाली राखेर यात्रु चढाउनुपर्छ। राजधानीका अधिकांश ठाउँमा यो नियम लागू गरेरै गाडी चलाएको देखियो। तर, सार्वजनिक सवारी भने कमै चलेका थिए।

सुन्धारामा खटिएका ट्राफिक प्रहरी बलदेव भट्टले सार्वजनिक सवारीको चाप सुरु भइनसकेको बताए। ‘सधैंजस्तो सार्वजनिक सवारीको चाप बढेको छैन’, उनले भने, ‘सधैं हामीलाई सवारी व्यवस्थापन गर्न मुस्किल पथ्र्यो तर अहिले त्यस्तो छैन।’ सवारी चालक गाउँतिरै भएकाले पनि सबै सवारी नचलेको हुन सक्ने उनले बताए।

काठमाडौं उपत्यकाभित्रका लामो दूरीका सवारीमा भने अन्य क्षेत्रको तुलनामा यात्रुको चाप देखिन्थ्यो। काठमाडौंबाट भक्तपुरतिर जाने गाडीमा भने अन्य क्षेत्रभन्दा यात्रुको संख्या बढी थियो। केही सवारीले सिट खाली नराखी पनि कुदाइरहेका थिए।

काठमाडौं–भक्तपुर रुटका चालक लक्ष्मीनारायण सुवालले यस रुटमा यात्रु बढी चढ्ने गरेको बताए। ‘अहिले यो रुटमा चैं यात्रुहरू धेरै नै छन्’, उनले भने, ‘कार्यालय समयमा त सिट खाली हुँदैन। तर, धेरै चढाउन पाइँदैन। ’

सरकारले लकडाउन हटाएसँगै बुधबार काठमाडौंका सडकमा सवारीसाधनको चाप देखियो। बानेश्वर, गौशाला, चाबहिल, कोटेश्वरलगायत मुख्य चोकमा सवारी जामसमेत हुन थालेको छ। सडकमा मान्छेको चहलपहल पनि बढेको छ। तर, निजी सवारीको तुलनामा सार्वजनिक यातायातका साधन बुधबार कम देखिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad