छापा खबर


दुबईबाट फर्केकी महिलाले जन्माएको शिशुलाई बेवारिसे भन्दै यसरी बनाइयो कार्टुनमा राखेर भाइरल

दुबईबाट फर्केकी महिलाले जन्माएको शिशुलाई बेवारिसे भन्दै यसरी बनाइयो कार्टुनमा राखेर भाइरल

नेपालखबर
साउन २१, २०७७ बुधबार ०:८,

कार्टुनमा प्याक गरेको अवस्थामा कपनको चौरमा अलपत्र फेलापरेको भनिएको शिशु आमाकै सहमतिमा बालगृहको जिम्मा लगाइएको खुलेको छ।

प्रहरी र राष्ट्रिय बाल परिषद्को अनुसन्धानबाट आप्रवासी कामदार महिला समूह (अम्कास) ले कपनस्थित केयर बालगृहलाई शिशु जिम्मा लगाएको पत्ता लागेको हो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

गत १२ साउनमा कार्टुनमा प्याक गरिएको शिशु चौरमा फेलापारेको भन्दै केयर बालगृहकै एक बोर्ड सदस्यले फेसबुकमा फोटो हालेपछि सामाजिक सञ्जालमा भइरल भएको थियो । त्यसलगत्तै शिशुका लागि देशविदेशबाट सहयोगसमेत संकलन भएको छ।

तर, अम्कासकी कार्यक्रम संयोजक जमुना गिरीले १२ साउनमा बालगृहकी सञ्चालिका पुष्पा अधिकारीलाई शिशु जिम्मा लगाएको अनुसन्धानबाट खुलेको छ । बाल परिषद्की कार्यक्रम व्यवस्थापक नमुना भुसालका अनुसार शिशु हस्तान्तरण गर्दा दुई पक्षबीच लिखित सम्झौतासमेत भएको थियो।

परिषद्का अनुसार चितवनकी ३८ वर्षीया महिलाले उक्त शिशु ६ साउनमा महाराजगन्जस्थित शिक्षण अस्पतालमा जन्माएकी हुन् । सुत्केरी बेथा लागेपछि उनी ४ साउनमा अस्पताल भर्ना भएकी थिइन् । त्यसअघि उनी अम्कासको शरणमा बसेकी थिइन् ।

वैदेशिक रोजगारका क्रममा दुबई गएकी उनी गत ८ असारमा नेपाल फर्केकी थिइन् । कोरोना संक्रमणका कारण दुबईबाट उद्धार गरी ल्याइएकी ती महिला घर जान सक्ने अवस्थामा थिइनन् । बसुन्धरास्थित होल्डिङ सेन्टरमा बसेकी उनलाई नेपाली सेनाको समन्वयमा महाराजगन्जस्थित अम्कासको सेल्टरमा राखिएको थियो । सोही क्रममा सुत्केरी बेथाले च्यापेपछि उनलाई शिक्षण अस्पताल भर्ना गरिएको थियो।

परिषद्की कार्यक्रम व्यवस्थापक भुसालले जन्मेको शिशु घर लैजान सक्ने अवस्था नभएपछि बालगृहको जिम्मा लगाइएको अनुसन्धानबाट खुलेको बताइन्। ‘वैदेशिक रोजगारका क्रममा विदेशमा रहेकी महिलालाई कोरोना महामारीपछि उद्धार गरी नेपाल ल्याइयो । तर, घर जान सक्ने अवस्था भएन । सोही क्रममा बच्चा जन्मियो । बच्चालाई जिम्मा लिने अवस्था पनि भएन । पाल्छु भनेर बालगृह आएपछि अम्कासले जिम्मा लगाएर पठाएको देखिन्छ,’ उनले भनिन्।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी नवीन कार्कीले घटनाको अनुसन्धान भइरहेकाले विस्तृत बताउन नसकिने बताए ।

शिशु जन्मिएपछि आमा र बच्चा दुवैको अवस्था सामान्य थियो । अस्पतालले ९ साउन डिस्चार्ज गरेपछि अम्कासले दुवैलाई सेल्टरमा लिएर गयो । अम्कास र केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीबीच त्यसअघिदेखि नै कुरा भइरहेको थियो । आमा र बालगृहको मञ्जुरीनामाको कागजात बनेपछि १२ साउनको बिहान पुष्पा शिशु लिएर बालगृह फर्केकी थिइन् ।

बालगृहमा फर्केपछि पुष्पालाई शिशु हुर्केपछि आमासँगै जाला वा आमाले फिर्ता लैजालिन् भन्ने चिन्ता लाग्यो । बालगृहबाट धर्मपुत्र÷पुत्रीका रूपमा बालबालिका जिम्मा लगाउने गरिन्छ । त्यसपछि उनले शिशु बेवारिसे फेलापरेको स्थापित गर्ने ‘आइडिया’ फुराइन् । र, १२ साउनकै साँझ ६ बजेतिर शिशुलाई कार्टुनमा प्याक गरेर बालगृह नजिकैको चौरमा राखिन् ।

योजनाअनुसार नै बालगृहमा आश्रित केटाकेटीलाई खेल्न चौरतर्फ पठाइन् । स्वाभाविक रूपमा केटाकेटीले शिशु भएको कार्टुन फेलापारे । लगत्तै बालगृहका कर्मचारी घटनास्थल पुगेर भिडियो र फोटो खिचे ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad