सरकारले १८ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिलाई मात्र युवाको संज्ञा दिने प्रस्ताव गरेको छ ।
राष्ट्रिय युवा परिषद् ऐन संशोधन विधेयकमा उक्त प्रस्ताव गरिएको छ।
नयाँ व्यवस्थाअनुसार युवाको अधिकतम उमेरमा ५ वर्ष घट्नेछ भने न्यूनतम उमेरमा २ वर्ष बढ्नेछ । याे खबर आजको कान्तिपुरमा छापिएकाे छ।
संविधानअनुसार १८ वर्ष पुगेपछि मताधिकार प्राप्त बालिग नागरिक हुने व्यवस्था छ । १८ वर्षभन्दा कम उमेरलाई नाबालिग मानिन्छ ।
त्यसैले १८ वर्षलाई युवाको न्यूनतम उमेर कायम प्रस्ताव गरिएको हो । राष्ट्रिय युवा परिषद् ऐन २०७२ मा १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवा मानिएको छ ।
परिषद्ले तयार पारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको विधेयकमा युवाको उमेर हेरफेर गर्न प्रस्ताव गरिएको हो। विधेयक संशोधन प्रस्तावमा परिषद्ले अन्तर्राष्ट्रिय चलनअनुसार युवाको उमेर समूह कायम गर्न लागिएको उल्लेख छ। विश्वका धेरैजसो मुलुकमा यही उमेर समूहलाई युवा मानिएको छ ।
मुलुकमा पहिला युवाको उमेर तोकिएको थिएन । २०६८ को जनगणनाअनुसार १६ देखि ४० वर्षसम्मलाई युवा मान्दा मुलुकमा कुल जनसंख्याको ४०.३ प्रतिशत युवा छन् । १८ देखि ३५ वर्ष उमेर कायम गर्दा मुलुकमा युवाको संख्या केही घट्नेछ।

प्रतिक्रिया