नेपालमा महिला अधिकारका क्षेत्रमा आजका मितिमा सर्वाधिक सक्रिय महिलाको सूची बनाउँदा डा. रेणु अधिकारीको नाम कति नम्बरमा आउला? ठ्याक्कै नम्बर भन्न नसकिए पनि एकै हातका औंलामा उनी समेटिन्छिन् भन्न अलमलिनु पर्दैन।
स्त्री रोग विशेषज्ञ अधिकारीलाई रेणु राजभण्डारीका नामले चिन्ने पनि धेरै छन्। तर, अहिले उनी राजभण्डारी छैनन्। त्यसो त यो अन्तर्वार्ता व्यक्तित्वमा केन्द्रित नभएर विषयमा केन्द्रित छ।
विषय हो– यौनिकता वा यौन अधिकार, जसमा खुलेर संवाद गर्न नेपाली समाज आज पनि चाहँदैन। यस हिसाबले कपिल काफ्ले र भगवती तिमल्सिनाले दुर्लभ पात्र हात पारेका छन् अन्तर्वार्ताका लागि भनेर आजको नेपाल समाचारपत्रले छापेकाे छ। प्रस्तुत छ, उक्त अन्तर्वार्ताकाे केही अंश :
महिलामा महिनावारी सुकेपछि यौन चाहना हुँदैन र पुरुषमा ८० वर्षसम्म पनि रहन्छ। यौनिकताका लागि पनि ८–१० वर्ष कान्छी केटीसँग केटाको विवाह हुनु ठीक हो भनिन्छ नि ?
कसले भन्यो महिलालाई महिनावारी सुकेपछि यौन इच्छा हुँदैन भनेर ? यो शतप्रतिशत गलत हो। महिला पनि ८० वर्षसम्म पनि यौन क्रियाकलापमा सक्रिय हुन सक्छन्।
नेपालमा महिला छिटो निस्क्रिय हुनाका कारण अर्कै छ, सुरुदेखि नै उनीहरूको यौन क्रियाकलाप पीडादायी हुन्छ। यस कारणले नैराश्यता सुरु हुन्छ। त्यसका साथै आवश्यकताअनुसार बच्चा भइसकेपछि अक केका लागि चाहियो र ? महिलालो आफ्नो शरीरलाई हेर्ने दृष्टिकोण नै अरूका लागि भन्ने छ।
महिलाको शरीर श्रीमान्को यौन सम्पर्क र बच्चा जन्माउनका लागि भन्ने छ। आफ्नो शरीर मेरा लागि हो भनेर हे¥यौं भने महिला पनि ८० वर्षसम्म यौन क्रियाकलापमा पुरुषसरह नै सक्रिय हुन्छन्।
समाजमा पुरुषले चाहँदा यौन सम्पर्क हुने, महिलाले चाहना नै व्यक्त गर्न नसक्ने । परिवारमा श्रीमान् र ससुराले चाहेका कारण बच्चा पाइदिनुपर्ने, श्रीमान्ले चाहँदा शरीर चलाउन दिनुपर्ने अभ्यास छ । महिलाले शरीरमाथिको अधिकार चाहिं कसरी कायम गर्ने ?
महिलाले नाइँ भनेर नै आपूm यौन सम्पर्कका लागि तयार नभएको जानकारी दिने हो । नाइँ भन्दाभन्दै जुनसुकै महिलामाथि यौनसम्पर्क गरिन्छ भने त्यो बलात्कार हो । नो भन्दाभन्दै गरिने यौन सम्पर्कले महिला हैन पुरुष मात्र सन्तुष्ट हुन्छ र महिला बलात्कार हुन्छिन् ।
पुरुषको उमेर बढी महिलाको उमेर कम हुनुपर्ने, पढाइ जागिर, उमेर हाइट महिलाभन्दा पुरुषको ठूलो हुनुपर्ने सोच हानिकारक परम्परागत सोच हो । यसमा परिवर्तन हुनुपर्छ । अन्यथा महिलाले नाइँ भनिरहेकी हुन्छे, पुरुषले जबरजस्ती गरिरहन्छ र हिंसा भइरहन्छ । विछोडको अवस्था सृजना हुन्छ र समाजले महिला नै गलत हो भनिदिन्छ ।
महिलालाई ‘नाइँ’ भन्नसक्ने कसरी बनाउने ?
महिलालाई बलात्कार गर्नसक्ने कमजोर कानुन बनाउन समाज र राज्यका पुराना बिचार बोकेका व्यक्तिहरु लागिरहेका छन् । महिला भएका कारण तँ कमजोर छेस्, पुरुषबाट हरेक पटक बलात्कार हुन तयार हुनु तेरो नियती हो भनेर सिकाइन्छ । लैंगिक समानताका लागि शारीरिक, मानसिक, आर्थिक, सामाजिक रुपमा महिला बलियो हुनुपर्छ ।
हाम्रो समाजमा कति महिलालाई यौनइच्छा र यौनतृप्ति के हो थाहा छैन । यौनको पूर्ण आनन्द नलिई आमा–हजुरआमा बनेका हुन्छन् । स्वभावतः यी महिलाहरु जिन्दगीभर श्रीमान्बाट बलात्कारमा परेका हुन्छन् । यौन शिक्षा विद्यालयमा पनि पढाइन्न । शारीरिक शिक्षाभित्र सानो पाठ राखेर यौन शिक्षा पूरा हुँदैन । नयाँ पुस्तालाई ठीक किसिमले यौन शिक्षा दिन सकियो भने मात्र कम्तीमा भोलिको पुस्ताका महिला बलात्कृत र पुरुष बलात्कारी नहोलान् ।
यौन शिक्षा कहिले शुरु गर्ने ? यौनिकता नबुझेर पनि कति घर तोडिएका छन् भनिन्छ, तपाईंलाई के लाग्छ ?
यौन हिंसा न्यूनीकरणका लागि यौन शिक्षा नर्सरी कक्षादेखि नै सिकाइनुपर्छ । बच्चाहरुलाई सानैमा के यौन शिक्षा दिने भन्ने प्रश्न पनि उठ्नसक्छ । तर, यौन भनेको लिङ्ग योनीमा प्रपेश गर्ने कार्य मात्र हो भनेर बुझ्नुहुन्न । स–साना बालबालिकालाई यो केटा हो, यो केटी हो भनेर पढाउन सकिन्छ । विस्तारै उनीहरुको उमेरसँगै यौनाङ्ग र शरीरमा आउने परिवर्तनका बारेमा पढाउनुपर्छ । अन्ततः पेनिट्रेसनको विषय पनि आउँछ तर त्यो उनीहरुको उमेरको मागअनुसार ।
केही समयअघि नेपालगञ्जमा महिलाहरु आएर सिडियो कार्यालय घेरे । हाम्रो देशमा बालविवाह न्यूनीकरणको माग भैरहेको बिषयमा लडाइँ छ । विवाहकका लागि केटा र केटीको उमेर २० जो राखिएको छ, त्यो केटीका लागि धेरै भयो, जबकि उनीहरुमा यौन चाहना १४–१५ देखि नै देखिन्छ भन्ने उनीहरुको धारणा थियो । यौन चाहना तराईजस्तो गर्मी ठाउँमा छिटो सुरु हुनसक्छ ।
२ नंम्बर प्रदेशले कानुनमा परिवर्तन ल्याउने कुरा बोलिसकेको छ– यस कुरामा दम छ । हाम्रो आफ्नो जवानी हेर्दा पनि थाहा हुन्छ । १२ देखि १३ बर्षको उमेरमा शारीरिक परिवर्तन आउन थाल्छ । एक–अर्को लिङ्गप्रति आकर्षक हुने, आफूलाई राम्रो, राम्री बन्न मनलाग्ने, फिल्मको हिरोको फोटो राख्न मन लाग्ने, एक–अर्कालाई जिस्क्याउन मन लाग्ने, ऐना हेर्न, राम्रो केटा–केटी हेर्न मनलाग्ने हुन्छ । त्यो नै यौन चाहना हो ।
हिजो यो उमेर आउँनुभन्दा पहिला नै विवाह गरिदिन्थे । समाजको डर थियो । यौनको बारेमा बाबुआमा कसैले बुभाउँदैनथे । अहिले मोबाइल खोल्यो भने जे पनि पाइन्छ । बाहिर गयो भने कुकुर, बिरालो, चरा हरेकको यौनिक गतिबिधि देख्न सकिन्छ । यौनईच्छा भएको समय मानिसलाई त्यो पनि एउटा सामग्री बन्छ । अर्कोतर्फ विवाह नभै यौन सम्बन्ध राख्नु हुँदैन भनिएको छ । कुनैपनि छोरा छोरीले बाबुआमालाई आएर मेरो ब्वाईफ्रेन्ड छ, गर्लफ्रेन्ड छ भन्न सक्दैनन् । उसको उपाय भनेकै यौन सम्पर्ककै लागि घरबाट भाग्नुपर्ने हुन्छ । भागेपछि समाजले खत्तम भयो, अब उसलाई घरमा आउने पनि अनुमति छैन भनिन्छ ।
तपाईं प्रसूति रोग विशेषज्ञ, यौनसम्बन्धी समस्या समाधान वा उपचारका लागि कति उमेरदेखिका महिला आउँछन् ?
अहिले सुरक्षित गर्भपतनका लागि १३–१४ बर्षका केटीहरु पनि आउँछन् । यतिबेला केटालाई भने भगाइन्छ र समाजले गर्भपतनमाथिको अधिकार दिएकाले अविवाहित केटीहरुले गर्भपतन गरे भन्ने हल्ला चलाइन्छ । सञ्चार माध्यमले पनि त्यसलाई बुझ्दै नबुझी प्राथमिकता दिन्छ । कम्तीमा सुरक्षित गर्भपतन सेवा भएका कारण त्यो केटी बाचेकी छ, नत्र यो समाजले त्यो केटीलाई बाच्न पनि दिंदैन । यदि गर्भपतन सेवा नभएर कुमारी आमा भएको भए यो समाजले कतिजनालाई बाँच्न दिन्थ्यो ?
बालबिवाहको अभियान चलाउने हो भने सानै उमेरदेखि यौन शिक्षा दिनुपर्छ । छोरा, छोरीको केटा साथी, केटी साथी छ भने घरमा बोलाएर उमेर नपुग्दै यौन सम्पर्क राख्दा गर्भवती हुन्छ र आमा बच्चा दुबैको लागि समस्या हुन्छ भन्ने शिक्षा दिनुपर्छ । केटा–केटीको पनि बच्चा जन्माउने चाहना नभएर यौन सम्पर्क मात्र राख्ने चाहना बढेको हुन्छ । दुबैलाई बुझाएर पहिला शिक्षा पूरा गर, उमेर भएपछि विवाह गरिदिउँला भन्नुर्छ । घरमा आउँजाउँ गर्नु, बस्नु, सिनेमा हेर्न जानु कुनै आपत्तिको कुरा होइन । विवाहका लागि दुबैको पडाइ बीए पास हुनुपर्छ भनेपछि समस्या आफै हल हुन्छ ।
Shares

प्रतिक्रिया