छापा खबर


स्थानीय तहका प्रमुख र उपप्रमुखबीच नै बोलचाल बन्द

स्थानीय तहका प्रमुख र उपप्रमुखबीच नै बोलचाल बन्द

नेपालखबर
असोज ६, २०७७ मंगलबार ३:४७,

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा प्रमुख र उपप्रमुखबीच बोलचाल छैन। एकले अर्कोको अनुहारसमेत हेर्दैन। अधिकांश स्थानीय तहमा प्रमुख पुरुष र उपप्रमुख छन्। प्रमुखले उपप्रमुखलाई अधिकारविहीन बनाउँदा विवाद चर्किएका छन्।

तर, भूमिकास्थानमा भने प्रमुख र उपप्रमुखको स्वार्थ बाझिँदा विवाद चुलिएको हो। चुनावी तालमेलबाट तत्कालीन नेकपा माओवादीबाट प्रमुखमा रमेश थापा र नेपाली कांग्रेसबाट उपप्रमुखमा खडानन्द बेल्बासे निर्वाचित भएका हुन्।

अहिले प्रमुख र उपप्रमुखले पत्रकार सम्मेलन गरी एकले अर्कोलाई किर्ते गरेको आरोपसमेत लगाए। भदौ १९ गते उपप्रमुख बेल्बासेको नेतृत्वमा कार्यपालिकाका बहुसंख्यक सदस्यले पत्रकार सम्मेलन गरी नगर प्रमुख थापाले अस्पतालको स्तर वृद्धिको निर्णयमा किर्ते गरेको तथा एकलौटी काम गरेको आरोप लगाएका छन्। भदौ २२ गते त्यसको खण्डन गर्न नगरप्रमुख थापाले अर्को पत्रकार सम्मेलन गरेको खबर आजको नागरिक दैनिकमा विनोद परियारले लेखेका छन।

नगरपालिकाभित्र प्रमुख र उपप्रमुखले १५ शैयाको अस्पताल आफ्नो क्षेत्रमा राख्न खोज्दा खास विवाद चर्किएको कार्यपालिका सदस्य बताउँछन। उपप्रमुख असुरकोटमा र नगरप्रमुख नुवाकोटमा अस्पताल बनाउने पक्षमा छन्। नेकपा समर्थित प्रमुख थापाका पक्षमा र नेपाली कांग्रेस अनि राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधि उपप्रमुख बेल्बासेको कित्तामा उभिएका छन्।

२०७६ असोजमा बसेको कार्यपालिका बैठकले १५ शैयाको अस्पताल स्थापना गर्ने र पुस २४ गतेको बैठकले स्थान छनोट गरी प्रतिवेदन पेस गर्ने निर्णय गरेको थियो। संघीय स्वास्थ्य मन्त्रालयले फागुनमा असुरकोटस्थित १५ शैयाको अस्पताललाई स्तर वृद्धि गर्ने जानकारीसहितको पत्र नगरपालिकालाई पठाएको थियो।

प्रमुख थापाले भने नगरबासीलाई पायक पर्ने स्थानमा अस्पताल बनाउने कार्यपालिकाले निर्णय गरेको भन्दै असुरकोट नभई नुवाकोटमै अस्पतालको स्तर वृद्धि गर्नेगरी संघीय मन्त्रालयमा पत्राचार गरेका थिए। यही घटनापछि प्रमुख र उपप्रमुखबीचको विवाद बाहिर सार्वजनिक भएको हो।

‘गैरकानुनी काम गर्न थालेपछि बाध्य भएर पत्रकार सम्मेलन गरिएको हो,’ उपप्रमुख बेल्बासेले भने, ‘प्रमुखले गलत निर्णय सच्चाउनुको साटो नांगो नाच नाच्नुभयो।’ नुवाकोटमा अस्पताल बनाउने निर्णय कार्यपालिकाले गरेको नभई प्रमुखले किर्ते माइन्युट तयार गरेको उनको आरोप छ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच गाउँपालिका केन्द्रको भवन बनाउने विषयमा लामो समयदेखि विवाद छ।

अध्यक्ष निसार अहमद खाँ र उपाध्यक्ष सुधादेवी पाण्डेबीच भवनकै विवादले आर्थिक वर्ष २०७७÷७८ को बजेटसमेत समयमा आउन सकेन। अध्यक्ष खाँ वडा नं २ मा भवन निर्माण गर्नुपर्ने पक्षमा छन् भने उपाध्यक्ष पाण्डे हाल कार्यालय रहेको वडा नं ३ लवनीमै बनाउनुपर्ने अडानमा छन्। भवन निर्माणमा विवाद भएपछि यो विषय जिल्ला प्रशासनमा पुगेको छ। ‘मैलै उपाध्यक्षलाई जिम्मेवारी दिएको छु, तर प्रत्येक वर्ष बजेट बनाउने बेला भवन निर्माणको विषय ल्याएर विवाद भइरहन्छ,’ अध्यक्ष खाँले भने।

कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह र उपप्रमुख लक्ष्मी गुप्ता सावबीच विवाद कायमै छ। गत वर्ष संविधानले दिएको अधिकार अनुसारको जिम्मेवारी नदिएको भन्दै उपप्रमुख गुप्ता अदालत पुगिन्।

उनले आर्थिक वर्ष २०७६/७७ को बजेट रोक्न माग गर्दै तुल्सीपुर उच्च अदालत बुटवल इजलासमा रिट दायर गरेकी थिइन्। तर अदालतले भने गत असोजमा रिट खारेज गरिदियो। अदालत पुगेर पनि रिट खारेज भएपछि प्रमुखसँग उपप्रमुखको सम्बन्ध थप चिसिएको छ। ‘अधिकार माग गर्दा विवाद हुन्छ, अहिले पनि पहिला जस्तै अवस्था छ,’ उपप्रमुख लक्ष्मी गुप्ता सावले भनिन्।

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा पनि प्रमुख र उपप्रमुखको विवाद झन् झन् चर्किँदै गएको छ। नगरप्रमुख मनमोहन चौधरी र उपप्रमुख जानकीदेवी श्रीवास्तवबीच अहिले पनि बोलचाल छैन। उपप्रमुख श्रीवास्तवले चालु आर्थिक वर्ष ७७÷७८ को बजेट निर्माणमा समेत असन्तुष्टि जनाएकी छन्। उनका अनुसार यो वर्ष पनि बजेट तयार भएर निर्णयमा हस्ताक्षर गर्न मात्रै खबर आएको हो। ‘बजेट निर्माण तथा योजनाबारेमा कहिल्यै छलफल हुँदैन, बजेट भाषणसमेत मलाई गर्न दिँदैनन्,’ उपप्रमुख श्रीवास्तवले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad