भगवान् श्रीरामको जन्म भएको विश्वास गरिएको चितवनको माडी नगरपालिकामा अयोध्याधाम निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम सुरु भएको छ।
अयोध्याधाम निर्माणको गुरुयोजना तयार भई ‘डीपीआर’ निर्माणको काम सुरु भएको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए। यो खबर आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन्।
‘गुरुयोजना तयार भई डीपीआर निर्माणको काम सुरु भइसकेको छ, छिट्टै नै प्रतिवेदन आउने छ ,’ ढकालले भने।
प्रधानमन्त्री ओलीको निर्देशनमा अयोध्याधाम निर्माणको कामलाई तीव्र बनाइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा अयोध्याधाम निर्माणको डीपीआरलगायत समग्र आयोजना अगाडि बढाइएको ढकालले बताए।
अर्को वर्ष २०७८ सालको चैततिर पर्ने रामनवमीका अवसरमा भगवान् राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति अनावरण गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिन प्रधानमन्त्री ओलीबाट निर्देशन भएको छ।
ढकालका अनुसार डीपीआर तयार हुनेबित्तिकै मन्दिर निर्माणको बोलपत्र आह्वान गरिने छ । प्रधानमन्त्रीको चाहनाबमोजिम अन्तर्राष्ट्रिय स्तरको निर्माण गरिने सो मन्दिरका लागि करिब १० करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ।

प्रतिक्रिया