छापा खबर


धनुषामा बालकको बीभत्स हत्या : ‘मेरो अभि मलाई छाडेर कहाँ गयौ?’

धनुषामा बालकको बीभत्स हत्या : ‘मेरो अभि मलाई छाडेर कहाँ गयौ?’

नेपालखबर
पुस १८, २०७७ शनिबार १:४७,

‘मेरो सोना राजा, मेरो अभि मलाई छोडेर कहाँ गयौ?’ ३० वर्षीया रामपुकारी राय ५ वर्षीय छोरो अभिनन्दन खोज्दै भक्कानिँदै थिइन्। छोराहरू जेठो ११ वर्षीय दीपक, माइलो ८ वर्षीय करण र छोरी ८ महिनाकी आरुषीकुमारी साथमै थिए। छिमेकी र आफन्त उनीहरूलाई सम्झाइबुझाइ गरिरहेका थिए।

दीपक पनि भक्कानो छाडेर रोइरहेका थिए। करण दाइ दीपकलाई भन्दै थिए, ‘म भाइसँग दुई दिनदेखि खेल्न पाएको छैन। मेरो भाइ ल्याइदेऊ।’ छोरा गुमाएको शोकमा रामपुकारी लुडीबुडी गरिरहँदा उनलाई छिमेकी मञ्जुदेवी रायले सम्झाइरहेकी थिइन्, ‘जे नहुनु थियो भइसक्यो, अब के गर्ने? कालले तिम्रो छोरालाई लिएर गइसक्यो, अब कहिले फर्किंदैन, धैर्य राख।’

यो घटना हो, धनुषाको विदेह नगरपालिका–२ दुहबीको। स्थानीय ५ वर्षीय अभिनन्दन राय अमात बुधबार बिहान ९ बजेदेखि हराएका थिए। हत्या गरेर भैंसीगोठमा गाडेको अवस्थामा बिहीबार राति १० बजे उनको शव भेटियो।

‘हामीले बालकलाई सकुशल उद्धार गर्न हराएको थाहा पाएदेखि नै खोजिरह्यौं। जिल्लाका हरेक युनिट र सीमा सुरक्षामा खटिएको प्रहरीलाई फोटोसहितको सूचना प्रवाह गर्‍यौं’, सीमा प्रहरी चौकी दुहबीका प्रमुख हिलक सिंहले भने, ‘तर, बिहीबार राति १० बजे खोज्दै जाँदा घाँटी थिचेर हत्या गरी गाडेको अवस्थामा शव भेट्यौं।’ यो खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोविन्द महतोले लेखेका हुन्।

सिंहले घटनाबारे बुधबार बेलुका जानकारी प्राप्त भएको उल्लेख गरे। ‘त्यसपछि शंकाका आधारमा खोजी गर्दै जाँदा बिहीबार अबेर राति ब्रह्मदेव राय अमातको घरमा भैंसी बाँध्ने गोठमा खाल्डो खनी पुरेर पराल ओछ्याई भैंसी बाँधेको अवस्थामा शव बरामद गरेका छौं’, उनले भने।

धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले रुपैयाँ लेनदेनका कारण नाबालक मारिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जानकारी दिए।

‘खेल्दाखेल्दै प्रमिलाको घर पुगेको बच्चालाई चाउचाउ खान दिएर राखेको पायौं’, प्रहरी उपरीक्षक बस्नेतले भने, ‘चाउचाउ खाइसकेपछि बच्चाले प्रमिलालाई निद्रा लाग्यो सुत्छु भनेकोमा खाटमा सुताई, सुतिसकेको अवस्थामा घाँटी थिचेर हत्या गरेको देखियो।’

बच्चाको घाँटी थिचेर हत्यापछि साँझको अँध्यारोमा शव उठाएर गोठमा लगी खाल्डो खनेर गाडेको र माथिबाट खरानी र पराल हाली भैसी बाँधेको अवस्थामा भेटिएको बस्नेतले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad