विद्युत् आपूर्ति गराउने सम्बन्धमा भारतको बीआरपीएल नामक कम्पनीले भारतकै एनभीभीएनमार्फत आह्वान गरेको टेन्डरमा नेपाल विद्युत् प्राधिकरण पनि सहभागी भएको छ।
विद्युत् नियमन आयोगले गत सोमवार उक्त टेन्डरमा सहभागी हुन प्राधिकरणलाई स्वीकृति दिएको थियो । त्यसलगत्तै प्राधिकरणले उक्त टेन्डरमा प्रस्ताव पेश गरेको खबर आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन्।
प्राधिकरणले जुनदेखि सेप्टेम्बरसम्म (४ महीना) २५ मेगावाटसम्म विद्युत् उपलब्ध गराउन सक्नेगरी एनभीभीएनमार्फत टेन्डरमा प्रस्ताव पेश गरेको हो । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले नियमन आयोगबाट स्वीकृति पाएसँगै गत हप्ता नै उक्त टेन्डरमा आवेदन पेश गरेको जानकारी दिए।
हाल प्राधिकरणले भारतको टनकपुरबाट प्रतियुनिट ६ रुपैयाँ ६२ पैसा (४ दशमलव १४ भारतीय रुपैयाँ) मा भारतीय विद्युत् किन्दै आएको छ । टेन्डरमा सोही दरलाई नै आधार बनाएर प्रस्ताव पेश गरिएको प्रवक्ता तिम्सिनाले बताए।
टेन्डरमा पेश गर्ने आज (सोमवार) अन्तिम दिन थियो । प्राधिकरणले त्यसअगावै टेन्डरमा प्रस्ताव पेश गरेको हो।
नेपालभित्र मात्र विद्युत् विक्रीमा सीमित भएको प्राधिकरण पहिलोपटक विदेशी बजारमा पनि प्रवेश गरेको छ । पछिल्लो केही वर्ष पावर एक्सचेन्जमार्फत भारतीय बजारमा प्राधिकरणले विद्युत् निर्यात गरे पनि व्यापारिक रूपमा निर्यात गरेको थिएन । तर, अब भने व्यापारिक रूपमा नै भारतीय बजारमा विद्युत् निर्यात गर्ने सम्भावना भएको प्रवक्ता तिम्सिनाले बताए।
बीआरपीएल भारतको विद्युत् वितरण गर्ने कम्पनी हो । उक्त कम्पनीले २५ देखि ७०० मेगावाट सम्म विद्युत् आपूर्ति गर्नेगरी टेन्डर आह्वान गरेको थियो।

प्रतिक्रिया