छापा खबर


फास्ट ट्रयाकको ठेक्काले सेना फेरि विवादमा : आर्थिक प्रतिस्पर्धाविना १२ अर्बको ठेक्का दिने तयारी

फास्ट ट्रयाकको ठेक्काले सेना फेरि विवादमा : आर्थिक प्रतिस्पर्धाविना १२ अर्बको ठेक्का दिने तयारी

नेपालखबर
माघ ४, २०७७ आइतबार २३:२६,

नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्र्याकअन्तर्गत फेज टु खण्डमा दरभाउको प्रतिस्पर्धाविना नै करिब १२ अर्बको ठेक्का लगाउने तयारी गरेको छ।

२१ कम्पनीले प्रतिस्पर्धा गर्न खोजेकोमा सेनाले एउटा मात्र कम्पनीलाई योग्य ठानेकोले अब आर्थिक प्रतिस्पर्धाको विकल्प नै बन्द भएको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

काठमाडौं–निजगढ फास्ट ट्र्याक (७२.५ किलोमिटर) अन्तर्गत करिब एक खर्ब ७५ अर्ब खर्च हुने अनुमान छ । सुरुङ र जटिल प्रकृतिका पुल बनाउने कामलाई सेनाले दुई भागमा विभाजन गरेको छ । फेज वानका लागि २३ अर्ब ४० करोड र फेज टुका लागि ११ अर्ब ७० करोड लागत अनुमान छ ।

दुवै फेजमा सुरुङ र जटिल प्रकारका पुल बनाउने काम छ । फेज वानका लागि २१ र फेज टुका लागि २२ अन्तर्राष्ट्रिय कम्पनीले प्रतिस्पर्धा गरेका थिए । तर, आश्चर्य, फेज वानका लागि दुई र फेज टुका लागि एउटा मात्र कम्पनी प्रतिस्पर्धाका लागि योग्य मानिएका छन् । यसरी २३ अर्ब ४० करोडको ठेक्कामा दुईवटा कम्पनीबीच प्रतिस्पर्धा हुनेछ ।

११ अर्ब ७० करोडको ठेक्कामा भने आर्थिक प्रतिस्पर्धा नै नहुने भएको छ । यसरी प्रतिस्पर्धाको विकल्प बन्द भएकोले राज्यलाई ठूलो आर्थिक क्षति भएको छ । ‘फेज टुमा प्रतिस्पर्धाका लागि एउटा मात्र कम्पनीको योग्यता पुगेको छ । प्रतिस्पर्धामा अर्को कम्पनी नभएको हुनाले ठेक्का उसैले पाउने सम्भावना प्रबल छ । यसको अर्थ ठेक्का नै अवार्ड भइसकेकोचाहिँ होइन, प्रक्रिया अझै बाँकी छन्,’ नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने।

प्रतिस्पर्धाका लागि एउटा मात्र कम्पनी योग्य साबित भएकोले आर्थिक प्रतिस्पर्धा हुने सम्भावना नभएको सैनिक प्रवक्ताको भनाइ छ । ‘दरभाउमा प्रतिस्पर्धा नहुनेजस्तो देखिन्छ, किनभने एउटा कम्पनी मात्रै छनोट भएको छ,’ पौडेलले भने, ‘हामीले त जतिसक्दो धेरै कम्पनी छनोट गर्न खोजेका हौँ । तर, प्रि–क्वालिफिकेसन चरणमा प्रतिस्पर्धा गर्दा एउटा कम्पनीको मात्रै योग्यता पुग्यो । त्यसो हुँदा अन्य कम्पनी छनोट गर्न सकिएन ।’

फेज वानतर्फ चिनियाँ कम्पनी पोली चङ्ग्डा इन्जिनियरिङ र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ छनोट भएका छन् । छनोट भएका दुई कम्पनीबीचको प्रतिस्पर्धामा जसले कम मूल्य कबोल गर्छ उसैले ठेक्का पाउनेछ । तर, फेज टु निर्माणका लागि चिनियाँ निर्माण कम्पनी पोली चङ्ग्डा इन्जिनियरिङ कम्पनीलाई मात्र छनोट गरेको हो । यी अरू २१ कम्पनी भने प्रतिस्पर्धाका लागि नै अयोग्य मानिएका छन्।

कतिसम्म भने फेज वानतर्फ २३ अर्बको ठेक्कामा प्रतिस्पर्धा गर्न योग्य मानिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ ११ अर्ब ७० करोडको प्रतिस्पर्धाका लागि भने अयोग्य ठहर भएको छ । जब कि फेज वान र टुको कामको प्रकृति भने एउटै हो।

सेनाले निर्माण कम्पनीहरूको पूर्वयोग्यता निर्धारणका लागि दुवै फेजको एउटै मापदण्ड बनाएको थियो । तर, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ फेज वानका लागि छनोट भयो, फेज टुका लागि छानिएन । यसमा सेनाले फेज टुको पूर्वयोग्यता निर्धारणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले पेस गरेका कागजपत्र नपुगेको भन्दै स्पष्टीकरण दिएको छ ।

तर, १२ अर्बको ठेक्काका लागि एउटा मात्रै कम्पनीलाई योग्यताको सूचीमा राखेपछि दरभाउमा प्रतिस्पर्धा नहुने देखिएको छ, जुन सार्वजनिक खरिद ऐन, २०६३ को मर्मविपरीत हुन जान्छ । यस्तो अवस्थामा छनोट प्रक्रिया नै पुरावलोकन हुनुपर्ने सार्वजनिक ऐनका विज्ञ तथा अधिवक्ता शरद कोइरालाले बताए ।

संसारभर मूलतः सेना राष्ट्रिय सुरक्षामा खटिएको हुन्छ, रणनीतिक योजना तथा साझेदारी र अभ्यासमा हुन्छ । तर, हाम्रो सेना भने ठेकेदारीमा छ । चीन, भारत, कोरियाका ठेकेदार कम्पनीको कागजपत्र मूल्यांकनमा व्यस्त र विवादित छ ।

यो विषयमा सुरक्षा विशेषज्ञहरू पनि चिन्तित छन् । सुरक्षाविद् गेजा शर्मा वाग्ले भन्छन्, ‘नेपाली सेना राष्ट्रिय र व्यावसायिक सेना हो । सार्वजनिक खरिद ऐनअन्तर्गतका ठेक्कापट्टामा विवादित हुँदा राष्ट्रिय सेनाको व्यावसायिकतामा नै नकारात्मक प्रभाव पर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad