छापा खबर


काठमाडौंमा मेलम्चीको पानी वितरण गर्ने अन्तिम तयारी, यस्तो छ तालिका

काठमाडौंमा मेलम्चीको पानी वितरण गर्ने अन्तिम तयारी, यस्तो छ तालिका

नेपालखबर
फागुन २६, २०७७ बुधबार ०:४८,

मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ।

चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। यो खबर आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन्।

समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौँवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताए। ‘चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रूपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिनेछ । परीक्षण सफल भएपछि वितरण कार्य एक महिना रोकेर ‘फुल फेज’ मा पानी वितरण गरिनेछ,’ खत्रीले भने।

परीक्षणका रूपमा उपत्यकामा दैनिक १७ करोड लिटर पानी ल्याइने र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वितरण प्रणालीबाट पानी वितरण गरिने कार्यकारी निर्देशक खत्रीले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा मेलम्चीको जलप्रवाहको शुभारम्भ गरेका थिए।

सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित हेडबक्सबाट फागुन १० गते करिब २७ किलोमिटर लामो सुरुङमा पानी प्रवाह गराइएको थियो।
कार्यकारी निर्देशक खत्रीका अनुसार काठमाडौँ उपत्यकामा पानी वितरणका लागि चैतको दोस्रो साताबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा खसालिनेछ। सुरुङ सफा गर्ने काम भएकाले अहिले सुरुङको पानी बागमतीमा प्रवाह गरिएको छ । मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विद्यमान वितरण प्रणालीमा मिसिन्छ र सँगसँगै वितरण हुनेछ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमल श्रेष्ठले सुन्दरीजल प्रशोधन केन्द्रबाट आएको पानी वितरणका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। ‘मेलम्चीको पानी वितरणका लागि अहिलेसम्म कुल एक हजार १२५ किलोमिटरमा नयाँ वितरण प्रणालीको विकास गरिएको छ । त्यस प्रणालीमध्ये दुई सय किलोमिटरको परीक्षण कार्य सम्पन्न भई पानी वितरण गर्न तयारी अवस्थामा रहेको छ’, उनले भने, ‘परीक्षण भएका दुई सय किलोमिटरबाहेक बाँकी सबै ठाउँमा केयूकेएलको मौजुदा प्रणालीमा जोडिएर मेलम्चीको पानी आपूर्ति गर्ने आयोजनाको आन्तरिक तयारी छ।’

केयूकेएलले सेवा उपलब्ध गराइरहेको क्षेत्रमध्ये एक लाख दस हजार घरधुरीमा नयाँ प्रणालीमार्फत आपूर्ति गर्ने योजना रहेकोमा ८० हजार घरधुरीमा धारा जडान गरिएको छ । तीमध्ये १५ हजार धाराको परीक्षण भई पानी आपूर्ति गर्न सकिने अवस्था पुगिसकेको खत्रीले बताए।

पहिलो चरणअन्तर्गत नरेफाँटसहित काठमाडौँ र ललितपुरका चक्रपथभित्रका एक लाख दस हजार घरधुरीलाई पानी वितरण गर्ने योजना छ। दोस्रो चरणअन्तर्गत भक्तपुरसहित काठमाडौँ र ललितपुरको चक्रपथ बाहिरको क्षेत्रमा मेलम्चीको पानी वितरण गर्ने कार्यक्रम रहेको निर्देशक श्रेष्ठले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad