छापा खबर


प्रधानमन्त्रीका दुई सन्देश : नयाँ गठबन्धन बनाउन खोजे संसद् विघटन, समर्थन फिर्ता लिए राजीनामा

प्रधानमन्त्रीका दुई सन्देश : नयाँ गठबन्धन बनाउन खोजे संसद् विघटन, समर्थन फिर्ता लिए राजीनामा

नेपालखबर
चैत २२, २०७७ आइतबार १:३१,

कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको निर्णय गरेको अर्को दिन प्रधानमन्त्री केपी ओलीले पुनः संसद् विघटन र आफ्नो राजीनामाको सम्भावना देखाएका छन्।

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शनिबार बालुवाटारबाट शुभारम्भ गर्दै ओलीले सधैँ संसद्को अंकगणितले सही निर्णय दिन नसक्ने र त्यस्तो कोसिस भए संसद् विघटन हुन सक्ने प्रधानमन्त्री ओलीको संकेत छ । यसबाहेक प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले सर्मथन फिर्ता लिए आफ्नो राजीनामा आउने पनि बताएका छन्।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

संसद्मा अनुपयुक्त ढंगले अंकगणितको खेल हुने र त्यसले अनुपयुक्त आकार लिने सम्भावना आएमा फेरि ताजा जनादेशमा जान बाध्य हुने ओलीको भनाइ छ । ‘कहिलेकाहीँ कृत्रिम ढंगले केही मान्छेले संसदीय अंकगणितलाई यताबाट उता सार्दिन्छन्, मिलाइदिन्छन् । संसदीय गणितले सधैँ राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्छ भन्न सकिँदैन,’ ओलीले भने, ‘त्यस्तो भयो भने देश, जनता र विकासको आवश्यकताको अनुकूलताका लागि ताजा जनादेशमा जानुपर्छ।’

संसद्मा देश, जनता र विकासको आवश्यकताबारे बहस हुनुपर्नेमा त्यसविपरीतका खेल भए ताजा जनादेशमा जानुबाहेकको विकल्प नहुने उनको तर्क छ । ‘देश, जनता, विकासको आवश्यकताअनुसारको अंकगणित जनप्रतिनिधि संस्थाहरू, खासगरी संसद्लाई बनाउनुपर्छ । यदि त्यो भएन र आवश्यकताभन्दा विपरीतको अंकगणित, विभिन्न व्यक्तिको स्वार्थको खेलबाट अगाडि गए ताजा जनादेशमा जानुपर्छ,’ ओलीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिए पदबाट राजीनामा दिने पनि बताएका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वको सरकार गठनको पहल थाल्ने निर्णय लिएको अर्को दिन ओलीको यस्तो भनाइ आएको हो । प्रधानमन्त्री ओलीले समर्थन फिर्ता नलिने, तर निरन्तर राजीनामा माग्ने बेठीक भएको भन्दै राजीनामाका लागि समर्थन फिर्ता सर्तका रूपमा अगाडि सारे ।

‘आज मागेको हो र राजीनामा, मागेको–माग्यै छन् त । मागेपिच्छे म कसरी दिन सक्छु,’ ओलीले भने, ‘एउटाले माग्दैन, दुइटाले माग्दैन, एक दिन माग्दैन, दुई दिन माग्दैन । माग्या छ माग्या छ।’

समर्थन फिर्ता लिइदेऊ भन्दा पनि नलिने, तर राजीनामा भने मागिरहने कुरा बेठीक भएको उनको तर्क थियो । ‘राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न !’ ओलीको भनाइ थियो।

पूर्ववत् पार्टी ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि पनि सरकारमाथिको समर्थन कायमै राखेको माओवादी केन्द्रले त्यसबारे ठोस निर्णय लिन आइतबार स्थायी समिति बैठक डाकेको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीले अर्थपूर्ण भनाइ सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad