छापा खबर


यसरी बढ्दैछ नेपालका बालबालिकामा कोरोना संक्रमण, हेर्नुस् तथ्यांक

यसरी बढ्दैछ नेपालका बालबालिकामा कोरोना संक्रमण, हेर्नुस् तथ्यांक

नेपालखबर
चैत २९, २०७७ आइतबार २:५७,

नेपालमा कोरोना भाइरसको नयाँ स्वरूप (युके भेरियेन्ट)को संक्रमण बालबालिकामा उच्च देखिएको छ।

एक वर्षमा ६ प्रतिशत बालबालिका संक्रमित भएकोमा पछिल्लो एक हप्तामा दैनिक १५ प्रतिशतसम्म संक्रमण दर पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

शनिबार अर्थात् २८ चैतमा तीन सय ३७ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा ५२ जना १८ वर्षमुनिका छन् । यो कुल संक्रमणको १५ दशमलव चार प्रतिशत हो । २७ चैतमा दुई सय ८८ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसमध्ये ३४ जना १८ वर्षभन्दा मुनिका बालबालिका छन् । यो कुल संक्रमणको ११ दशमलव ८ प्रतिशत हो।

२६ चैतमा ३ सय ३२ जनामा कोरोना पजिटिभ हुँदा १५ दशमलव ३६ प्रतिशत अर्थात् ५१ जना बालबालिका छन् । यसबाहेक २५ चैतमा दुई सय ९८ जना संक्रमित भेटिएका थिए । त्यस दिन आठ दशमलव ३९ प्रतिशत अर्थात् २५ जना बालबालिका छन्।

त्यसको अघिल्लो दिन २४ चैतमा दुई सय ६० जनामा कोरोना पुष्टि हुँदा २६ जना बालबालिका थिए । यो कुल संक्रमणको १० प्रतिशत हो । त्यसअगाडि २३ चैतमा दुई सय ६६ जनामा कोरोना पजिटिभ देखिँदा ६ दशमलव ०१ प्रतिशत अर्थात् १६ जना बालबालिका थिए।

यसबाहेक २२ चैतमा एक सय ७६ जना कोरोना संक्रमित भएकोमा सात दशमलव ९५ अर्थात् १४ जना बालबालिका छन् । यता २१ चैतमा एक सय २८ जनामा कोरोना पुष्टि हुँदा आठ दशमलव ८९ प्रतिशत अर्थात् ११ जना बालबालिका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीर अधिकारीका अनुसार कोरोनाको दोस्रो वेभमा धेरै बालबालिका संक्रमित भएका छन् । उनले भने ‘१८ वर्षमुनिका बालबालिकाको संक्रमण दर बढ्दै गएको छ । विगतमा बालबालिका बढी संक्रमित हुँदा पाँच प्रतिशत थियो । तर, गएको एक हप्ताको तथ्यांक हेर्दा १५ प्रतिशतसम्म बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।’ नयाँ स्वरूपको भाइरस विद्यालय अध्ययन गर्ने बालबालिकाको उमेर समूहमा बढी फैलिएको अनुमान स्वास्थ्य मन्त्रालयको छ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका कोभिड चिकित्सक डा.अनुप बास्तोला कोरोना भाइरसको पहिलो वेभमा ज्येष्ठ नागरिक र दीर्घरोगी जोखिममा थिए । तर, दोस्रो छालमा युवा पुस्ता मात्र होइन बालबालिकासमेत जोखिममा देखिएका छन् । कोभिड चिकित्सक डा.बास्तोलाका अनुसार दोस्रो वेभ सम्भावित जोखिमसहित फैलियो भने अर्को भुमरीको खतरा छ।

‘कोरोना भाइरसको पहिलो चपेटाबाट बाहिर निस्कनै लाग्दा दोस्रो वेभको संघारमा आइपुगेका छौँ । जनघनत्व बढी भएका स्थानमा दोस्रो वेभ टार्नै नसक्ने गरी फैलिन सक्ने खतराको घन्टी बजिसकेको छ । त्यसैले सुरक्षा मापदण्डको पालनामा हेलचेक्र्याइँ फिटिक्कै गर्नुहुँदैन,’ उनले भने ।

हालसम्म दुई लाख ७९ हजार तीन सय ८८ जना कोरोना संक्रमित हुँदा २१ हजार एक सय ९९ जना १८ वर्षमुनिका बालबालिका छन् । एक हप्तामा मात्रै एक सय २० जना सिकिस्त संक्रमित आइसोलेसनमा भर्ना भएका छन् । त्यस्तै ४४ जना आइसियू र १४ जना भेन्टिलेटरमा छन् । सामान्य लक्षण देखिएका कोरोना संक्रमित घरमै सुरक्षित रूपमा बसेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .