छापा खबर


केपी ओलीप्रति माधव नेपाल अझै सशंकित, नेपाल समूहलाई बादल घाँडो बन्दै

 केपी ओलीप्रति माधव नेपाल अझै सशंकित, नेपाल समूहलाई बादल घाँडो बन्दै

नेपालखबर
जेठ २, २०७८ आइतबार २:२२,

सत्तारूढ दल नेकपा (एमाले) आन्तरिक विवाद सुल्झाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली इमानदार हुनेमा आशंका गर्न थालेका छन्।

वरिष्ठ नेता माधवकुमार नेपालसँग एमालेको पुरानो संरचना २०७५ जेठ २ गते फर्काउने प्रतिबद्धताबाट एमाले अध्यक्ष ओली इमानदार हुनेमा आशंका गर्न थालिएको हो।

ओली नेतृत्वको सरकारले वैशाख २७ गते विश्वासको प्राप्त नगरेपछि सरकार ढलेको थियो। संसद्मा नेपाल समूहका २८ सांसद उपस्थित नहुँदा ओली सरकार ढलेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन ३ दिनको समय दिए पनि नयाँ सरकार बन्न नसक्दा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ।

यही बीचमा ओलीले पार्टीको आन्तरिक विवाद मिलाउन नेपालसँग वैशाख ३० गते साँझ चार घण्टा छलफल गरेका थिए। सो छलफलमा ओलीले एमालेको पुरानो संरचनामा फर्कने र फागुन २८ गते गरेका निर्णयलाई कार्यदल बनाएर विवाद निरूपण गर्ने प्रस्ताव गरेपछि बैठक टुंगिएको थियो।

सोही संवादको निरन्तरता स्वरूप ३१ गते दुवै पक्षका नेताहरूबीच सिंहदरबारमा तीन घण्टा छलफल भएको थियो। छलफलमा ओली पक्षले गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई पनि सहभागी गराएपछि नेपाल पक्षले ओलीको इमानदारितामाथि आशंका गरेको खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

नेपाल पक्षका केन्द्रीय सदस्यहरूले नेपाललाई शनिबारको बैठकमा ओलीले रामबहादुर थापालाई शुक्रबारको बैठकमा सहभागी गराएको विषयमा आपत्ति जनाएका छन्। ओलीले पार्टीभित्र जसरी पनि पेल्ने नीति लिएको बताउँदै सचेत रहन आग्रह गरेका थिए। उनीहरूले थापालाई सहभागी गराएर २०७५ जेठ २ मा फर्कन अस्वीकार गरेको सन्देश दिएको जनाएका थिए।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले पनि २०७५ साल जेठ २ गते फर्कन नसक्ने बताइरहेका छन्। त्यही बेला बसेको नेपाल पक्षको केन्द्रीय सदस्यहरूको बैठकले ओलीले नै सरकार बनाउने चालबाजीमा लागेको र यसले अल्मल्याउँदै जाने रणनीति लिएको प्रष्ट हुने बताएका थिए। नेपाल पक्षका नेता शनिबार बिहान ११ बजे बैठक बसेको थियो।

उनीहरूले ओली जेठ २ मा फर्कने कुराप्रति संवेदनशील बन्न नसकेको बताएका थिए। ‘प्रधानमन्त्री ओली र नेपालसहित बसेको बैठकमा गृहमन्त्री थापालाई २०७५ जेठ २ गतेको कमिटीले नचिन्ने बताउँदै त्यही बेलाको कमिटी ब्युँताउने स्थायी कमिटीको बैठक राख्ने र त्यहाँबाट अघि बढ्ने प्रतिबद्धतामा थापालाई छिराएर नेपाल पक्षलाई हेप्न खोजेका छन्,’ बैठकमा सहभागी एक सदस्यले भने।

शुक्रबार सिंहदरबारमा बसेको बैठकले २०७५ जेठ २ भन्दा अघिको एमालेलाई आधार मानेर अरू छलफल अघि बढाउने कुरा भएको र त्यसका लागि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर कार्यदल टुंग्याउने कुरा भएको भीम रावलले बताएका थिए।

‘प्रधानमन्त्री ओली र नेपालसहित बसेको बैठकमा गृहमन्त्री थापालाई २०७५ जेठ २ गतेको कमिटीले नचिन्ने बताउँदै त्यही बेलाको कमिटी ब्युँताउने स्थायी कमिटीको बैठक राख्ने र त्यहाँबाट अघि बढ्ने प्रतिबद्धतामा थापालाई छिराएर नेपाल पक्षलाई हेप्न खोजेका छन्।’

तर नेपाल पक्षको केन्द्रीय सदस्यहरूले थापासहितको बैठकमा सहभागी हुनु नै गलत भएको बताएका थिए। ‘आजको बैठकमा पार्टी अध्यक्ष ओलीले जे प्रतिबद्धता गर्नु भएको छ त्यो इमानदारीपूर्वक कार्यान्वयन गर्नुहुनेछ र पार्टी विवादरहित भएर जाने कुरा उठेको छ,’ केन्द्रीय सदस्य ठाकुर गैरेले बताए।

उनका अनुसार केही शंका उठेको हो कार्यदल बनाएर अघि बढ्ने कुरा छ, अब एकदुई दिनमै विषयहरू टुंगिने छ। २०७५ जेठ २ को अवस्थामा जस्ताको तस्तै फर्कने चरणबाट एमाले अघि बढेको र फेस सेभका लागि जेठ २ को आसपासबाट सहमति हुने एमाले स्रोतको दाबी छ।

प्रधानमन्त्री ओलीले नेपालसँग संवाद गर्न गृहमन्त्री थापालाई पनि सहभागी गराएपछि नेपाल पक्ष केही सशंकित बनेपछि शनिबार कार्यदल बन्न सकेन। शुक्रबारको बैठकमा सौहार्दपूर्ण वातावरणमा भए पनि के–के विषयमा केन्द्रित भए भन्नेबारे बाहिर आएको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .