ad ad

छापा खबर


शंकर पोखरेल : विश्वास जित्नुपर्ने भयले सातो गएका ‘बहुमत’का मुख्यमन्त्री!

शंकर पोखरेल : विश्वास जित्नुपर्ने भयले सातो गएका ‘बहुमत’का मुख्यमन्त्री!

नेपालखबर
जेठ २७, २०७८ बिहिबार १:५५,

१९ वैशाखमा राजीनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल उसैदिन आफ्नो दल नेकपा एमालेको एकल बहुमत दाबी गर्दै पुनः मुख्यमन्त्री नियुक्त भए। आफू संविधानको १६८ को १ अनुसार मुख्यमन्त्री चयन भएको उनको भनाइ छ।

उनको राजीनामा र पुनःनियुक्तिका कारण प्रदेशको राजनीतिमा निकै ठूलो फेरबदल आयो। उनकै पार्टीका प्रदेशसभा एक सदस्यले राजीनामा दिए भने अर्का एक सदस्य माओवादी केन्द्रमा लागे।

आफूलाई एकल दलको बहुमतका आधारमा मुख्यमन्त्री चयन गरिएको दाबी गरेका मुख्यमन्त्री पोखरेल अल्पमतमा परे। पछि कारबाहीमा परेका जनता समाजबादी पार्टीका ४ सांसदको पद सर्वोच्चले पुनर्वहाली गरिदिएपछि मुख्यमन्त्री अहिले बहुमतमा छन्।

एकल दलको बहुमतका आधारमा मुख्यमन्त्री बनेका मुख्यमन्त्री अहिले संविधानको १६८ को २ अनुसार (दुई वा दुई दलको साझेदारीमा) मुख्यमन्त्री बनेका छन्। सांसद पद पुनर्बहाली भएका जसपाका चारजना सांसदलाई उनले मन्त्री बनाएपछि उनी अब एकल दलको बहुमतका मुख्यमन्त्री रहँदैनन्। एकल बहुमतको मुख्यमन्त्री नबनेपछि मुख्यमन्त्रीले संसद्मा विश्वासको मत जित्नुपर्ने संवैधानिक व्यवस्था छ।

१९ वैशाखमा मुख्यमन्त्रीमा निर्वाचित भएका पोखरेलले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने मिति घर्किसकेको छ। संविधानतः उनले मुख्यमन्त्री निर्वाचित भएको ३० दिनभित्रमा विश्वासको मत लिइसक्नुपर्ने हो।

‘सरकारमा जसपा पनि सहभागी भएपछि मुख्यमन्त्रीजी अब एकल दलको बहुमतको हुनुहुन्न,’ कांग्रेसका प्रदेशसभा सदस्य शंकर गिरीले भने, ‘संविधानतः उहाँले विश्वासको मत लिनुपर्ने हो, तर उहाँले संविधान तोड्नु भएको छ।’ यो खबर आजको नागरिक दैनिकमा देवेन्द्र बस्नेतले लेखेका छन्।

त्यसो त, आफ्नो दाबीअनुसार शंकरलाई विश्वासको मत लिनका लागि गाह्रो भने देखिन्न। उनले दाबी गरेअनुसार उनको पक्षमा अहिले संसद्मा स्पष्ट बहुमत छ। प्रदेशसभा अहिले ८३ सदस्यीय छ। योमध्ये ३८ जना एमालेका सांसद छन् भने सरकारमा सहभागी भएका चारजना जसपाका सांसदसहित उनको पक्षमा बहुमत ४२ मत स्पष्ट देखिन्छ।

चार दलीय गठबन्धन अहिले अल्पमतमा अर्थात् ४० मतमा छ। तर आफ्नै दलभित्रका दुई सांसदले शंकरलाई विश्वासको मत दिनेमा पोखरेल ढुक्क छैनन्। यी दुई सांसद माधवकुमार नेपाल समूहका हुन्। ‘एकजना सांसद पनि उहाँको पक्षमा नरहे मुख्यमन्त्री अल्पमतमा पर्छन्,’ कांग्रेस सांसद गिरीले भने, ‘त्यही डरले मुख्यमन्त्री संविधानदेखि टाढा भागिरहेका छन्।’

त्यसो त, १७ जेठमा भएको राष्ट्रियसभाको उपनिर्वाचनले शंकरलाई विश्वासको मत लिनसक्ने हिम्मत कमजोर बनाइदिएको छ। राष्ट्रियसभाको उपनिर्वाचन परिणामले नेपाल समूहका २ सांसद आफ्नो पक्षमा नरहनेमा मुख्यमन्त्री स्पष्ट छन्।

दुईमध्ये नेपाल समूहका एकजनाले कांग्रेसलाई मतदान गरेको दाबी विपक्षी समूहले गरेको छ भने एकजनाले मत बदर गरिदिएका थिए। ‘विपक्षी गठबन्धनबाहेकका दुईजना सांसदमध्ये १ जनाले रुखमै मतदान गरेका छन् भने अर्को एकजनाले रुखमा र सूर्यमा मतदान गरेका थिए,’ नेकपा माओवादी केन्द्रका प्रदेश सांसद इन्द्रजित चौधरीले भने, ‘त्यो दुई मतनै नेपाल समूहकै हुनसक्छ।’

उनका अनुसार नेपाल समूहका दुईमध्ये एकजनाको भूमिका अहिले पनि के हुने भन्नेमा क्लियर हुन सकेको छैन। उनले दुईवटै चुनाव चिह्न मत हालेर मत बदर गरेको आँकलन विपक्षी गठबन्धनले गरेको छ।

तर नेपाल समूहको एक मत मात्रै पोखरेलको विपक्षमा रहे पनि उनले विश्वासको मत पाउन सक्दैनन्। नेपाल समूहको एक मत मात्रै विपक्षमा रहे पनि पोखरेलको मत ४१ मा झर्ने छ। यो अल्पमत हो। ‘मुख्यमन्त्रीजीको दाबीअनुसार त अहिले उहाँ बहुमतमा हुनुहुन्छ, उहाँसँग ४२ मत छ,’ प्रदेशसभा सदस्य चौधरीले भने, ‘तर कर्णालीको घटना (फ्लोर क्रस)ले मुख्यमन्त्रीको सातो खाइदिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .