ad ad

छापा खबर


काठमाडौंमै ७५ प्रहरी पोस्ट अझै टहरामा, बाहिरको अवस्था के होला?

काठमाडौंमै ७५ प्रहरी पोस्ट अझै टहरामा, बाहिरको अवस्था के होला?

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ०:३६,

१२ वैशाख ०७२ को भूकम्पले हनुमानढोकास्थित भवन क्षतिग्रस्त भएपछि महानगरीय प्रहरी परिसर ६ वर्षदेखि टेकुस्थित नेसनल ट्रेडिङको परिसरमा छ । आधा जनशक्ति नेसनल ट्रेडिङको भवनमा अटेको छ, आधा खुला चौरमा टेन्ट टाँगेर बसेको छ । भद्रकालीमा निर्माणाधीन भवन अहिलेसम्म ३० प्रतिशत मात्रै पूरा भएको छ।

वर्षा आयो कि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी तर्सिन्छन् । विष्णुमती खोलातर्फबाट ढल उर्लेर आउँछ, छेक्ने कसरी? प्रहरीको वास नै टेन्टमा छ । हो, भूकम्पका वेला चीन सरकारले राहतमा टेन्ट दिएको थियो, त्यही टेन्टको भरमा छ महागरीय प्रहरी कार्यालय टेकु ।

महानगरीय प्रहरीको मुख्य कार्यालय नै यही हालतमा छ भने अन्य प्रहरी कार्यालयको हालत के होला? हो राजधानीकै ७५ प्रहरी पोस्ट टेन्ट र जस्ताको टहरामा छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

१२ वैशाख ०७२ को भूकम्पले हनुमानढोकास्थित भवन क्षतिग्रस्त भएपछि महानगरीय प्रहरी परिसर ६ वर्षदेखि भवनविहीन छ । अहिले टेकुस्थित नेसनल ट्रेडिङ भएकै परिसरमा शरणमा छ । प्रहरी परिसरको आधा जनशक्ति नेसनल ट्रेडिङको भवनमा अटेको छ, आधा भने खुला चौरमा टेन्ट टाँगेर बसेको छ । डम्पिङसाइटछेउबाटै बग्ने ढल उर्लिएर प्रहरीलाई तर्साउँछ।

परिसर कार्यालय बीच भएर बग्ने ढलले प्रहरीलाई मात्र होइन, जब कोही सर्वसाधारण विभिन्न कामले पुग्छन्, त्यसवेला उनीहरूले पनि दुर्गन्ध सामना गर्नुपर्छ । ‘वैदेशिक रोजगारीमा आफन्त ठगिए, त्यसैले जाहेरी दिन टेकु आएको । प्रहरी कार्यालय छिर्न पाएको छैन, ढल गन्हाउन थाल्यो,’ परिसरको कार्यालयप्रति व्यंग्य गर्दै जडीबुटीका गोपाल राउतले भने, ‘महानगरीय प्रहरीको सेवा लिन अन्तर्राष्ट्रियस्तरका सेवाग्राही पनि आउँछन् । तर, यही ठाउँमा ढल गन्हाउँछ । यस्तो अवस्था हेर्दा नेपाल प्रहरीप्रति हेर्ने दृष्टिकोण उनीहरूको कस्तो हेला? अवस्था सोचनीय लग्छ।’

पानी रोकिएपछि घाम लाग्छ, सँगै ढल पनि आफ्नो बाटो लाग्छ । तर, ढलले बगाएर ल्याएको लेदो परिसरआसपास नै रहन्छन् । त्यसलाई जब घामले सुकाउँछ, धुलो बनाएर हुरीले बेस्सरी उडाउँछ । त्यसवेला परिसर नै कुइरीमण्डल बन्न पुग्छ । यो अवस्थाले प्रहरी र सेवाग्राही सबैको स्वास्थ्यमा गम्भीर चुनौती दिएको छ ।

भूकम्प गएको ६ वर्षसम्म पनि राजधानीकै प्रमुख प्रहरी परिसरको भवन ३० प्रतिशत मात्रै बनेको छ । ०७८ भदौभित्र सक्ने गरी भद्रकालीमा (नेपाल टेलिकमपछाडि) नेपाल प्रहरीको काठमाडौं परिसरको भवन बन्दै छ।

नेपाल आयल निगमसँग १५ रोपनी जग्गा किनेर प्रहरीले एक अर्ब ५५ करोड रुपैयाँमा भवन निर्माण गर्दै छ । तर, काम भने ३० प्रतिशत सकिएको छ । त्यसकारण टेकुस्थित नेसनल ट्रेडिङको भवनबाट काठमाडौं परिसरको कार्यालय सर्न अझै कम्तीमा दुई वर्ष लाग्नेछ।

महानगरीय प्रहरी वृत्त भने आफ्नै कार्यालयमा छन् । १४ वटा प्रहरी वृत्तमातहत ७५ प्रहरी पोस्ट छ, तर कुनै पनि पोस्टको भवन छैन । धेरैजसो पोस्ट टहरामा छन् । पालमुनिका पोस्टमा प्रहरी सुत्ने खाट र सेवाग्राही बस्ने कुर्सी हुन्छन् । यस्तै पोस्टमा रातदिन, हिउँद–बर्खा धान्छन् प्रहरी।

हरेक पोस्टमा हवल्दारको नेतृत्वमा ६ प्रहरी हुन्छन् । पोस्टमा न हतियार राख्ने ठाउँ छ, न सेवाग्राहीसँग छलफल गर्ने कक्ष नै । ठमेल, इन्द्रचोक, सुन्धारा, असन, टेबाहाल, भोटेबहालजस्ता घना सहरी क्षेत्रको सुरक्षा जिम्मा पाएको प्रहरी पोस्टको हालत अझ खराब छन् । किनकि ती क्षेत्रको सुरक्षा जिम्मा पाएको प्रहरी पोस्टका सबै कार्यालय साँघुरा टहराभित्र छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .