ad ad

छापा खबर


बाँकी १ करोड ९३ लाख ७३ हजार ७ सय ६३ नागरिकले कहिलेसम्म पाउँछन् कोरोनाविरुद्धको खोप?

बाँकी १ करोड ९३ लाख ७३ हजार ७ सय ६३ नागरिकले कहिलेसम्म पाउँछन् कोरोनाविरुद्धको खोप?

नेपालखबर
जेठ ३१, २०७८ सोमबार ०:४३,

कोरोना संक्रमण रोकथामको प्रभावकारी उपाय मानिएको कोरोनाविरुद्ध खोप अभियान अपेक्षित रूपमा अघि बढ्न सकेको छैन।

सरकारले राज्यसंयन्त्रका सबै अंगलाई कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि समन्वयत्मक र आक्रामक रूपमा परिचालन गर्न नसक्दा कोभिड नियन्त्रणमा अपेक्षित प्रगतिसमेत हुन नसकेको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

कोभिड नियन्त्रणमा प्रभावकारी मानिएको खोप लगाउने अभियानलाई समेत सरकारले व्यापक बनाउन सकेको छैन । जसका कारण खोपको आशा गर्दै बसिरहेका आमनागरिक समयमै खोप नपाउने चिन्ताले सताइन थालेका छन् । खोप लगाउन योग्य २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनामध्ये हालसम्म २३ लाख ८३ हजारले मात्रै खोप लगाउने अवसर पाएका छन् । बाँकी १ करोड ९३ लाख ७३ हजार ७ सय ६३ जना खोपको प्रतीक्षामा छन्।

सरकारले आगामी मंसिरसम्म खोप लगाउन योग्य सबै जनसंख्यालाई खोप लगाउने प्रतिबद्धता जनाएको थियो तर अहिलेसम्मको प्रगति हेर्दा सरकारको प्रतिबद्धता पूरा हुन कठिन देखिएको छ । खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका देशले खोप उपलब्ध गराउने सुनिश्चितता नजनाउँदा खोप अभियान अपेक्षा गरेअनुसार अघि बढ्न नसकेको हो । साथै खोप ल्याउन सरकारले आफ्ना संयन्त्रको समेत सशक्त परिचालन गर्न सकिरहेको देखिँदैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ लाख ९१ हजार ४ सय ९४ जनाले खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् । कोभिड–१९ खोपको लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउनुपर्नेहुन्छ । यसरी हेर्दा अनुमानित १ करोड ९३ लाख ७३ हजार ७ सय ६३ जना खोपबाट वञ्चित छन्।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको गत २८ जेठसम्मको तथ्याकंलाई आधार मान्दा २३ लाख ८३ हजार जनाले खोपको पहिलो मात्रा मात्रै लगाएका छन् ।

कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका करिब १३ लाख ५० हजार नागरिक दोस्रो डोजको प्रतीक्षामा छन् । भारत सरकारमार्फत खरिद गरिएको १० लाख डोज नआउँदा ती नागरिकले दोस्रो मात्रा लगाउन पाएका छैनन् । भारत सरकारले तत्काल खरिद गरिएको खोप उपलब्ध गराउन नसक्ने जनाएपछि खोप अभियान प्रभावित भएको हो।

सरकारले गत २३ फागुन गतेपछि देशभरमै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटबाट उत्पादित कोभिसिल्ड खोप लगाउन सुरु गरेको थियो । यस्तै, १४ जिल्लामा ५५ वर्ष माथिका व्यक्तिलाई पनि खोपको पहिलो डोज लगाइएको थियो । यद्यपि कोभिसिल्डको पहिलो मात्रा ९डोज० लगाएका व्यक्तिलाई दोस्रो डोजका रूपमा एस्ट्राजेनेका लगाइने भनिए पनि सो खोपको पनि कहिले आउने सुनिश्चित छैन ।

अब कोभिसिल्डको विकल्पमा एउटै प्रकृतिको एस्ट्राजेनेका खोप नेपाललाई प्राप्त भएपश्चात् १२ हप्तापछि पनि सो खोपलाई दोस्रो मात्राका रूपमा लगाउने व्यवस्था मिलाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तर, विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको ८ देखि १२ हप्ताभित्रमा दोस्रो डोज लगाइसक्नुपर्नेहुन्छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा। तारानाथ पोखरेलले खोप उपलब्धताका लागि विभिन्न देशलाई आग्रह गरे पनि खोप आउने सुनिश्चितता अझै नभएको बताए । डा.पोखरेलले भने, ‘अहिलेसम्म कुनै देशबाट पनि खोप उपलब्धताको सुनिश्चितता पाएका छैनौं । हाल चीन सरकारले उपलब्ध गराएको भेरोसिल खोप जेष्ठ नागरिकलाई लगाउने कार्य जारी छ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले खोप आयातका लागि कूटनीतिक रूपमा पहल भइरहेको बताए।

स्वास्थ्य मन्त्रालयले कोरोना खोपका लागि ४ खोप उत्पादक कम्पनीलाई पत्राचार गरेको थियो । नेपालमा दर्ता भएका कोभिसिल्ड, कोभ्याक्सिन, चिनियाँ खोप भेरोसेल, अमेरिकामा उत्पादन भएको खोप जोन्सन एन्ड जोन्सनलाई ५० लाख डोज खोप खरिदका लागि पत्राचार गरे पनि ठोस परिणाम आउन सकेको छैन ।

हालसम्म ४१ लाख ४८ हजार कोरोनाविरुद्धको खोप भित्रिएको छ । भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा, खरिद गरिएको १० लाख मात्रा खोप नेपाल भित्रिएको छ । यस्तै, चीन सरकारले अनुदानमा उपलब्ध गराएको १८ लाख मात्रा र कोभ्याक्स फ्यासिलिटीअन्तर्गत ३ लाख ४८ हजार मात्रा खोप नेपाल आएको छ ।

कोभ्याक्सले नेपालको खोप लगाउने जनसंख्यामध्ये २० प्रतिशतलाई पुग्नेगरी १ करोड ३० लाख डोज खोप उपलब्ध गराउनुपर्ने भए पनि यसबारे ठोस परिणाम निस्किन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .