छापा खबर


अरूलाई तपाईं, दलितलाई तिमी!

अरूलाई तपाईं, दलितलाई तिमी!

नेपालखबर
भदौ ६, २०७६ शुक्रबार ५:३९,

वडाध्यक्षले अरूलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारको चित्तदुखाइ छ।

‘निर्वाचित हुनुअघि वडाध्यक्षसँग खासै चिनजान र हेलमेल पनि थिएन,’ उनले भनिन्, ‘उहाँ अरू सबै सदस्यलाई तपाईं भन्नुहुन्छ, मलार्ई भने ‘तिमी’ भन्नुहुन्छ ।’ आफू दलित भएकैले हेपेर सम्बोधनमा विभेद गरिएको उनको बुझाइ छ।

वडाध्यक्ष प्रकाश पौडेलले आफूहरूसँग सरसल्लाह नै नगरी काम गर्ने गरेको समेत परियारले गुनासो गरिन्। परियारका अनुसार दलित विद्यार्थीलाई पोसाक वितरण कार्यक्रमको उनी संयोजक थिइन्।

वडामा १ लाख रुपैयाँबराबरको विद्यालय पोसाक बाँड्ने योजना थियो । ‘महानगरका महिला जनप्रतिनिधिको टोली ५ नम्बर प्रदेश भ्रमणमा निस्किएका बेला मलाई थाहै नदिई वडाध्यक्षले पोसाक बाँड्नुभएछ,’ उनले सुनाइन्। यो खबर आजको कान्तिपुरमा दीपक परियारले लेखेका छन्।

वडाध्यक्ष पौडेल भने दलित महिला जनप्रतिनिधिप्रति कुनै पूर्वाग्रह नराखेको दाबी गर्छन्। भन्छन्, ‘उहाँ आफैं जिम्मेवार हुनुहुन्छ, मैले त्यस्तो केही सोचेको छैन्। सुधार गर्नुपर्ने रहेछ भने गर्छु ।’ व्यक्तिभन्दा कार्यक्रम मुख्य भएकाले परियारको अनुपस्थितिमा पोसाक वितरण गरेको उनले बताए।

पोखरा–१७ की सदस्य तारा सेवा परियारले आफूमाथि समेत जातीय विभेद हुने गरेको सुनाइन्।

‘एउटा सहकारीको कार्यक्रममा पौडेल थरका अतिथिलाई खादा लगाइदिँदा छोइन्छ कि झैं गर्नुभयो,’ उनले भनिन्, ‘जनप्रतिनिधिलाई त त्यस्तो व्यवहार गरिन्छ भने अरूलाई कुन हदसम्म विभेद हुन्छ होला ?’ वडाध्यक्षले अप्ठेरो काम दलित महिला सदस्यलाई सुम्पिने गरेको पोखरा–१२ की सदस्य विष्णु विश्वकर्माले अनुभव सुनाइन्।

‘झैझगडा, विवाद मिलाउने काममा हामीलाई खटाइन्छ,’ उनले भनिन्, ‘सम्मान थाप्ने, अतिथि बन्ने कार्यक्रममा अरू सदस्यलाई पठाइन्छ।’

पोखरा–१ की सदस्य प्रेमदेवी परियार दलित महिलाले महानगरमा लगेका योजनामा सुनुवाइ नहुने गरेको बताइन्। पोखरा–८ की सदस्य लक्ष्मी कौशलको उस्तै गुनासो छ।

‘दलित भएकैले वडामा मेरो कुरा सुनुवाइ हुँदैन,’ उनले भनिन्, ‘मुलुकमा यत्रो परिवर्तन हुँदा पनि दलितलाई हेर्ने दृष्टिकोण अझै उस्तै छ ।’ पोखरा–१० की सदस्य प्रतिभा विकले दलितलाई कर्मचारीसमेतले हेप्ने गरेको बताउँछिन् । आफू र अन्य सदस्यलाई कर्मचारीले गर्ने व्यवहारमा फरक पाएको उनको अनुभव छ । ‘कर्मचारीले वडाध्यक्ष र अरू सदस्यलाई देख्नेबित्तिकै फूर्तिसाथ नमस्कार गर्छन्,’ उनले सुनाइन्, ‘हामीतिर आउँदा जाँगर चलाएर नमस्कार गर्दैनन्। एकछिन टोलाएर बल्ल नमस्कार गर्छन् ।’

पोखरा–५ की सदस्य हरिमाया विश्वकर्माको अनुभव भने फरक छ । उनले वडामा दलित महिला अनिवार्य गर्दा केही दलित पुरुषमा डाहको भाव देखिएको अनुभव सुनाइन् । भनिन्, ‘यत्रो वर्ष हामीले राजनीति गर्‍यौं । अहिले महिलालाई दिए भन्ने खालको गुनासो दलित दाजुभाइबाटै सुनिन्छ।’

पोखरा–५ का अध्यक्ष एवं महानगरका प्रवक्ता धनबहादुर नेपाली पनि दलितप्रतिको संकीर्ण सोच अझै कायम रहेको स्विकार्छन् । दलित जनप्रतिनिधिको क्षमतामाथि विश्वास नगर्ने प्रवृत्ति देशैभरि रहेको उनको भनाइ छ । ‘कहीँ देखिने गरेर, कहीँ नदेखिने गरेर जनप्रतिनिधिमाथि विभेद भइरहेकै छ,’ उनले भने, ‘सिधैसिधै भन्दा पनि नजानिँदो, नदेखिएकोझैं गरी प्रकट हुन्छन्।’

आफूले पनि अप्रत्यक्ष रूपमा विभेद भोग्नुपरेको उनले बताए । ‘समाज विस्तारै परिवर्तन हुँदै गए पनि व्यक्ति–व्यक्तिमा भएको भेदभावजन्य मनोविज्ञान हटाउन सक्नुपर्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad