ad ad

छापा खबर


नबिल बैंकले यसरी थाहा पायो एटीएमबाट पैसा चाेरिँदै गरेको

नबिल बैंकले यसरी थाहा पायो एटीएमबाट पैसा चाेरिँदै गरेको

नेपालखबर
भदौ १६, २०७६ सोमबार १:११,

बैंकले एटीएममा पैसा अभाव नहोस् र केही प्राविधिक गडबढी भए त्यसलाई तत्काल समाधान गर्न सकियोस् भनेर सार्वजनिक बिदाको दिनसमेत २४ घण्टै आफ्ना कर्मचारीलाई खटाएको हुन्छ।

त्यतिबेला नबिल बैंकले पनि आफ्ना कर्मचारी खटाएको थियो । बैंकले शनिबार बिदा पर्ने भएकाले शुक्रबार एटीएममा आइतबारसम्मलाई पुग्ने गरी पैसा हालेको हुन्छ। तर, शनिबार नै नबिल बैंकको कमलादीका दुवै एटीएम खाली भएको देखियो। अस्वाभाविक रूपमा एटीएममा पैसा सकिएपछि त्यहाँ खटिएका कर्मचारीले आफ्नो सुपरभाइजरलाई खबर गरेका थिए।

सुपरभाइजर अफिस आएर हेर्दा प्रभु बैंकको १२/१३ वटा कार्डबाट धमाधम पैसा झिकिएको देखियो। त्यसपछि बैंकले सीसीटीभी क्यामराको फुटेज हे¥यो। सोही समय एनआईसी एसिया, जनता, ग्लोबल आईएमई र सनराइज बैंकको पनि कार्ड घोटिएको देखिएको छ। सीसीटीभीमा स्कुल जाने ब्याग जस्तोमा पैसा झिक्दै हालेको देखियो। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।

उनीहरू विदेशी भएको त्यसैबेला थाहा भयो । कमलादी शाखाबाट पैसा झिकेका ती व्यक्ति नै नबिल बैंकको दरबारमार्ग तीनधारास्थित केन्द्रीय कार्यालयमा पनि आएर पैसा झिक्न थालेका थिए। त्यसबेला सीसीटीभी लाइभ थियो। लाइभमै तिनीहरूले पैसा झिकेको थाहा भएपछि बैंकले सुरक्षा गार्डलाई प्रयोग गरेर एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।

सो समय यस घटनाको रिपोर्टिङ अरू बैंकलाई समेत भइसकेको थियो । प्रभु बैंकले थाहा पाउनेबित्तिकै सबैभन्दा पहिले प्रहरीलाई खबर ग¥यो। त्यसपछि अन्य चार जना होटलबाट पक्राउ परेका थिए। उनीहरूको साथबाट १ करोड ४० लाख रुपैयाँ बरामद गरिएको थियो । अझै केही चिनियाँ फरार रहेको प्रहरीको अनुमान छ। त्यसपछि तत्काल नबिल बैंकले प्रभु बैंकको कार्ड प्रोसेस गर्ने नेप्सलाई पनि खबर गरिदियो।

नबिल बैंकका कर्मचारीले एटीएम खाली भएको विषयलाई सामान्य रूपमा हेरेको भए मात्र पनि यो घटनाबारे आइतबार दिउँसो मात्र थाहा हुन्थ्यो । कर्मचारीले तत्कालै किन भयो भनेर हेरेका कारण बैंकहरूबाट थप पैसा निस्किन पाएन। नबिलको एटीएमबाट करिब ७० लाख रुपैयाँ जति पैसा निकालिएको छ । बाँकी पैसा अन्य बैंकबाट निकालिएको छ।

प्रहरीको अनुसन्धानमा पक्राउ परेकाहरू मुख्य योजनाकार होइनन् । उनीहरूले लुटेको पैसामा १० प्रतिशत कमिसन पाउने समझदारी भएको देखिन्छ । नेपाली पैसा लुटेर त्यसलाई डलरमा परिवर्तन गर्ने काममा भने केही नेपाली पनि संलग्न हुन सक्ने अनुसन्धानमा देखिएको छ । पैसा लुटेपछि केहीले भने विभिन्न मनिचेन्जरमा गएर सटही गर्ने कामसमेत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .