छापा खबर


तीजमा गरगहना चाहिन्न बरिलै...

तीजमा गरगहना चाहिन्न बरिलै...

नेपालखबर
भदौ १६, २०७६ सोमबार २:५८,

यसपालि रूपन्देहीका तीज मिलन कार्यक्रम गरगहनारहित छन् । तीजको रमझमका बेला गरगहना र महँगा पहिरनमा कमै महिला देखिए ।

घाँटीमा सादा पोते वा पत्थरका माला सजिए । कान र हातमा पनि सुनचाँदी देखिएन । सिसा वा पत्थरकै चुरा देखिए । अगुवाले थालेको अभियानमा सर्वसाधारणले साथ दिए ।

यो खबर आजको कान्तिपुर दैनिकमा बुटवलबाट अमृता अनमोलले लेखेकी छन्।

तिलोत्तमा नगरपालिकाकी अगुवा देवी वाग्लेले गरगहनारहित तीजको सुरुवात गरेकी हुन् । साउने संक्रान्तिलगत्तै उनले फेसबुकमा
स्ट्याटस राखिन्, ‘यसपालि तीजलाई गरगहना र महँगा साडीरहित बनाऔं । तपाईंले साथ दिनुहुन्छ ?’ उनको स्ट्याटसमा एक हजारभन्दा बढी महिलाले समर्थन जनाएका थिए।

त्यसयता संघसंस्थाले तीज मिलन र दर कार्यक्रम गरगहनारहित बनाएका हुन् ।

‘तीज सबै वर्गका महिलाका लागि खाने, खुवाउने, रम्ने, रमाउने, खुसी हुने र अधिकार लिने पर्व हो,’ देवीले भनिन्, ‘गरगहनाको बढ्दो प्रयोगले विपन्नलाई अप्ठेरो नपरोस् भनेर गरगहनारहित अभियान थाल्ने योजना बनेको हो ।’ यहाँ आयोजित तीज मिलन कार्यक्रमा आएका सहभागी कसैले गरगहना लगाएनन् ।

सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष निरु गौतमले भनिन्, ‘गहनाकै कारण आलोचित हुनुहुन्न भनेर अभियान थालेका हौं ।’ यहाँ १ सय २५ महिलाले सञ्चालन गरेको रेडियो मुक्ति छ।

यसअघि हरेक वर्ष प्रतियोगिता गरेर तीज मनाउने गर्थ्यो । यसपालि गरगहनारहित तीज बनाउने अभियान सफल पार्न भन्दै तीज मिलन तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्‍यो ।

मन्त्री, सांसद, जनप्रतिनिधि, अगुवा महिला, सामाजिक अभियन्ता र सर्वसाधारण भेला गर्‍यो । त्यसमा परम्परादेखि महिला सशक्तीकरण र चेतना प्रवाहका लागि तीजले खेलेकोभूमिकाबारे चर्चा भयो ।

रेडियो जागरणले एक साताअघि आयोजना गरेको कार्यक्रम तथा प्रतियोगितामा गरगहनारहित तीज हुनुपर्नेमा सहभागीले जोड दिए ।

‘महिला सशक्तीकरणको उच्च विन्दुमा पुगेपछि महँगा गरगहना र भडकिला लुगा लगाउन आफैं छोड्ने छन्,’ तीज विशेष कार्यक्रमकी संयोजक रिमा बीसीले भनिन्, ‘त्यस बेलासम्मका लागि तीजलाई साधारण, मौलिक र सबैले मनाउन सक्ने बनाउन गरगहना त्यागौं, तीज मनाऔं अभियान चलाएका हौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad