छापा खबर


साँझ परेसँगै टिपरको कब्जामा पर्छ काठमाडौं !

साँझ परेसँगै टिपरको कब्जामा पर्छ काठमाडौं !

नेपालखबर
भदौ २८, २०७६ शनिबार २:९,

भदौ ८ गते रातको १० बज्दै थियो, सडकमा त्यति चाप थिएन।

पुछाङ भोटे अफिसको काम सकेर तीनकुनेबाट बा३८प २३९३ नम्बरको बाइकमा बिस्तारै जोरपाटीतिर लागे। तर उनको यात्रा बीचमै टुंगियो। सडक कब्जा गरेर अन्धाधुन्ध हुइँकिएको टिपरको निर्मम सिकार बने उनी।

तीनकुनेबाट गौशाला जाँदै गरेको बा३ख ४३१७ नम्बरको टिपरले सिनामंगलमा उनको मोटरसाइकललाई ठक्कर दियो।

मोटरसाइकल कच्याककुचुक भयो, संखुवासभा भोटखोलाका पुछाङ पनि घटनास्थलबाट जिउँदो उठ्न सकेनन्। अन्य दुईवटा मोटरसाइकलमा सवार चार जनासमेत गम्भीर घाइते भए।

‘टिपरले मोटरसाइकललाई कुल्चिनेबित्तिकै सडकका अन्य सवारी अनियन्त्रित भए र अरू दुइटा मोटरसाइकल पनि त्यहाँ आएर ठोक्किए’, महानगरीय ट्राफिक प्रहरीका एसपी रविकुमार पौडेलले भने, ‘टिपर अग्लो हुने भएकाले पछिल्लोपटक ठोकिएका मोटरसाइकल पनि सजिलैसँग चक्काको भित्र परे।’

टिपरको अन्धाधुन्ध गतिले निम्त्याएको सडक दुर्घटना यो पहिलो भने होइन। बितेका ८ वर्षको तथ्यांक हर्ने हो भने प्रत्येक वर्ष टिपर जोडिएका दुर्घटना बढेको बढ्यै छन्।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार आव ०६९र०७० मा काठमाडौं उपत्यकामा मात्र ६९९ वटा दुर्घटनामा टिपर र टिपरजस्ता ठूला सवारी जोडिएको देखिन्छन्।

सडक दुर्घटना बढ्न थालेपछि काठमाडौं उपत्यकाभित्र दिउँसो टिपर चलाउन रोक लगाइएको छ। तर पनि टिपरका कारण हुने दुर्घटनामा कमी आएको छैन।

०७५ असारमा गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो टिपर चलाउन नदिन निर्देशन दिएको थियो। गृहको निर्देशनअनुसार अहिले राति ७ बजेदेखि बिहानसम्म ७ बजेसम्म मात्रै रिङरोडभित्र टिपरले प्रवेश पाउँछन्।

निर्माण कार्यका लागि उपत्यकाबाहिरबाट रोडा, बालुवा, इँटा र ढुंगा बोकेका टिपर बिहान ७ बजेदेखि बेलुकी सात बजेसम्म उपत्यका भित्रिने नाकाममै रोकिने गरेका छन्। साँझ ७ बजेपछि ती टिपर अन्धाधुन्ध गतिमा हुइँकिन्छन्।

नेपाल यातायात व्यवसायी महासंघ मालवाहक सेक्टरका अनुसार काठमाडौं उपत्यकामा दैनिक २ हजार हाराहारीमा टिपर भित्रिने गरेका छन्।

धादिङको बेल्खुबाट बालुवा बोकेर आउने थानकोटबाट उपत्यका भित्रिन्छन्। काभ्रेको बनेपा हुँदै रोडा र बालुवा बोकेर आउन टिपर साँगाबाट भित्रिने गरेका छन्।

उपत्यका भित्रिएपछि चालकहरू होसियार नभएकै कारण दुर्घटना बढेको यातायात इन्जिनियर आशीष गजुरेल बताउँछन्।

यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा आकाश क्षेत्रीले लेखेका छन्।

गजुरेलका अनुसार उपत्यकाबाहिर जुन तरिकाले टिपर चलाइन्छ यहाँ पनि यति तरिकाले चलाउँदा दुर्घटना घट्न सकेका छैनन्।

‘एकातिर हाम्रा सडक पनि साना छन्, अर्कोतर्फ जुनसुकै सहरको सडकमा भीडभाड हुन्छ नै, जति भीड भयो चालक त्यति नै चनाखो र होसियार हुनुपर्छ तर यहाँ चालक होसियार भएको देखिएन’, गजुरेल भन्छन्, ‘यसमा बढी चालकको नै कमजोरी छ तर सबै गल्ती उसको पनि होइन। यहाँ दुर्घटनाका कारण अरू पनि छन्।’

चालकले अन्धाधुन्ध गतिमा टिपर चलाएका कारण सडकमा चल्ने अन्य सवारी पनि छेउ लाग्ने गरेको महानगरीय प्रहरी परिसरका डीएसपी होबिन्द्र बोगटी बताउँछन्।

उनका अनुसार यही गतिका कारण चेक पोस्टमा बसेका प्रहरीलाई समेत समस्या भएको छ। ‘परतिर टिपर हुइँकिएको देखेपछि गाडी–मोटरसाइकल यतै साइड लगाउँछन्।

चालकहरू अनकन्ट्रोल भएर टिपर चलाउने प्रवृत्ति देखिन्छ। प्रहरीको चेकपोस्टमा समेत रोकिँदैनन्’, बोगटी भन्छन्, ‘उपत्यकाबाहिरबाट आएकाले नम्बर प्लेटमा हिलो लागेको हुन्छ त्यसैकारण गाडी नम्बर ड्युटीमा बसेका प्रहरीले बुझ्न सक्दैनन् र सीसीटीभीले पनि क्याप्चर गर्न सक्दैन।’

कतिपय दुर्घटना टिपरको बनावटका कारणसमेत हुने गरेको इन्जिनियर गजुरेल बुझाइ छ।

उनका अनुसार टिपरको उचाइ स्वाभाविक भन्दा अग्लो हुने भएकाले सामान्य ठक्करमा पनि मोटरसाइकल तथा स्कुटर सीधै पांग्रामुनि छिर्छन्। ‘टिपर हेबी हुने भएकाले यो चलाउन पनि गाह्रो छ,’ उनले भने, ‘चालकले टिपर चलाउँदा दायाँबायाँ स्पष्ट देख्दैन। त्यसैले पनि टिपरले बढी दुर्घटना गराएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad