छापा खबर


३०९ प्रतिशतसम्म बढ्यो तरकारीको भाउ, किन हुँदैछ यस्तो?

३०९ प्रतिशतसम्म बढ्यो तरकारीको भाउ, किन हुँदैछ यस्तो?

नेपालखबर
असोज ३, २०७६ शुक्रबार १:१८,

२६ भदौमा प्रतिकिलो ५५ रुपैयाँमा बिक्री भएको हरियो प्याजको मूल्य एक सातामै ३०९ प्रतिशतले महँगिएर बिहीबार २२५ रुपैयाँ पुगेको छ।

त्यस्तै, प्रतिकिलो २४५ रुपैयाँमा कारोबार भएको हरियो धनियाँको मूल्य ११० प्रतिशतले बढेर ५१५ रुपैयाँमा बिक्री भएको छ।

केही दिनसम्म लगातार परेको झरीका कारण हरियो तरकारीको भाउ आकासिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

अहिले तराईका उत्पादन नआएको, अफ सिजन तरकारीले बजार धानेको र सोह्रश्राद्धका कारण माग बढेकाले पनि हरियो तरकारीको मूल्य ह्वात्तै उकालो लागेको व्यवसायीले बताएका खबर आजको नयाँ पत्रिका दैनिकमा अजित अधिकारीले लेखेका छन्।

‘यतिवेला तराईको उत्पादन आएको छैन । भारतीय र उपत्यकाआसपासका जिल्लाबाट आपूर्ति भइरहेको छ,’ तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘अर्कातिर सोह्रश्राद्धमा भएको उच्च मागको असर मूल्यमा देखिएको हो।’

तर, उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना भने प्रभावकारी अनुगमन अभावमा बजारमा तरकारीलगायत दैनिक उपभोग्य वस्तुको भाउ वृद्धि हुन थालेको दाबी गर्छन् । सरकारले मूल्यवृद्धि नियन्त्रणमा चासो नदिएको उनको गुनासो छ।

किसान र उपभोक्तालाई मार, बिचौलिया मालामाल
उपत्यकामा तरकारीको मूल्य ह्वात्तै बढे पनि दश नग्रा खियाएर उत्पादन गर्ने किसानले सस्तो मूल्यमै बेचिरहेका छन् । उपभोक्ता भान्सा–भान्सामा ठगिएका छन् । किसान र उपभोक्ता मारमा पर्दा बिचौलिया भने मालामाल भएका छन्।

किसानको बारीमै पुगेर संकलन केन्द्रका व्यापारीले तरकारी उठाउँछन् । यस्ता संकलन केन्द्रका व्यापारीले धेरै किसानको तरकारी नियमित रूपमा खरिद गर्ने गरेका छन् । संकलन केन्द्रमा तरकारी दिए पनि किसानले कति मूल्य पाउने भन्ने थाहा पाउँदैनन् ।

संकलन केन्द्रका व्यापारीले कालिमाटी बजारमा कुन भाउमा बिक्री हुन्छ, त्यसैका आधारमा मूल्य दिने भनेर किसानबाट उधारोमा तरकारी किन्छन् ।

चामल बोरामा ५० रुपैयाँ बढ्यो
चामलको मूल्य पनि पछिल्लो एक सातामा प्रतिबोरा ५० रुपैयाँले बढेको छ । खुद्रा व्याापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सबै प्रकारको चामलको मूल्य समान वृद्धि भएको छ । चामल आयात बिन्दुमै मूल्य बढेकाले खुद्रा मूल्य पनि बढेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad