छापा खबर


महरा प्रकरण : रोशनीले नबताएको कथा

महरा प्रकरण : रोशनीले नबताएको कथा

नेपालखबर
असोज १७, २०७६ शुक्रबार ०:४३,

२०६८ सालमा दुर्घटनामा परेर आमाले संसार छाड्दा उनलाई ठूलो शोक पर्‍याे। त्यसैका असरले उनी गम्भीर डिप्रेसनको सिकार भइन्, औषधि खान थालिन्। निद्रा लाग्ने औषधि खान थालेको पनि त्यतिबेलै हो।

बिमारकै कारण उनको स्वभावमा बारम्बार अदलबदल आइरह्यो। कहिले कसैसँग बोलिनन्, कहिले सबैसँग झगडा गरिन्। घरमा धेरै सामान फुटे, संसद् सचिवालयका सहकर्मी रुष्ट हुँदै गए, आफन्त, नातेदार टाढिँदै गए। गहिरो प्रेममा परेर बिहे गरेका श्रीमान्को माया पनि उनी डिप्रेसनमा गएपछि बिस्तारै तैरिँदै तैरिँदै किनारा लाग्यो।

‘म त एक्ली छु, बाँच्नै मन लाग्दैन, मर्छु भनेर दुईपटक कोसिस गरें, मरिनँ,’ रोशनी शाहीले यसो भनिरहँदा अनुहार भावशून्य थियो।

सोधें के भएको थियो त्यो रात? उनको भारी मन तौलिएर मात्रै कुरा बाहिर निकाल्ने अभ्यस्त भइसकेको रहेछ। भनिन्, ‘मैले धेरै औषधि खाएँ, औषधिसँगै भोड्का पनि खाएँ, के गरिरहेको थिएँ, म आफैंलाई थाहा छैन।’ उनले त्यो रात आफू घरमा एक्लै भएको जिकिर बारम्बार गरिरहिन्।

‘तर सीसीटीभी फुटेजले महराजी यहीं आएको देखाएको छ,’ मेरो यो कुरा सुनेपछि रोशनी एकछिन् झस्किइन्, टोलाइन् र केही बेरपछि भनिन्,‘हो र?’ कोठामा फेरि सन्नाटा छायो।

सन्नाटा चिर्दै उनले भनिन्, ‘तर उहाँले मलाई बलात्कार गर्नुभएको हैन।’ खाेजबिनले त्यस दिन कृष्णबहादुर महरा उनको घरमा गएको पुष्टि भइसकेको छ।

घटना भएपछि रोशनीले प्रहरीमा उजुरी गर्नका लागि तनहुँ पुगेका श्रीमान् फर्किने दिनसम्म कुरेकी थिइन्। तर बिचौलियाहरू यसरी सलबलाए कि श्रीमान् फर्किनुअगावै रोशीनले आफ्ना कुरा फेर्नुपर्ने परिस्थिति उत्पन्न भयो।

‘मलाई मंगलबार बिहान सेभ नभएको नम्बरबाट फोन आएको थियो, यो घटनाबारे अरू बोलिस् भने तेरो र तेरो श्रीमानकाे ज्यान बँच्दैन भनेको थियो,’ रोशनीले भनेको यो कुराको रेकर्ड हामीसँग सुरक्षित छ। यो खबर आजको कान्तिपुरमा बिनु सुवेदीले विस्तृत रूपमा लेखेकी छन्।

त्यसपछि दिनभर उनको मोबाइल अफ भयो। जब रोशनी सार्वजनिक भइन्, कुरा फेरिन्। त्यसपछिको दिनचर्या उनको वशमा छैन।

घटनाले हलचल ल्याएको यतिका दिन हुँदा पनि अमेरिकामा रहेका छोराछोरीले रोशनीलाई फोन गरेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad