ग्लोबल


ट्रम्पको आरोप: इरानले हर्मुजमा जहाजमा हमला गरेर युद्धविराम उल्लंघन गर्‍यो

ट्रम्पको आरोप: इरानले हर्मुजमा जहाजमा हमला गरेर युद्धविराम उल्लंघन गर्‍यो

नेपालखबर
असार १३, २०८३ शनिबार ५:५६, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुजमा जहाजमा आक्रमण गरेको आरोप लगाएका छन्। 

शुक्रबार उनले ट्रुथ सोसलमा लेख्दै इरानले बिहीबार स्ट्रेट अफ हर्मुज पार गरिरहेको जहाजमा हमला गरेको दाबी गरेका हुन्। 

उनले लेखेका छन्, ‘इरानले स्ट्रेट अफ हर्मुज पार गरिरहेको जहाजमा कम्तीमा चार ड्रोन प्रहार गर्‍यो। तीमध्ये एउटाले सिधै ठुलो र धेरै महँगो मालवाहक जहाजको माथिल्लो भागमा हान्यो।’

उनले अगाडि लेखेका छन्, ‘आक्रमणले जहाजमा क्षति भयो, तर आफ्नो यात्रा जारी राख्न सक्षम भयो। हामीले अन्य तीन ड्रोन खसाल्यौँ। यो स्पष्ट रूपमा हाम्रो युद्धविराम सम्झौताको मूर्खतापूर्ण उल्लंघन हो।’

बेलायतको समुद्री सुरक्षा एजेन्सी यूके मेरिटाइम ट्रेड अपरेसनका अनुसार ओमानी बन्दरगाह दहितबाट लगभग ७.५ समुद्री माइल दक्षिणपूर्वमा बिहीबार एक अज्ञात प्रक्षेपणले मालवाहक जहाजमा प्रहार गरेको थियो। यद्यपि घटनामा कुनै हताहत भएन।

समुद्री सुरक्षा कम्पनी भ्यानगार्डका अनुसार सिंगापुरको झन्डा भएको मालवाहक जहाज एभर लभ्लीमा आक्रमण गरिएको हो। तर पनि जहाज सुरक्षित रूपमा स्ट्रेट अफ हर्मुज पार गर्न सफल भयो र कुनै सहयोगको आवश्यकता परेन।

अमेरिका-इजरायल र इरानबिच जारी द्वन्द्वका कारण फेब्रुअरीदेखि खाडी क्षेत्रमा सयौँ जहाज र हजारौँ नाविक अलपत्र परेका छन्।

संयुक्त राष्ट्रसंघले मंगलबार हर्मुज स्ट्रेट पुनः खुलेपछि उद्धार सुरु गर्ने घोषणा गरेको थियो। तर बिहीबारको आक्रमणपछि यो स्थगन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad