कला


संगीतले उनेको महेश-अस्मिताको जोडी : नाम-दाम सबै सकियो भने पनि हामीलाई मायाले बाँधेर राख्नेछ (भिडिओ)


अनिल यादव
असार १२ , काठमाडौँ

दुई बेग्लै स्वर, तर एउटै प्रेमिल धुन– महेश काफ्ले र अस्मिता अधिकारी। संगीतको मसीले लेखिएको उनीहरूको प्रेमकथा आज एउटा न्यानो घर र साझा जिन्दगीको एउटै लयमा गुञ्जिरहेको छ। 

दुबईको आकाश छुने बुर्ज खलिफाको अगाडि, जहाँ हजारौँ सपनाहरू सजिएका हुन्छन्, त्यहाँ एउटा यस्तो पल सिर्जना भयो, जसले यो जोडीको जीवनलाई सधैँका लागि बदलिदियो। बिना कुनै योजना, केवल भावनाको एउटा वेगमा जब महेशले अस्मिताका अगाडि हात फैलाए, त्यो औँठी साटासाट मात्र थिएन, त्यो दुईवटा सांगीतिक प्राणहरूको मिलन थियो।

महेशको संगीतमा एउटा अलग अर्ग्यानिक स्वाद पाइन्छ। यसको पछाडि उनको पारिवारिक पृष्ठभूमि छ। उनका पिता भोजराज काफ्ले रेडियो नेपालका स्थापित गायक थिए। 

महेश भन्छन्, ‘मलाई कला क्षेत्रमा ल्याएको मेरो बुबाले नै हो। बुबाको गीत सुनेपछि नै म संगीततर्फ आकर्षित भएको हुँ।’

महेशको बुझाइमा संगीत केबल हिट हुनका लागि गरिँदैन, यो त एउटा इमानदार अभिव्यक्ति हो। सुरुका दिनमा हिट हुने चाहना भए पनि अहिले उनमा एउटा परिपक्वता आएको छ। 

भन्छन्, ‘अहिले मलाई हिटभन्दा पनि इमानदार अभिव्यक्ति मन पर्न थालेको छ। संगीतमा जब आफ्नो वास्तविक भावना आउँछ, त्यो आफैँ लोकप्रिय हुँदोरहेछ।’

नेपालखबर सो ‘लेट्स टक’मा आइपुगेको यो चर्चित जोडी यतिखेर आफ्नो नयाँ गीत ‘कटर कटरमा, तिम्रो सुहाउँदो ज्वाइँ आयो मोटरमा’ गीतको प्रचारमा व्यस्त छ। यो राम थापा र तारा थापाको कालजयी गीतको रिमेक हो। कुनै पनि पुराना मास्टरपिसलाई चलाउनु आफैँमा चुनौतीपूर्ण रहेको महेश स्वीकार्छन्। 

‘ओरिजिनल जस्तो त कसैले गर्न सक्दैन, तर हामीले एउटा नयाँ स्वाद दिने कोसिस गरेका छौँ,’ महेशले भने। 

अस्मिता र महेशको पहिलो भेटको कथा निकै रोचक छ। जी–२१ डिजिटलमा एउटा गीतको रेकर्डिङका क्रममा उनीहरू पहिलोपटक आमने–सामने भएका थिए। 

‘नेपाल आइडलमा जानुअघि नै मैले उहाँका गीतहरू सुनेकी थिएँ। ‘नाच फिरिरी’ मलाई खुब मन पर्थ्यो। आइडलमा गाउने लिस्टमा राखेकी पनि थिएँ तर मिलेन,’ अस्मिताले भनिन्। 

महेशलाई भने सुरुमा अस्मिता एउटी ‘सानी नानी’ जस्ती लागेकी थिइन्। तर, जब सहकार्य बढ्दै गयो, सांगीतिक धुनहरूले उनीहरूको मनलाई पनि जोड्दै लग्यो। ‘लज्जावती झार’ गीतपछिको रेकर्डिङ र त्यसपछिका अन्तर्वार्ताहरूले उनीहरूलाई एक–अर्काको नजिक बनायो। 

अस्मिता सम्झिन्छिन्, ‘पार्टनरभन्दा पनि एउटा राम्रो साथी बनाउन सकिन्छ भन्ने लागेको थियो, पछि त्यही मित्रता प्रेम र सम्बन्धमा बदलियो।’

आज स्टेजमा हजारौँको भिडलाई मन्त्रमुग्ध पार्ने अस्मिताका लागि सुरुका दिन सहज थिएनन्। स्टुडियोमा पुग्दा एउटा कोरस मात्र गाउन पाए पनि हुन्थ्यो भन्ने लाग्थ्यो। 

‘ममा त्यति धेरै आत्मविश्वास थिएन,’ अस्मिताले ती दिन सम्झिँदै भनिन्, ‘गीत गाउँदा पनि सानो स्वरले गाउने, डराउने, काँपेर गाउने गर्थेँ। रिजेक्ट पनि धेरै भइयो। तर, त्यही असफलता र रिजेक्सनले नै मलाई आजको अस्मिता बनाएको हो।’

महेश पनि अस्मिताको प्राविधिक पक्ष निकै बलियो रहेको तारिफ गर्छन्। 

भन्छन्, ‘उनी जति बुझ्दै गयो, त्यति राम्रो गायिका हुन्। उनको गायकीको दायरा र समझ निकै गहिरो छ। जस्तो पनि गीतमा स्वर फिट भइदिन्छ।’

बिहेपछि यो जोडीको जीवनमा धेरै बदलाव आएका छन्। महेश पहिले साथीभाइसँग ढिलोसम्म बाहिर बस्ने स्वभावका थिए, तर अहिले उनी घर फर्किन हतारिन्छन्। 

‘अहिले ८–९ बजेपछि साथीभाइको साटो घरको सम्झना आउन थाल्छ, बिहे भएपछि घर जाने बानी बस्यो,’ महेश हाँस्दै सुनाउँछन्। 

यता अस्मिताको पनि भान्छामा समय बित्न थालेको छ। महेश ठट्टा गर्दै भन्छन्, ‘पहिले खाना बनाउन त्यति जान्दैनथिन्, अहिले सिक्दैछिन्।’

यस्तै साना–तिना कुराहरूले उनीहरूको दाम्पत्य जीवनलाई अझै रसिलो बनाएको छ। एक–अर्काको मोबाइलको पासवर्ड थाहा भए पनि उनीहरू एक–अर्कामा पूर्ण विश्वास गर्छन्। 

अस्मिता भन्छिन्, ‘हाम्रो मित्रता अझै पनि उस्तै छ, हामी एक–अर्काको कुरा सुन्छौँ र इमानदार छौँ।’

महेश र अस्मिता संगीतमा मात्र सीमित छैनन्, उनीहरू समसामयिक राजनीति र सामाजिक घटनाक्रममा पनि चासो राख्छन्। बालेन शाह, हर्क साम्पाङ र गगन थापाको कार्यशैलीलाई उनीहरूले नजिकबाट नियालिरहेका छन्। कुलमान घिसिङलाई उनीहरू ‘नेसनल आइकन’ मान्छन्। 

‘लोडसेडिङको अन्धकारबाट देशलाई निकाल्ने मान्छेलाई सम्मान गर्नैपर्छ तर उहाँजस्तो मान्छे चुनावमा हार्दा अलि नरमाइलो लागेको थियो,’ महेशले भने। 

‘नाच फिरिरी’देखि ‘कटर कटरमा’सम्म आइपुग्दा यो जोडीको सांगीतिक करिअरमा धेरै धुनहरू फेरिएका होलान्, तर उनीहरूको मनको तार भने सधैँ एउटै लयमा गुञ्जिरहेको छ। कुराकानीको अन्त्यमा हामीले यो जोडीलाई प्रश्न गर्‍यौँ– ‘यदि कुनै दिन यो नाम, दाम, प्रसिद्धि र स्टेज सबै हरायो भने के कुराले तपाईंहरूलाई बाँधेर राख्नेछ?’

महेश र अस्मिताले एक–अर्कालाई हेरेर मुस्कुराउँदै भने, ‘इमानदारी र प्रेम।’ त्यसपछि अस्मिताले महेशलाई हेर्दै उनकै गीत गाइन् ः

‘तिम्रो मायाले बाँधेर राख, 
मेरो सिरानी होस् तिम्रो काख...।’

हेर्नुहोस्, यो चर्चित जोडीसँगको भिडिओ कुराकानी ‘लेट्स टक’:

फोटो/भिडिओ : सरोज शाही 
 

असार १२, २०८३ शुक्रबार १९:२९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad