आउँदो भदौ १२ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार ओएसआर युट्युब च्यानलमार्फत गीत रिलिज गरेको हो।
गीतको भिडिओमा फिल्मका मुख्य कलाकारहरू नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी रु क्रिमसन श्रेष्ठले नृत्य गरेका छन्। विवाहको समयमा महिलाले खेल्ने रत्यौलीलाई भिडिओमा रमाइलो पारामा प्रस्तुत गरिएको छ। जहाँ दीपाश्री पुरुषको भेषभूषामा देखिएकी छन् भने नीता महिलाकै पहिरनमा छिन्। उनीहरूबीचको रमाइलोलाई भिडिओमा हेर्न सकिन्छ।
हर्क साउदको शब्द रहेको गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर सुन्न सकिन्छ। पछिल्लो समयका चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको यस गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन्। गीतको भिडिओमा कोरियोग्राफी भने रामजी लामिछानेले गरेका हुन्।
नीताकै कथा तथा निर्देशनमा बनेको फिल्मको मुख्य भूमिकामा उनी नै रहेकी छन्। नीतासहित फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायतको मुख्य अभिनय रहेको छ।
फिल्मको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको डीओपी रहेको फिल्मको निर्माता हरिहर अधिकारी हुन्।
Shares

प्रतिक्रिया