छापा खबर


सी चढ्ने विमानले सातवटा जेट अट्ने ठाउँ ओगट्ने !

सी चढ्ने विमानले सातवटा जेट अट्ने ठाउँ ओगट्ने !

नेपालखबर
असोज १७, २०७६ शुक्रबार २:३०,

चिनियाँ राष्ट्रपति सी चिनफिङ अर्को साता एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदै छन्।

विमानस्थलस्थित स्रोतका अनुसार उक्त विशेष विमान एक रात काठमाडौं विमानस्थलमै पार्किङ गरिनेछ।

यो जहाजको पार्किङ नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल वायुसेवा निगमका अधिकारीहरूका लागि भने निकै चुनौतीपूर्ण बनेको खबर आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन्।

चिनियाँ राष्ट्रपतिको जेट विमानलाई विमानस्थलको टर्मिनल भवनतर्फ फर्काएर पश्चिम–पूर्व राख्न नसकिने भएको छ ।

अहिले जसरी अन्य विदेशी एयरलायन्स राखिन्छन्, त्यसरी पार्किङ गर्न नसकिनुको कारण यस जहाजलाई पुसब्याक (धकेल्न) गर्न सकिने उपकरण नहुनु हो । काठमाडौं विमानस्थलमा नेपाल वायुसेवा निगमले विदेशी विमानको ग्राउन्ड ह्यान्डल (भूमिस्थ व्यवस्थापन) गर्छ।

चिनियाँ राष्ट्रपतिको जेट विमानलाई ह्यान्डल गर्ने क्षमताको उपकरण निगमसँग छैन । राष्ट्रपति चढेर आउने विमान डबल डेकर (दुईतले) र चारवटा इन्जिनयुक्त हो ।

‘निगमसँग भएको उपकरण (ट्र्याक्टर) ले २ सय ५० टनसम्मको जेट विमान पुसब्याक गर्न सक्छ तर राष्ट्रपति सी आउने जहाजको तौल ३ सय टनभन्दा बढी छ,’ निगमका प्राविधिकले भने ।

चिनियाँ राष्ट्रपतिको जहाज अहिलेजसरी पश्चिम टर्मिनल भवनतर्फ पार्किङ गरिए फर्किने बेला पुसब्याक गर्न सकिने छैन । विमानस्थलका अधिकारीहरूले उक्त जहाजलाई उत्तरतर्फ फर्काएर राख्ने योजना चिनियाँ अधिकारीहरूलाई बताइसकेका छन्।

७६ मिटर लामो जहाजलाई उत्तरतर्फ फर्काएर पार्किङ गरिए यसले तीनवटा जहाजको पार्किङ स्थान ओगट्नेछ ।

राष्ट्रपति सीको भ्रमणमा यस्तै प्रकारको अर्को जहाज पनि साथै आउँदै छ । उक्त विमानलाई पनि त्यस्तै गरी राखिँदा थप तीनवटा जहाजको स्थान ओगट्ने उच्च स्रोतले बतायो ।

नेपाल सरकारको निम्तोमा आउन लागेका चिनियाँ राष्ट्रपतिका दुइटा विशेष जेट विमानलाई उत्तर–दक्षिण फर्काएर राख्दा सातवटा जहाज पार्किङको स्थान ओगटिनेछ । जसका कारण त्यस दिनका अन्य व्यावसायिक उडान प्रभावित हुनेछन् ।

‘हामीले धेरै विदेशी एयरलाइन्सका प्रतिनिधिलाई त्यस दिनको उडान प्रभावित हुन सक्ने भनिसकेका छौं,’ स्रोतले भन्यो, ‘राष्ट्रपतिको भ्रमणका दिन २४ घण्टा विमानस्थल सञ्चालन गर्दै छौं ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षमता तीनवटा वाइडबडीसहित नौवटा जेट जहाज राख्न सकिने हो ।

विमानस्थल अधिकारीहरूका अनुसार राष्ट्रपतिको आगमन र फर्किने बेला आन्तरिक उडान पनि प्रभावित हुनेछ तर विमानस्थलले समय किटान गरिसकेको छैन ।

बुधबार चीनबाट एयर चाइनाको प्रेसिडेन्टल जेट आएको थियो । दिउँसो १ बजे आइपुगेको उक्त जेट विमानसहित प्राविधिकहरूले काठमाडौंको धावनमार्ग, ट्याक्सी, पार्किङस्थलको रेकी गरेका थिए ।

उक्त जहाज पनि एप्रोनमा उत्तरतर्फ फर्काएर राखिएको थियो । त्यसबेला ६ वटा विमान अटाउने पार्किङ खाली राखिएका थिए ।

उक्त विमान काठमाडौंमा अवतरण भएका बेला अन्य जहाजको ‘मुभमेन्ट’ कमी गराइएको थियो भने एप्रोनमा कडा सुरक्षा अपनाउँदै फोटो खिच्न पनि निषेध गरिएको एक अधिकारीले भने । विमान ३ बजे फर्किएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad