आफैंले राजीनामा नदिएको र पार्टीले निष्कासन नगरेकाले बलात्कार प्रयास आरोपमा प्रहरीको हिरासतमा रहेका निवर्तनमान सभामुख कृष्णबहादुर महराको सांसद पद यथावत् छ।
प्रतिनिधिसभा नियमावलीअनुसार उनी निलम्बित नभइसकेकाले प्रहरी हिरासतमा पनि ‘माननीय’ हैसियतमै छन्। मुद्दा अनुसन्धानका क्रममा पक्राउ परेकै कारण मात्र सांसद पद निलम्बित हुँदैन। यो खबर आजको कान्तिपुरले छापेको छ।
संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोप लागेपछि उनीसम्बद्ध पार्टी नेकपाले महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन भनेको थियो। पार्टी सचिवालय बैठकले सोहीअनुसार निर्णय गरेको कुरा बाहिर आएको थियो। बैठकपछि पार्टी नेताहरूले ‘महरा अब सांसद नरहेको’ प्रतिक्रिया पनि दिएका थिए।
तर सभामुखबाट राजीनामा दिएका महराले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएनन्। पार्टी निर्णयको अवज्ञा तथा अनैतिक आचरणको अभियोग लागे पनि उनलाई पार्टीले कुनै कारबाही गरेको सार्वजनिक भएको छैन।

प्रतिक्रिया