कलेजो सुन्निने समस्या हेपाटाइटिस हो। यो स्थिति बढेर फाइब्रोसिस, सिरोसिस वा कलेजोको क्यान्सरमा समेत परिणत हुन सक्छ।
सुरुको अवस्थामा सुन्निने भए पनि संक्रमण बढ्दै जाँदा कलेजोको मांसपेशी नष्ट हुने भएकाले लिभर फाइब्रोसिस वा फ्याटी लिभर हुन सक्छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा वीरगञ्ज नेसनल मेडिकल कलेजका डा. असरफ हुसेनले लेखेका छन्।
भाइरस हेपाटाइटिसको संक्रमण हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारको हुने गर्छ । सबै संक्रमणको लक्षण, कारण र उपचार फरक–फरक हुने गर्छ ।
अन्यको तुलनामा हेपाइटाइटिस बी बढी भयानक हुने गर्छ । हेपाटाइटिस बीलाई सेरम हेपाटाइटिस पनि भनिन्छ । यो रोग रगत, थुक, पिसाब, वीर्यलगायतबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ।
यसरी सर्छ हेपाटाइटिस बी
हेपाटाइटिस बी संक्रमित व्यक्तिको रगत, वीर्य र योनीबाट निस्कने तरल पदार्थमार्फत अन्यमा सर्छ । त्यस्तै, संक्रमित आमाबाट जन्मिने शिशुमा समेत हेपाटाइटिस बी हुन सक्छ । बच्चामा ¥यालको माध्यमबाट पनि हेपाटाइटिस सर्न सक्ने सम्भावना रहन्छ।
लागुपदार्थ सेवनकर्तामा सिरिन्जको प्रयोग गर्दा समेत यो रोग फैलिन्छ । यस्तै, निर्मलीकरण नगरिएका कुनै पनि सामग्रीको प्रयोगबाट रोग फैलिने सम्भावना रहन्छ।
रोकथाम र उपचार
हेपाटाइटिस बी भाइरस कोषको डिएनएमा गएर बस्ने भएकाले पूर्ण रूपमा निको पार्न सकिँदैन ।
रोगलाई नियन्त्रणमा राख्न लामो समयसम्म औषधिको सेवन गरिराख्नुपर्ने हुन्छ । बिस्तारै हेपाटाइटिस बीले कलेजोमा सिरोसिस, कलेजोको क्यान्सर गराउँछ।
हेपाटाइटिस बीबाट बच्न हेपाटाइटिस बीविरुद्धको खोप लगाउनुपर्छ । यस्तै, स्वस्थ जीवनशैली अपनाउन सकेमा हेपाटाइटिसबाट बच्न सकिन्छ।

प्रतिक्रिया