बुटवलको व्यस्त व्यापारिक केन्द्र अमरपथमा रहेको एक सुनचाँदी पसलमा करोडौँ रुपैयाँ बराबरका गरगहना चोरी भएको खबर सार्वजनिक भएपछि सर्वसाधारणदेखि व्यापारी समुदायसम्ममा ठूलो चासो र चिन्ता फैलियो।
मध्यरातमा भएको भनिएको चोरीले सुरक्षा व्यवस्थामाथि प्रश्न उठायो भने सुन व्यवसायीहरू त्रसित बने। तर घटनाको अनुसन्धान अघि बढ्दै जाँदा प्रहरीले सार्वजनिक गरेको विवरणले यो प्रकरणलाई नयाँ मोडमा पुर्याएको छ।
प्रहरीको दाबीअनुसार यो सामान्य चोरी नभई योजनाबद्धरूपमा रचिएको घटनाक्रम हो, जसको केन्द्रमा पसल सञ्चालक र कर्मचारी रहेको आशंका बलियो बनेको छ।
चोरीको खबरले तरंग
गत जेठ १७ गतेको राति बुटवल उपमहानगरपालिका-५, अमरपथस्थित सुनचाँदी पसलबाट करिब १ करोड ४६ लाख ९४ हजार ७ सय रुपैयाँ बराबरका सुनचाँदीका गरगहना चोरी भएको भन्दै प्रहरीमा उजुरी दर्ता भयो। पसल सञ्चालक दीपक बिक पोखरामा रहेका बेला घटना भएको दाबी गरिएको थियो।
व्यापारिक दृष्टिले अत्यन्त संवेदनशील मानिने अमरपथ क्षेत्रमा यति ठूलो परिमाणको सुनचाँदी चोरी भएको खबर सार्वजनिक भएपछि स्थानीय व्यापारीहरू आश्चर्यचकित बने। सामाजिक सञ्जालमा पनि घटनाले व्यापक चर्चा पायो।

अनुसन्धानको दिशा फेरियो
बुधबार इलाका प्रहरी कार्यालय बुटवलमा आयोजित पत्रकार सम्मेलनमा रुपन्देही प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीले पसल सञ्चालक दीपक बिक र कर्मचारी नवीन बिककै संलग्नता खुल्न गएको बताए।
उनका अनुसार घटनास्थलको अवस्था, संकलित प्रमाण, विभिन्न व्यक्तिसँग गरिएको सोधपुछ, आर्थिक गतिविधिको अध्ययन तथा अन्य अनुसन्धानात्मक आधारहरूले चोरी योजनाबद्ध रूपमा गरिएको देखाएका छन्।
घटनामा बाहिरी व्यक्तिको भूमिका देखाउने प्रयास गरिए पनि उपलब्ध तथ्यहरूले भित्रैबाट योजना बनेको संकेत गरेका छन्। अनुसन्धानका क्रममा पसल सञ्चालक बुटवल-३, पुल्चोक निवासी ४१ वर्षीय दिपक विक र सोही पसलका कर्मचारी तिलोत्तमा नगरपालिका–२ बनवाटिका निवासी ४७ वर्षीय नविन विकले योजनाबद्ध रूपमा चोरीको नाटक गरेको खुलेको हो।
दीपकको घरबाट ५ तोला ४.१ लाल तौलको सुनका गरगहना, १४ किलो ३०० ग्राम बराबरको चाँदीको सिक्का, दाना र ढिक्का समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दिपक घटना हुनुअघि जेठ १६ गते बिहान बुटवलबाट पोखरा गएका थिए। तर सोही साँझ पुनः बुटवल फर्किएर कर्मचारी नविनसँग मिलेर पसलमा चोरी भएको देखाउने योजना बनाएका थिए।

बिमा रकम दाबीको आशंका
प्रहरीले सार्वजनिक गरेको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको घटनाको सम्भावित उद्देश्य हो। प्रहरीको दाबीअनुसार चोरीको नाटक रच्नुको मुख्य कारण बिमा रकम प्राप्त गर्ने योजना हुन सक्छ। बिमा प्रणालीको दुरुपयोग गरेर ठूलो रकम दाबी गर्ने उद्देश्यले घटनालाई चोरीको रूप दिइएको हुन सक्ने प्रहरीको निष्कर्ष छ।
नेपालमा व्यावसायिक प्रतिष्ठानहरूले बिमा गर्ने क्रम बढ्दै गएको छ। यद्यपि कहिलेकाहीँ बिमा रकम प्राप्त गर्न कृत्रिम घटना सिर्जना गरिएको आरोप लाग्ने गरेका छन्। तर यस्ता घटनामा प्रत्यक्ष संलग्नता प्रमाणित हुनु भने दुर्लभ मानिन्छ।
यदि यो प्रकरण अदालतबाट समेत प्रमाणित भयो भने सुन व्यवसाय क्षेत्रमा बिमा दाबी सम्बन्धी निगरानी अझ कडा हुन सक्ने जानकारहरू बताउँछन्।
धितो सुनको रहस्य
घटनाले अर्को संवेदनशील विषय पनि उजागर गरेको छ- धितो सुन। प्रहरीका अनुसार पसलमा विभिन्न व्यक्तिहरूले धितोका रूपमा राखेका सुनका गरगहनासमेत हिनामिना गर्ने उद्देश्य रहेको देखिएको छ।
सुन पसलहरूमा गरिने धितो कारोबार सामान्यतः विश्वासमा आधारित हुन्छ। आर्थिक आवश्यकता परेका नागरिकहरूले आफ्ना गरगहना धितो राखेर रकम लिने गर्छन्। यस्ता गरगहना सुरक्षित रहने विश्वासका आधारमा कारोबार सञ्चालन हुँदै आएको छ।
तर अनुसन्धानबाट धितो सुनसमेत योजनाबद्ध रूपमा गायब पार्ने प्रयास भएको पुष्टि भयो भने यसले सर्वसाधारणको विश्वासमा ठूलो धक्का पुर्याउने निश्चित छ। धितो राखिएका गरगहनाको वास्तविक अवस्था, परिमाण र स्वामित्व सम्बन्धी तथ्यहरू अहिले अनुसन्धानको महत्त्वपूर्ण हिस्सा बनेका छन्।
Shares

प्रतिक्रिया