लुम्बिनी


पूर्वसांसद तथा एमाले नेता मंगलप्रसाद गुप्ताको निधन

पूर्वसांसद तथा एमाले नेता मंगलप्रसाद गुप्ताको निधन

नेपालखबर
जेठ २४, २०८३ आइतबार १५:१७, बुटवल

नेकपा (एमाले) का वरिष्ठ नेता मंगलप्रसाद गुप्ताको निधन भएको छ। भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा हृदयाघातपछि उपचाररत गुप्ताको आइतबार बिहान निधन भएको एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालले जानकारी दिएका छन्।

८० वर्ष नाघेका गुप्ता कपिलवस्तु क्षेत्र नम्बर ३ का पूर्व सांसद रहनुका साथै लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय रहँदै आएका थिए। उनले २०३९ सालदेखि संसदीय निर्वाचनमा उम्मेदवारी दिन थालेका थिए। एमालेबाट ९ पटक उम्मेदवार बनेका गुप्ताले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट विजयी हुँदै सांसदको जिम्मेवारी सम्हालेका थिए।

एमालेका पुराना तथा प्रभावशाली नेतामध्ये एक मानिने गुप्ताको निधनले कपिलवस्तुको राजनीतिक वृत्तमा शोक छाएको छ। पार्टीका नेताकार्यकर्ताले उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

जिल्ला अध्यक्ष खनालका अनुसार गुप्ताको पार्थिव शरीर मंगलबार मात्र कृष्णनगर ल्याइनेछ भने बुधबार अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।

स्वर्गीय गुप्ताका श्रीमती तथा चार छोरा छन्। उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad