गण्डकी


जीबी र रविमाथिको सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा मेलमिलाप सुरु गर्ने देवकुमार जेलमै

जीबी र रविमाथिको सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा मेलमिलाप सुरु गर्ने देवकुमार जेलमै

वाशुदेव मिश्र
जेठ २७, २०८३ बुधबार २०:१०, पोखरा

२०८१ साल असोज ८ गते महान्यायाधिवक्ता केशव बडालले नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनुपर्ने मापदण्ड, २०८० अनुसार सहकारीको हकमा पनि मिलापत्रको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिए। सहकारीसम्बन्धी 
संसदीय छानबिन विशेष समितिको बचतकर्ताको रकम सुरक्षणका निम्ति मिलापत्र गराउन सकिने सुझावमा टेकेर उनले सो परिपत्र जारी गरेका थिए।

यो परिपत्रपछि इमेज ऋण तथा बचत सहकारीको रकम हिनामिनाको आरोप लागेका बागलुङको ढोरपाटनका ‘फरार मेयर’ देवकुमार नेपालीले ‘मेलमिलाप’को लागि बचतकर्ताहरुसँग सम्पर्क बढाए। त्यो कुरा अगुवाइ इमेज बचत तथा ऋण सहकारी संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीसम्म आइपुग्यो।

त्यसअघि नै पटक–पटक आफ्नो पैत्रिक सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्छु भन्ने प्रतिवद्धता जनाएका नेपालीको आग्रहपछि बागलुङमा रहेका पीडितहरुले नै सम्पर्कसूत्रमार्फत् देवकुमार नेपाल फिर्ता आए मेलमिलापमा जान सकिने बताए। सहमतिपछि देवकुमार नेपाली भारतमा ‘पक्राउ’ परे। २०८१ साल असोज १३ गते उनलाई नेपाल ल्याइयो। बागलुङ र पोखरामा रहेको अदालतमा पेश गरियो।

देवकुमार त्यसयता अहिले पनि बागलुङ कारागारमै छन्। इमेज बचत तथा ऋण सहकारी संस्थामार्फत् बागलुङका करिब ३ हजार बचतकर्ताको २ अर्ब र पोखराबाट ६० करोडभन्दा बढी रकम अपचलन गरेको आरोपसहित नेपालीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा पाँच सय २५ र बागलुङमा एक हजार पाँच सय ४३ जना गरी दुई हजार ६८ जना बचतकर्ताले जाहेरी दिएका थिए।

उता, देवकुमार कारागारमै थिए। यता, मेलमिलापको इरादासहित नेपाल फर्केका देवकुमार र उजुरीकर्ताबीच मेलमिलाप सुरु भयो। संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीका अनुसार त्यो उपक्रममा बागलुङका १ हजार ४ सय ६९ जना र पोखराका ४ सय २४ जनासँग मिलापत्र भयो। सहकारीका १ लाखभन्दा  कम बचतकर्तामध्ये ६७३ जनालाई रकम फिर्ता गरियो। करिब ९३ प्रतिशत उजुरीवालासँग मिलापत्र भइसकेपछि देवकुमार जेलबाट छुट्ने दिन नजिकियो। 

उता,देवकुमारको नाममा रहेको घरजग्गा बिक्री प्रक्रिया पनि सँगै अगाडि बढ्यो। त्यही उपक्रममा पोखरामा रहेको ९ तले कर्मा कम्प्लेक्स, बागलुङको बुर्तिबाङमा रहेको दरबार, बागलुङमा रहेको सीवाइसी भवन र त्यहाँ रहेको कर्मा कम्प्लेक्स बिक्री गरियो। खासमा ती सबै भवनहरु बैंकमा धितोमा थिए। धितो फुकुवा नभएसम्म भवन बिक्री हुँदैनथ्यो।

देवकुमारले सम्पत्ति बिक्री गर्ने भएपछि बैंक तथा केही विचौलियाहरु सक्रिय भए। करिब २५ करोड पर्ने पोखराको ९ तले बिल्डिङ ४ करोड ५० लाख, बागलुङको सीवाइसी भवन ३ करोड, बागलुङकै कर्मा कम्लेक्स १२ करोडमा बिक्री गरियो। बैंकले आफ्नो ऋण असुल गरिहाले। सम्पत्ति चाहिँ बाँकी भएको रकम बचतकर्तालाई फिर्ता गराउने भन्दै सक्रिय बनेको समूहको हातमा पुग्यो। 

संघर्ष समितिका संयोजक दिलबहादुर भन्छन्,‘बचतकर्ताले २० करोडमा स्वीकार्छौँ भनेको बागलुङको कर्मा कम्प्लेक्स १२ करोड र पोखराको २५ करोड हाराहारी पर्ने कम्प्लेक्स पनि कौडीको भाउमा बिक्री भयो। त्यो पैसा बचतकर्तासम्म आइपुगेन। देवकुमार स्वयंले पनि आफूलाई त्यस्तै समूहले गुमराहमा राखेको महसुस भयो। यत्रो बचतकर्ता मिलेको कुरामा सो समूहले भाँजो हाल्यो। देवकुमारको जग्गा मिलेमतोमा खाइदिनुपर्छ र अल्झाउन पर्छ भन्ने भएपछि उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा हालियो।’ 

जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले २०८२ साल असोज २३ गते जिल्ला अदालत बागलुङमा नेपालीसहित उनकी पत्नी छेला नेपालीविरुद्ध १ अर्ब ५८ करोड ९४ लाख ५५ हजार रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको जिकिरसहित मुद्दा दायर गरेको हो। उजुरीमा उनीबाट ६ करोड ९८ लाख रुपैयाँ विगो मागदाबी गरिएको छ।

सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन छ। यो मुद्दामा मिलापत्र सम्भव छैन। यो मुद्दाका कारण मिलापत्र गरेर जेलबाट छुट्ने देवकुमारको सपना तुहियो। उनी बहुचर्चित सूर्यदर्शन सहकारी ठगीसँग पनि जोडिएका थिए। सूर्यदर्शन सहकारीमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछानेदेखि अन्य आरोपितहरु भकाभक धरौटी तिरेर तारिखमा रिहा हुँदा देवकुमार पनि २० लाख धरौटीमा रिहा भएका थिए। उता, इमेजको कुरा नमिल्नु अनि सम्पत्ति शुद्धीकरणको मुद्दा थपिँदा देवकुमारले धरौटी बुझाएनन्। अहिले संघर्ष समितिका संयोजक कार्कीमाथि पनि २ करोड ६६ लाख अपचलन गरेको आरोपमा मुद्दा दायर गरिएको छ।

रविलाई उन्मुक्ति दिँदा जीबीमाथिको तरबार पनि गायव

के रविले मेलमिलापको बाटो रोज्लान्? के सूर्यदर्शनको समस्या सल्टिएला? 
मेलमिलापको ‘असल अभ्यास’ सुरु गरेका देवकुमारको जीवनमा ‘जेलैमा हो जेलैमा चरी जेलैमा’ भन्ने चर्चित गीत ठ्याक्कै मिल्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने सम्पत्ति शुद्धीकरण र संगठित अपराधबाट उन्मुक्ति पाए। 

महान्यायाधिवक्ता सविता भण्डारीले २०८२ साल पुस ३० गते ‘ संगठित अपराधको अभियोग हटेमा मात्र सहकारी वा सम्बन्धित कम्पनीहरूको सम्पत्ति बेचबिखन गरी बचतकर्तालाई रकम फिर्ता गर्ने बाटो खुल्ला रहने’ सहित विभिन्न तर्कसहित मुद्दा फिर्ताको निर्णय गरिन्। सो निर्णयपछि रविले कास्कीसहित विभिन्न ४ वटा अदालतमा रहेको शुद्धीकरणको अभियोगबाट मुक्ति पाएका छन्।

रविसँगै फरार रहेका गीतेन्द्रबाबु (जीबी)राई) पनि यो अभियोगबाट चोखिएका छन्। जीबी अहिले पनि मलेसिया रहेको विश्वास गरिन्छ। उनले सूर्यदर्शनसहितका सहकारी अपचलन गरेको पैसा मलेसिया पुर्‍याएको आशंका गरिएको छ। 

पछिल्लो समय सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएकाहरु फटाफट जेलबाट छुटेका छन्। २०८० साल असोज १८ गते १९ र पुस १२ गते थप ४३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको मुद्दा दायर भएको थियो। सहकारीको बिगो दाबी गरिएको १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँमा सामूहिक दायित्वसहितको अभियोगमा सूर्यदर्शनबाट अपचलन गरी गोर्खा मिडिया नेटवर्क प्रालिमा लगिएको ५ करोड ६१ लाख रुपैयाँ जीबी राई, छविलाल जोशी, रवि लामिछाने, कुमार रम्तेलसहित १२ जनाबाट असुल गर्नुपर्ने जिकिर थियो। गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका रविको हकमा ३ करोड ३७ लाख व्यक्तिगत बिगो माग गरिएको थियो। 

जिल्ला अदालत कास्कीको २०८१ साल पुस २५ गतेको आदेशपछि ६५ लाख धरौटी बुझाएर लामिछाने धरौटी रिहा भएका हुन्। धरौटीमा रिहा भएका रविमाथि सहकारीको रकम हिनामिनाको अभियोग बाँकी नै छ। उनी अहिले अदालत धाउनु नपर्ने अवस्थामा छन्। तर, सहकारीको बचत रकम अपचलनको मुद्दाबाट उन्मुक्ति पाउनका निम्ति उनले त्यसको रकम तिर्नैपर्छ। यो रकम तिर्ने सबैभन्दा सजिलो बाटो भनेको उजरीकर्ताहरुसँगको सहमति नै हो। 

सूर्यदर्शन सहकारीमा १८ हजार ७ सयजना बचत सदस्य छन्। तीमध्ये १ हजार १ सय ५७ जनाले रवि र जीबीविरुद्ध उजुरी दिएका थिए। उनीहरुकै उजुरीको आधारमा ६३ मध्ये १७ जना पक्राउ परेका थिए। पछिल्लो समय महेन्द्र भोटे भनेर चिनिने शिवबहादुर गुरुङ १७ करोड ७ लाखभन्दा बढी बिगो तिर्ने सर्तमा धरौटीमा रिहा भएका छन्। 

‘बिगो तिर्ने सहमति गरेपछि उहाँ धरौटीमा रिहा हुने भएको हो,किस्ताबन्दीमा संस्थालाई तिर्छु भन्ने सहमति भएपछि उहाँ (महेन्द्र भोटे)ले अदालतमा निवेदन दिएपछि अदालतले मुनासिब सम्झेर धरौटीमा रिहा गरेको हो,’सूर्यदर्शन सहकारीपीडित संघर्ष समितिको नेतृत्व सम्हाल्दै हाल सूर्यदर्शनको अध्यक्ष बनेका किरण श्रेष्ठले भने,‘हामीले सहमति दिएर छुट्ने हैन। म तिर्छु भनेपछि छुट्ने हो।’

उनले आफू बचतकर्ताको रकम फिर्ता गराउनकै लागि विशेष अधिवेशनबाट सहकारीको अध्यक्ष चुनिएको बताउँदै सरकारले अगाडि सारेको मेलमिलाप र ऋणीबाट ऋण फिर्ता गराउने अभियानमा सघाउन तयार रहेको बताए।

‘मिलापत्र गरौँ भनेर हामी पनि लागेका छौँ। मुद्दाको अन्तिम फैसला कुर्दा वास्तवमा बचतकर्ताले रकम नै पाउँदैनन् कि भन्ने भएको छ। त्यसैले आउनुस् मिलौँ, मिलेपछि जस्तोसुकै समस्या पनि समाधान हुन्छ।, कस्तो–कस्तो विश्वयुद्ध मिलेर नै सकिएको छ। हामीले त सधैँ मिलौँ नै भनेका छौँ,’उनले भने,‘मिल्न २–४ जना आउनुभएको छ। सानोबाट भए पनि मेलमिलापको सन्देश दिऊँ भन्ने छ।  कोही फरार रहेका प्रतिवादीहरु पनि मिल्न भनेर आउनुभा’छ। उहाँहरुको हकमा अदालतमा बयान गराउनु पर्छ।’

उनले फरार प्रतिवादीको नाम चाहिँ खुलाएनन्। त्यसो गर्दा प्रक्रियामा असर पुग्ने उनको भनाइ छ। उनले रवि लामिछाने छुट्दा शक्ति र सत्ता जोडिए पनि पीडितहरु कसैलाई जेलमा सडाउने पक्षमा नरहेको पनि बताए। 

‘खाएका हौ,मासेका हौ भनेपछि हो मैले खाएँ गल्ती गरेँ, बचतकर्ताको रकम मैले चलाएको थिएँ। म त्यो तिर्छु भन्ने भए त जुनसुकै मान्छेले पनि सुविधा पाउँछ नि त। जेलमा सडेर नबस,ढाँटेर हुँदैन भन्ने हाम्रो कुरा हो,’उनले थपे। 

उनले ऋणीहरुबाट पनि बचत फिर्ता गराउने अभियान सुरु गरिएको जनाए। केहीले ऋण भुक्तानी गरेका र उठाउने सिलसिला जारी रहेको बताउँदै उनले भने,‘नत्र, ऋणीलाई पनि प्रतिवादी बनाउने अवस्था बन्छ।’

सूर्यदर्शनको हकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचतकर्ताको रकम फिर्ता प्रक्रिया सुरु नभएको पनि उनको भनाइ छ। 

जीबी राईका ‘चेला’ देवकुमार, जो गरिबीबाट उठेर गरिबमारा बने

ढोरपाटनका ‘फरार’ मेयरको अर्को अपिल : जग्गा बेचेर इमेजका बचतकर्ताको रकम फिर्ता गर्छु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad